coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

३७ हजारलाई दादुरा खोप

बाँकेमा दादुरा प्रकोपबाट दुई सय नौजना संक्रमित भएका छन्। नेपालगन्जका १५ वटा वडामा एक सय ९१, नरैनापुरको एउटा वडामा १३, कोहलपुरका दुईवटा वडामा दुईजना र खजुराको एउटा वडामा तीनजनालाई दादुरा देखिएको हो।

संक्रमितमध्ये हालसम्म एक सय ५० जना निको भएका छन् भने ५८ जना घरमै उपचाररत छन्। एकजनाको मृत्युसमेत भएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। हालसम्म नेपालगन्ज र खजुराका ३७ हजार १६ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ। नेपालगन्जका ३१ हजार ४२ र खजुराका पाँच हजार नौ सय ७४ जना बालबालिकालाई खोप लगाइएको श्रेष्ठले जानकारी दिए। पुस २२ गतेदेखि अभियानकै रूपमा ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइँदै छ।

साथै बाँके क्षेत्र नम्बर १ का सांसद सूर्यप्रसाद ढकालले स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालगन्जमा महामारीका रूपमा फैलिएको दादुरा प्रकोप नियन्त्रणका लागि अपिल गरेका छन्। नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीलाई भेटेर सांसद ढकालले प्रकोप नियन्त्रणका लागि आग्रह गरेका हुन्। साथै सांसद ढकालले मन्त्री गिरीलाई जिल्लामा फैलिएको दादुरा प्रकोपबारे यथार्थ जानकारी गराएका छन्। तत्कालका लागि दादुरा प्रकोप न्यूनीकरणमा संघीय सरकारको भूमिका महत्वपूर्ण रहने उनको भनाइ छ। उक्त अवसरमा आफूले जिल्लाको स्वास्थ्य सेवा विस्तारका लागि भौतिक पूर्वाधार निर्माण जनशक्ति व्यवस्थापन, जनचेता अभिवृद्धिका लागि बजेटको समेत व्यवस्थापन गर्न आग्रह गरिएको सांसद ढकालको सचिवालयले जनाएको छ।

प्रकाशित: ६ माघ २०७९ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App