७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

‘ओपन हर्ट सर्जरी’ दोब्बर गर्ने योजनामा सहिद गंगालाल

२१ वर्षमा २० हजार सर्जरी, भवन र जनशक्ति थप्दै अस्पताल

मुटुरोगको भरपर्दो उपचार गर्ने सरकारी अस्पताल कुन हो ? भन्ने बित्तिकै हामीले ‘सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र’ सम्झिहाल्छौं। मुटुरोगको उपचारमा लागि देशकै ठूलो सरकारी अस्पताल पनि यही हो।    

केन्द्रले २० हजार ओपन हर्ट शल्यक्रिया गरिसकेको छ। अस्पतालले २०५८ सालबाट ओपन हार्ट सर्जरी सुरु गरेको हो। केन्द्रमा उपचारका लागि स्वदेशका मात्र नभई विदेशबाट पनि बिरामीहरु आइरहेका छन्।

सहिद गंगालाल ह्दय केन्द्रका निर्देशक डा.चन्द्रमणी अधिकारीले जनताको बिश्वास, चिकित्सक, नर्सहरुको मेहनत र केन्द्रका कर्मचारीहरुको लगनशिलताले गर्दा केन्द्रले यति धेरै ओपन हर्ट शल्यक्रिया गर्न सफल भएको तर्क गर्छन्।  

उनका अनुसार नेपालका हुम्ला, बझाङ, ताप्लेजुङ, सोलुखुम्बुलगायत देशभरका बिरामीहरु उपचारका लागि आइरहेका छन्। भारत, कोरिया, पाकिस्तान, श्रीलंका, चिलिका बिरामीहरु पनि केन्द्रमा आएर उपचार गराइरहका छन्। उत्तरी भारतबाट उपचार गराउनकै लागि बिरामीहरु केन्द्रमा आउने गरेको उनको भनाइ छ।  

डा.चन्द्रमणी अधिकारी निर्देशक सहिद गंगालाल ह्दय केन्द्र।

‘हामीसँग बाहिरी देशबाट कति बिरामीहरु उपचारका लागि आए भन्ने एकिन तथ्यांक छैन्। त्यसरी हामीले राखेका छैनौं। उपचारको क्रममा सोध्दा उहाँहरु अन्य देशबाट आएको थाहा पाउछौं’, डा. अधिकारी भन्छन।

केन्द्रमा अहिले दैनिक ७ देखि ८ वटा शल्यक्रिया हुने गरेको छ। बिरामीको अवस्था हेरेर उपचार गर्ने गरिन्छ। केन्द्रमा उपचारकै लागि आएका बिरामीहरु कुर्नुपर्ने अवस्था भने छैन्।  

‘इमजेन्र्सीमा आएका बिरामीहरुलाई हामीले कुराउदैनौं, कुनै कुनै उपचार केहि समय पछि गर्दा पनि हुने अवस्थामा कुराउने हो’, डा. अधिकारी भन्छन्, ‘हामी अस्पताल आउने बित्तिकै अपरेसन हुनुपर्छ भन्ने सोच्छौं। त्यो व्यवस्था गर्नलाई नेपालको आर्थिक अवस्थाले सक्छ त? सक्दैननी। अमेरीकामा पनि यो बाइपास सर्जरी गर्न ४/५ महिना कुर्नु पर्छ। तर हामी त्यति पर्खाउदैनौं, हामी एक महिनामा बढि कुराउँदैनौ। कहिलेकाही बिरामीको कारणले रोकिने गर्छ। हृदयघात भएर आएका बिरामीको हामीले १२ घण्टा भित्र उपचार गरेर पठाउछौं। यदि बिरामीको ज्यान जाने अवस्था छ भने राती १२ बजे पनि अपरेसन गर्छौं।’

यदि केहि समय पर्खेर उपचार गर्दा बिरामीको ज्यान नजाने अवस्था भएमा मात्र उपचारका लागि कुराउने गरेको उनको भनाइ छ। ‘आउने बित्तिकै अपरेसन गर्न पाउँ भन्ने सबैमा हुन्छ, तर हाम्रो पनि विभिन्न अवस्था हुन्छ। एउटा सर्जनले बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म अपरेसन गर्छ। एउटा अपरेसन गर्नलाई ४ घण्टा लाग्छ। यदि दिनमा एउटा अपरेसन थप्नका लागि सबै कुरा बढाउनुपर्छ। त्यस्ता बढाउने कुराहरु तुरुन्तै बढ्दैन्। त्यसका लागि प्रक्रियाहरु हुन्छन्। हामीसँग भएको साधन स्रोतले पुग्नेसम्म हामीले सेवा दिइरहेका छौं।’

नेपालको अस्पतालमा २० हजार ओपन हर्ट शल्यक्रिया हुनु नेपालकै लागि गर्वको कुरा रहेको उनी बताउँछन्। ‘हाम्रो जनसंख्या अनुसार एउटा संस्थाले यति धेरै सेवा दिन सक्दो रछ भन्ने ठूलो कुरा हो। भारतका धेरै नाम चलेका अस्पतालहरुमा पनि २० हजार ओपन हर्ट शल्यक्रिया गर्न सक्ने आट छैन्। हुनत उनीहरुकोमा जनसंख्या धेरै छ। तर हाम्रो जनसंख्यामा यति सेवा दिनु भनेको ठूलो कुरा हो’, डा.  अधिकारीले भने।

केन्द्रले दिने सेवा विस्तारका लागि नयाँ भवन निर्माण गर्न लागिरहेको छ। सरकारलाई २ सय बेडको भवन पनि प्रस्ताव गरेको छ। ‘उक्त भवन निर्माण पछि अहिलेको भन्दा दोब्बर सेवा दिन सकिन्छ’, डा. अधिकारीले भने।  

भवन मात्र नभएर आवश्यक जनशक्ति, उपकरणहरु सरकारले व्यवस्थापन गर्ने हो भने बिरामीहरुलाई अझै सहजता हुने उनको भनाइ छ।  

तर जनशक्ति पदपूर्तिमा केन्द्रले बेला बेलामा समस्या झलीरहेको छ। ‘पहिला केन्द्र आफैले जनशक्तिको व्यवस्थापन गर्दै आएको थियो । अहिले लोकसेवाले पठाउने हुँदा आवश्यक समयमा जनशक्ति नआउँदा कहिले काही अभाव हुनेगर्छ । यसबाट बिरामीको संख्या बढेसँगै केन्द्रले दिने सुविधाहरुमा समस्या आउन थाल्छ’, डा. अधिकारी भन्छन्।

केन्द्रले देशैभर मुटुरोग सम्बन्धि प्रत्येक वर्ष १० देखि १५ वटा स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको छ। ती शिविरबाट ६ देखि ७ हजार सर्वसाधरणले सेवा लिइरहेका छन्। शिविरमा रोग पत्ता लागेका कतिपय बिरामीको निशुल्क उपचार केन्द्रले गर्दै आइरहेको छ।  

डा. अधिकारीका अनुसार शिविरहरुमा १०/१५ देखि ७०/८० प्रतिशतसम्म मुटुरोगीहरु आउँछन्। शिविर संचालन भएका कतिपय स्थानमा मुटु रोगीहरु मात्र आउँछन् । कतिपयमा सबै किसिमका बिरामी आउँछन् । ‘सर्वसाधारणको बुझाइ अनुसार उनीहरुको उपस्थिती हुने गर्छ’, उनले भने ।    

सरकारी व्यवस्था अनुसार केन्द्रले मुटुरोग लागेका १५ वर्ष भन्दा मुनिका बालबालिका र ७५ वर्ष भन्दा माथिका वृद्धवृद्धालाई निशुल्क उपचार गरिरहेको छ। पछिल्लो समय केन्द्रले बुढानिलकण्ठ नगरपालिकाका सबै वडामा ५ देखि १५ वर्षका बालबालिका माँझ मुटु रोगको स्क्रिनिङ कार्यक्रम संचालन गरिरहेको छ।

प्रकाशित: ८ पुस २०७९ १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App