८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

नेपालगन्ज शिक्षण अस्पतालमा डायलाइसिस सेवा पुन: सञ्चालनमा

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको डायलाइसिस विभाग। तस्बिर: नागरिक

चौतर्फी दवाव पछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बन्द अवस्थामा रहेको ‘डायलाइसिस’ सेवा शुक्रबारबाट पुनः सञ्चालनमा आएको छ। विगत तीन वर्षदेखी ठेक्कामा डायलाइसिस सञ्चालन गर्दै आएको विरंग हेल्थ केयर प्रा.लि.लाई हटाएर अस्पताल आफैंले सञ्चालन गरेको हो। अस्पतालबाट भुक्तानी नपाएको भन्दै विरंग हेल्थ केयरले करिव एक महिनासम्म डायलाइसिस सेवा बन्द गरेको थियो।

अस्पतालले डायलाइसिस सञ्चालन गर्न निजी सेवाप्रदायक कम्पनी विरंग हेल्थ केयर प्रा.लि.लाई ठेक्कामा दिएको थियो। डायलाइसिस बन्द हुँदा मृगौला पीडितको मृत्यु हुनुका साथै स्वास्थ्य लाभ गरिरहेका कतिपय बिरामीहरु महंगो रकम खर्चेर भारतीय अस्पतालसम्म जानु परेको थियो।  

अस्पतालसँग सम्झौता गरेर विगत तीन वर्षदेखि डायलाइसिस चलाउँदै आएपनि पछिल्लो समयमा सम्झौता अनुसारको भुक्तानी नपाएको भन्दै विरंग हेल्थ केयरले सेवामा लापरबाही गर्दै आएको थियो। गत साउनदेखी हालसम्म ३३ जना मृगौला पीडित बिरामीको मृत्यु भइसकेको छ। मृगौला पीडित बिरामीको मृत्यु भएको विषयमा अस्पताल र विरंगले कुनैपनि निकायमा औपचारिक रुपले गराएका छैनन्। अस्पतालको सम्पर्कमा हाल ३७ जना मृगौला पीडित बिरामी छन्।  

नियमित रुपमा डायलाइसिस गराउन नपाउँदा बिरामीको स्वास्थ्य अवस्था पनि जटिल बनेको छ। सम्पर्कमा रहेका बिरामी ‘हेपाटाइटिस सी’ र ‘नेगेटिभ’ सम्बन्धी बिरामी हुन्। बिरामीको मृत्यु र उनीहरुको जटिल स्वास्थ्य अवस्थालाई अस्पताल प्रशासनले भने सामान्य रुपमा लिइरहेको छ।  

अस्पतालका सूचना अधिकारी सञ्जय पन्तले बन्द रहेको डायलाइसिस सेवा शुक्रबारबाट सञ्चालनमा आइसकेको जानकारी दिए। ‘सरकारबाट पाउनुपर्ने भुक्तानीको प्रक्रिया चलिरहेको छ, डायलाइसिस सेवा अस्पताल आफैंले सञ्चालन गरेको छ,’ उनले नागरिकसँग टेलिफोनमा भने ‘सरकारबाट हामीले पाएपछि विरंग हेल्थ केयरलाई दिनुपर्ने रकम भुक्तानी गर्छौ।’  

लामो समयपछि पुनः सञ्चालनमा आएको शिक्षण अस्पतालको डायलाइसिस विभागमा मृगौला पीडित बिरामीको शुक्रबारदेखी भिड लागेको छ। पहिलो दिन करिव ६ जना बिरामीले डायलाइसिस गराउन पाएको अस्पतालका सूचना अधिकमारी पन्तले बताए। बर्दियाका मृगौला पीडित कृष्णबहादुर बिकले धेरै समयपछि डायलाइसिस सेवा सञ्चालनमा आएपनि धेरै भिड भएका कारण आफुले शुक्रबार पालो नपाएको बताए।

‘अस्पतालमा डायलाइसिस सुरु भएको सुनेर पुगे, तर मेरो आज पालो आएन,’ उनले भने ‘मेरो डायलाइसिस आजै(शुक्रबार) गराउनुपर्ने हो, तर मलाई आइतबार बोलाउनु भएको छ।’ समयमा डायलाइसिस गराउन नपाउँदा शरिर सुन्निएको बिकले बताए। डायलाइसिस गराउनकै लागि बिक कोहलपुरमा बस्दै आएका छन्।

प्रकाशित: २४ मंसिर २०७९ ०२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App