coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

मानसिक स्वास्थ्यमा ध्यान नदिँदा बढ्दै आत्महत्या

फलानाले, फलानीले आत्महत्या गरेछन्। कस्ता पापी रछन्। हेर परिवारको बिचल्ली। मलामी फर्केको १३ दिनसम्म आदि-इत्यादि सुनिन्छ। त्यसपछि छिमेकी तथा आफन्त आफ्नो घरतिर लागेपछि परिवारका सदस्यले समेत मृत्युको दाग बोकेर बस्छन्। मनभित्रको सदस्य गुमाउनुको पीडा बोकेर यादमा जिउन कति कठिन हुन्छ, कसैले बुझिदिँदैन। कसैलाई पनि मर्न मन हुँदैन तर उसको मनको अवस्था गाह्रो भएको हुन्छ। व्यक्ति मर्नै खोजेको होइन, बाँच्न गाह्रो भएको हो तर यो विषय ओझेल पर्ने गर्दछ।

कोही कसैले आत्महत्या गर्‍यो भने छिमेकमा केही दिन चर्चा हुन्छ। अलि प्रतिष्ठा बनाएको कोही परेछ भने आम रूपमा पनि छलफल हुन्छ तर आत्महत्या किन हुन्छ र यसलाई घटाउन के गर्न सकिन्छ भनेर खासै बहस हुने गरेको पाइँदैन। आत्महत्या मानसिक समस्याको अन्तिम चरणमा पुगेपछिको रोजाइ हो। समयमै मनोविमर्श सेवा वा मानसिक चिकित्सकको सल्लाह लिन सकेको खण्डमा व्यक्तिले आत्महत्या रोज्दैन।

रोल्पामा मानसिक स्वास्थ्य समस्या निकै उच्च रहेको एक तथ्यांकले देखाएको छ। जिल्लामा गत कात्तिकमा मात्रै १५ जनाले आत्महत्या गरेको प्रहरीको अभिलेखमा देखिन्छ। साउनयता ४ महिनामा रोल्पामा ३७ जनाले आत्महत्या गरेका छन्। रोल्पामा आर्थिक वर्ष २०७८/७९ मा ७३ जनाले आत्महत्या गरे, जसमा अधिकांश झुन्डिने गरेको प्रहरीको अभिलेखमा उल्लेख छ।

त्यस्तै २०७७/७९ मा ८३ जनाले आत्महत्या गरेका थिए।  चरम गरिबी, अत्यधिक मदिरा सेवन देखिने कारण हुन्। गरिबीका कारण मानसिक समस्या छ। त्यही समस्याको उपचार गर्ने पैसा नभएपछि उनीहरूको रोजाइ आत्महत्या हुने गरेको एक प्रहरी अधिकारीले बताए। ‘गरिबी छ, २० रूपैयाँ भयो भने रक्सी खान्छन् तर उपचार गर्नेबारे सोच्दैनन्। उपचार गर्नलाई अलि ठूलो रकम नभएकाले पनि व्यक्ति अस्पताल सम्म पुग्दैनन्।’

एक दिनमा ४ वटा आत्महत्याको पोस्टमार्टम गरेका रोल्पा अस्पतालका डा. आधार वली मदिरा प्रमुख कारण भएको बताउँछन्। ‘कारण एउटा मात्र छैन। गरिबी, बेरोजगारी, वैदेशिक रोजगार लगायतले आत्महत्या बढाइरहेको छ। अलि सचेत ढंगले चासोका साथ समस्या समाधानमा काम सुरु गर्ने समय आइसकेको छ,’ उनले भने। चिकित्सकका अनुसार तत्कालीन द्वन्द्वको अवशेष अझै छ, जसले मानसिक समस्या घट्न दिएको छैन।

डा. वली आत्महत्या रोकथामको बलियो आधार मनोविमर्श सेवा नै भएको बताउँछन्। ‘पहिलो कुरा केस फाइन्डआउट गर्नुपर्‍यो अनि परामर्श सुरु गर्नुपर्छ। मानिसमा मानसिक स्वास्थ्य समस्या हो भन्ने बुझाइ नहुँदा पनि समस्या थपिएको हो,’ उनले भने, ‘बेलैमा उपचार गर्न सके मानसिक समस्या समाधान गर्न सकिन्छ। मानसिक बिरामीलाई थप माया र स्नेहको खाँचो चाहिन्छ भन्ने कुरा पनि ध्यान दिनुपर्छ।’

स्थानीय स्तरका समस्यामा केन्द्र सरकारको आँखा नपुगेको भन्दै संघीयता मार्फत घरछेउमा ल्याइएको स्थानीय सरकार पनि यस्ता विषयमा गम्भीर बनेको पाइँदैन। जिल्लामा मदिरा खानेहरूको संख्या बढी हुनु, विद्यालय खुलेको ८ महिनासम्म विद्यार्थीको हातमा पुस्तक नपुग्नु, घरमा बिरामी हुँदा आर्थिक अभावले उपचार गर्न नसक्नु, बालबच्चाको माग पूर्ति गर्न नसक्नु, अत्यधिक गरिबीलगायत आत्महत्या हुनाका कारण रहेको प्रहरी बुझाइ छ।

भर्खरै स्थानीय तह, प्रदेश र संघीय निर्वाचन सकिएको छ। मतदाताका घरमा उम्मेदवार पुगेर भोट मागेका हुन्। जित्नेले सरकार चलाउन सुरु गर्छ भने हार्नेले असहयोग सुरु गर्छ तर जनताका समस्यामा ध्यान नदिएकाले यसो भएको एक सरकारी कर्मचारी बताउँछन्। ‘जनजीविकामा कोहीकसैलाई मतलब छैन। रोल्पामा आत्महत्या भयावह बनेको सबैलाई थाहा छ तर त्यो विषयमा कोही कसैले छलफलसमेत गर्दैनन्।’

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा बर्सेनि ८ लाख व्यक्तिले आत्महत्याका कारण ज्यान गुमाइरहेका छन्। १५ देखि १९ वर्ष उमेर समूहका व्यक्तिहरूको मृत्यु हुने प्रमुख तेस्रो कारण पनि आत्महत्या नै हो। विश्वमा हुने ७९ प्रतिशत आत्महत्या कम र मध्यम आय भएका देशमा भएको छ। नेपालमा आत्महत्यासम्बन्धी नियमित तथ्यांक नभए पनि विश्व स्वास्थ्य संगठनले २०१२ मा उमेरअनुसारको आत्महत्याको दर निकालेको थियो।

नेपाल आत्महत्याबाट मृत्यु हुने देशमा सातौं स्थानमा रहेको र प्रति १ लाखमा २५.९ जना व्यक्तिले आत्महत्या गर्ने देखिएको छ। सन् २००८/०९ मा गरिएको मातृमुत्यु र रुग्णता अध्ययनले प्रजनन उमेर समूहका महिलाको मृत्यु हुने प्रमुख कारण पनि आत्महत्या नै रहेको जनाएको छ। यसले नेपालमा मानसिक स्वास्थ्य अवस्था अत्यन्तै कमजोर र भयावह रहेको देखाउँछ।

विकराल बन्दै गइरहेको मानसिक समस्यालाई न्यूनीकरण गर्न देशमा रहेका तीनै तहका सरकारले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ। स्थानीय सरकारले आफ्नो ठाउँका समस्या पहिचान गर्दै समस्या समाधानका लागि बेलैमा सोच्न सक्ने हो भने आम नागरिकले समस्याबाट मुक्ति पाउनेछन्। हरेक स्थानीय तहहरूले एकजना मनोविमर्शकर्तालाई खटनपटन गर्न सके मात्र पनि भोलिका दिनमा रोग पहिचान गर्न र उचित व्यवस्थापन गर्न सहज हुनेछ।

प्रकाशित: २३ मंसिर २०७९ ०१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App