१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

अपहेलनाको डरले खुल्दैनन् एचआइभी संक्रमित

स्थानीय सरकार संक्रमितहरुप्रति उदासिन

सन्धिखर्क नगरपालिका १ तारामार्ग बस्ने पार्वता थापा क्षेत्री विसं. २०६४ मा एचआइभी संक्रमित भइन्। उनी नियमित एआरटी (एचआइभी) प्रयोग गर्छिन्। संक्रमित भएको पंन्ध्र वर्ष बित्दापनि उनी स्वस्थ नै छिन्। उनी एचआइभी र एड्सबारे खुलेर कुरा गर्छिन्। एड्स रोग हो, पाप होइन भन्न उनी कत्तीपनि हिचकिचाउँदिनन्।

१५ वर्ष अँगाडि उनलाई संक्रमणले छुँदा उनी मर्नु न बाँच्नुको स्थितीमा पुगिन्। घरमा थाहा पाएपछी एउटै गुन्द्रीमा समेत बस्न दिदैनथे। उनी भावुक हुँदै भन्छिन् ‘एकातर्फ रोग लाग्दा मरिन्छ कि भन्ने डर थियो अर्कातर्फ घरपरिवार र समाजको अपहेलना। के पाप गरिछु भन्ने हुन्थ्यो, मर्न मन लाग्थ्यो।’ घरपरिवारको अपहेलनापछी उनी केही गर्छु भन्ने उद्देश्यसहित सदरमुकाम झरिन्। एचआइभी लागेको थाहा पाएपछी कोठासम्म उनले पाइनन्। सबैले एड्स लागेकी केटी आई भन्दै घृणा भावले हेर्ने गर्थे।

उनी पढाई लेखाइमा अब्बल थिइन्। अपहेलना, मानसिक यातना, संघर्षपछी उनी सन्देश सहयोग समुहमा जोडिन पुगिन्। संक्रमितहरुको हेरचाह र संरक्षण गर्ने उद्देश्यले खुलेको संस्थाले उनलाई आश्रय दियो। त्यसपछी उनी आम मानिस जसरी नै दैनिक जिवन बिताइरहेकी छिन्।  

घरपरिवारको डर, सामाजिक अपहेलनाको त्रास, अस्मिता माथी प्रहार हुने भय लगायतका कारण संक्रमित खुल्न चाहदैनन्। अझैपनि मानसिक रुपमा एचआइभी संक्रमणलाई अन्य रोग सरहकै रोग हो भन्ने स्विकार गर्ने कम नै छन्। यो असुरक्षि यौन सम्बन्धबाट मात्र सर्छ भन्ने भ्रम व्याप्त छ। यद्दपी यो निर्मुलिकरण नगरेको स्वास्थ्य उपकरण (सुई, सिरिंज), रक्तदान वा अन्य कारणले पनि सर्ने गर्दछ।  

अर्घाखाँचीमा सन्देश सहयोग समुहले संक्रमितहरुलाई आत्मबल बढाउने, परामर्श दिने, औषधी उपचारमा सहयोग गर्ने तथा रोजगारीमा जोड्ने काम गरिरहेको छ। जिल्लामा हाल सम्म १ सय ६३ जनामा एचआइभी संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्ककमा उल्लेख छ। ७६ जना महिला र ८७ जना पुरुष गरी १ सय ६३ जनामा एचआइभी संक्रमण पुष्टी भएकामा ३४ जनाको मृत्यु भएको छ। सन्देश सहयोग समुहको तथ्याङ्क अनुसार १ सय २९ जना एचआइभी एड्सका संक्रमितले औषधि सेवन गरीरहेका छन्। कुल संक्रमित मध्ये ८ जना बालबालिकाको मृत्यु भइसकेको छ भने ७ जना बालबालिका औषधी सेवन गरिरहेका छन्।  

सन्देश सहयोग समुहका अध्यक्ष अर्जुन शाह पनि एचआइभी संक्रमित छन्। सुरुसुरुमा धेरै कष्टकर जिवन बिताएपनि अहिले सबैकुरा सहज हुँदै गएको उनले बताए। गरिरहेको रोजगार गुमाएको र सार्वजनिक यातायातमा दुव्यवहारका घटना उनी अहिले पनि सम्झन्छन्। आफुले भोगेको दुख अन्यले भोग्न नपरोस् भनेर अहिले संस्था मार्फत काम गरिरहेको उनले बताए। ‘पहिले एड्स भनेपछी सरिहाल्छ, मरिहालिन्छ भन्ने हुन्थ्यो,उनले भने,‘अहिले धेरै बुझ्ने भएका छन् र सहयोगका लागी हामी छौं।’ यद्दपी कहींकतै अपहेलनाका घटना बाहिर आएका र आफुहरु त्यसको निदानमा लागीपरेको उनको भनाइ छ।  

संक्रमितका सवालमा स्थानीय सरकार उदासिन

एकातर्फ एचआइभी संक्रमितहरू परिवार र समाजको भेदभावका कारण अझैसम्म खुल्न सकेका छैनन्। अर्कोतर्फ स्थानीयतहहरु एचआइभी एड्सका विषयमा उदासिन देखिएको विभिन्न संघसंस्थाहरुको गुनासो छ। विभिन्न कार्यक्रमहरु मार्फत संक्रमितहरुलाई सम्बोधन गर्नु पर्नेमा पालिकाहरु निर्वाचन केन्द्रित कार्यक्रम तथा ‘भोटिङ्ग बैंक’ बचाउने कार्यक्रमहरुमा बढी केन्द्रित भएको उनीहरुको भनाइ छ।  

सरकारले मिर्गौला, क्यान्सर, हृदयघात लगायतका दीर्घरोगीहरुलाई मासिक ५ हजार दिने घोषणा गरेको छ। यस्ता प्रकारका राहत कार्यक्रममा सरकारले एचआइभी संक्रमितहरुलाई छुटाएको शाहको गुनासो छ। ‘एचआइभी संक्रमितहरु दीर्घरोगीनै हौँ। एकचोटी संक्रमित भइसकेपछि निको हुने अवस्था हुँदैन,उनले भने,‘एचआइभी संक्रमितहरुमा हेपटाइटिस, टिबी जस्ता थप रोग देखिन्छन्। ३÷४ थरी औषधि खाएर जीवन बाँचिरहेका छौं।’ त्यस्ता व्यक्तिहरूलाई केन्द्र सरकारले विभेद त गरेकै छ स्थानिय सरकारहरु समेत उदासिन देखिए।

स्थानीयतहहरुले प्रतिबद्धता जनाएपनि सहयोग नभएको संस्थाहरुको गुनासो छ। एचआइभी संक्रमितहरु पालिकाहरुको प्राथमिकतामा परेको देखिदैन।  

संक्रमित आउँदैनन् ‘भाइरल लोड’ टेस्ट गर्न

परीक्षणको दायरामा नपुग्दा एचआइभी एड्स नियन्त्रणमा चुनौती देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। एआरटी औषधी सेवन गरिरहेका बिरामी ‘भाइरल लोड’ परिक्षण गर्न नआउँदा बिरामीको अवस्था बारे थाहा हुन नसकेको एआरटी काउन्सलर हरी पाण्डेले बताए।  

एचआइभी संक्रमणको अवस्था बारे ‘भाइरल लोड’ परिक्षणले थाहा हुन्छ। तर बिरामीले समाजको भयले संक्रमणको अवस्था थाहा नपाउने, संक्रममितलाई थप उपचार, हेरचाह तथा सहयोग कार्यक्रममा पहुँच बढाउन चुनौतीपूर्ण भएको पाण्डेको भनाइ छ।  

औषधि सेवन गर्न थालेपछि घरपरिवार तथा समाजमा थाहा हुने र आफुलाई हेर्ने दृष्टिकोणमा फरक पर्ने डरले औषधि सेवन नगर्ने तथा परिक्षण पनि नगराउने भएका कारण संक्रमित बढ्न सक्नेमा पाण्डेले चिन्ता व्यक्त गरे।  

एचआइभी संक्रमण भए पश्चात नियमित औषधिको सेवन गरे शरिरको प्रतिरक्षा शक्ति वृद्धी भई समान्य मानिस सरह बाँच्न सक्ने भएकाले सबै संक्रमितलाई परिक्षण गराई नियमित औषधि सेवन गर्न जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बिकले आग्रह गरे।

प्रकाशित: १६ मंसिर २०७९ ०९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App