coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

स्वतन्त्रको प्राथमिकतामा शिक्षा र स्वास्थ्य

मुकेशकुमार द्विवेदी, रूपेशमान सिंह श्रेष्ठ र छोटेलालप्रसाद कुर्मी।

‘चाचा, म चुनाव जितेर यस प्रदेशमा कायम भ्रष्टाचार हटाएर विकास र निकासका लागि काम गर्न सकूँ, मलाई यही आशीर्वाद दिनस्’, मधेस प्रदेशको पर्सा जिल्ला क्षेत्र नं २(ख) प्रदेशसभा सदस्य पदको स्वतन्त्र उम्मेदवार छोटेलालप्रसाद कुर्मी मतदातासँग भेटेर भोट मागिरहेका थिए। मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको चुनावका लागि पर्सा जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको छ।

उम्मेदवार कुर्मी बीरगन्ज वडा नं ९ घन्टाघरनिवासी शंकरप्रसाद बरनवालको दैलोमा पुगेर उनी आफू जितेपछि भ्रष्टाचारमुक्त मधेस प्रदेश बनाउने प्रतिबद्धता जनाइरहेका थिए। साथै मधेस प्रदेशमा शिक्षा र स्वास्थ्यको अवस्था नाजुक रहेकाले यही क्षेत्रमा आफू काम गर्ने लक्ष्य लिएर स्वतन्त्रको उम्मेदवारी दिएको समेत यी ४२ बर्से युवा छोटेलालले आत्मविश्वासका साथ मतदाताका घरदैलोमा पुगेर आफूले लिएको अठोट पूरा गर्न–गराउन मत मागिरहेको देख्दा मतदाता पनि खुसी देखिन्थे।

‘विगतमा नेताहरू जितेर हाम्रो पर्सा जिल्लामा वर्षौंदेखि कायम रहेको शिक्षा र स्वास्थ्य समस्या समाधान गर्न सकेनन्। सडक विकास र नाला बनाउने कामका लागि त बजेट सरकारले नै दिएको हुन्छ तर शिक्षा र स्वास्थ्य क्षेत्र सुधारमा पहिलेकाले काम गरेनन्। अब म गर्छु’, उनले मतदातालाई विश्वास दिलाए, ‘स्नातकसम्म शिक्षा निःशुल्क गर्ने र हरेक स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधि पुर्‍याउने मेरो लक्ष्य हो।’

मतदाता शंकरप्रसादले उनका सबै कुरा सुनेपछि प्रदेश मात्र होइन; देश नै युवाले सम्हाल्ने समय आयो भन्दै जितको आशीर्वाद दिइहाले। विगतका अनुभव सुनाउँदै उनले भने, ‘पहिलेका नेताहरूले मधेस प्रदेशलाई भ्रष्टाचारको अखडा नै बनाए। अब तपाईंहरू जनताका आशा र विश्वास पूरा गर्नुस्, यही आशीर्वाद छ।’ स्वतन्त्र उम्मेदवार कुर्मी आफू विगत पाँच वर्षदेखि समाज र समुदायमा जनताका लागि निरन्तर काम गरिरहेकाले आफूलाई सबैले चिनेको र आफ्नो कामसमेत बुझेकाले जनताले आफूलाई मत दिने निश्चित रहेको विश्वास व्यक्त गरे। कुर्मी विगतमा अन्य पार्टीमा रहे पनि जनताका बीचमा काम गर्न स्वतन्त्र रूपमै लाग्न आफू स्वतन्त्र उम्मेदवार भएको जनाए।

‘विकास र निकासका लागि मेरा नौ एजेन्डा छन्। सबैभन्दा पहिले बीरगन्ज महानगरपालिकाका पिछडिएका क्षेत्रहरू बैरिया, सिरिसिया, केहुनिया, अठराह सुगौली पिपरा, अलउलगायतका क्षेत्रमा एक अस्पताल बनाउने र स्वास्थ्य चौकीमा निःशुल्क औषधि पनि नपाइने अवस्था अन्त्य गरी सबै चौकीमा निःशुल्क औषधि उपलब्ध गराउने छु’, उम्मेदवार कुर्मीले भने ‘स्नातक शिक्षा निःशुल्क, जटिल र सामान्य रोगको उपचार निःशुल्क गराउने मेरो एजेन्डा हो।’

अर्का स्वतन्त्र उम्मेदवार रूपेशमान सिंह श्रेष्ठ पनि मधेस प्रदेश शिक्षा र स्वास्थ्य क्षेत्रमा निकै पछाडि रहेको बताउँछन्। उनले आफू जितेपछि मधेस प्रदेशको शैक्षिक अवस्था र स्वास्थ्य अवस्थामा सुधारका कार्य नै प्राथमिकतामा रहेको मतदातालाई बताइरहेका थिए। ‘मधेस प्रदेशमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका काम गर्ने मेरो मुख्य एजेन्डा हो’, रूपेशले भने, ‘हाम्रो प्रदेशमा स्वास्थ्य चौकी छ तर कर्मचारी र औषधि नै छैन। ठूलो रोग लाग्यो भने उपचार नपाएर ज्यानै गुमाउने अवस्था छ। त्यही भएर स्वास्थ्य चौकीहरूमा नियमित र आवश्यक कर्मचारीको चुस्त व्यवस्थापन गर्ने छु।’ उनले लक्ष्य सुनाए, ‘हामीले स्वतन्त्र उम्मेदवारी आफ्नो प्रदेश विकासका लागि दिएका छौं। सामुदायिक विद्यालयमा शिक्षकहरू अनिवार्य र नियमित उपस्थित गराई शिक्षामा सुधार गर्छु।’

३७ वर्षीय स्वतन्त्र उम्मेदवार मुकेशकुमार द्विवेदीले विगतमा दलका नेताहरूले पैसाको खोलो बगाएर चुनाव जिते पनि केही काम नगरेको बताए। जनताका काम गर्नकै लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको मतदातालाई बताइरहेका थिए। विगतमा अन्य दलमा रहँदा भोगेका र देखेका समस्या पनि उनले सुनाए।

‘हाम्रो मधेश प्रदेश शिक्षाको सवालमा दुर्गम मानिने कर्णाली प्रदेश भन्दा पनि पछाडि परेको छ। हालसम्म मधेश प्रदेशको कुनै बडा, पालिका र जिल्ला साक्षर घोषणा हुन नसक्नु हामी सबैको लागि लाजमर्दो विषय हो,’स्वतन्त्र उम्मेदवार द्विवेदीले मतदाताहरुलाई यसो भन्दै थिए ‘हाम्रौ स्वास्थ्य चौकिमा भवन त छन् तर उपकरण छैन। कुनै नेताले यस तर्फ ध्यानै दिएनन्। यति मात्र कहा हो र? स्वास्थ्य चौकिहरुमा समय गुज्रिएको निःशुल्क औषधि वितरण गरि नागरिकको ज्यानैसँग खेलवाड हुने काम हुँदा पनि कुनै नेताको ध्यान पुगेन।’ उनले थपे, ‘दिनहुँ मधेश प्रदेशबाट सयौंको सख्यामा युवाहरु विदेश पलायन भइ तल्लो स्तरको काम गर्न बाध्य छन्। यी सबै समस्या मैले पनि भोगेकै हो। म जनताको बीचमा रहेर काम गरेर उहाँहरुको मर्म बुझेरै स्वतन्त्रको उम्मेदवारी दिएको हुँ। अब हामी युवाले नै देश बनाउने जिम्मेवारी आफंै अग्रसर भएर लिनुपर्छ।’ यही सोचका साथ आफूले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उनको भनाई छ।

पर्सा क्षेत्र नम्बर दुई (ख) मा ११ वडाका ४२ हजार बढी मतदाता छन् भने यो क्षेत्रमा दलगत र स्वतन्त्र गरि कुल १४ उम्मेदवारहरु प्रदेश सभा सदस्य पदका लागि प्रतिस्पर्धा गर्दै छन्। जसमध्ये ९ जना स्वतन्त्र र ५ जना दलगत उम्मेदवार छन्।

स्वतन्त्र उम्मेदवारहरु सेराज आलम, धुरेन्द्र सहनी, वर्षीय छोटेलाल प्रसाद कुर्मी, शिवम कुमार कर्ण, अलि हुसैन,आस अहमद मिया, रुपेशमान सिंह श्रेष्ठ, करिमा वेगम र मुकेश कुमार द्धिवेदी छन्। यसैगरी दलका उम्मेदवारहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हरेराम प्रसाद लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका रमेश प्रसाद कुर्मी, जनता प्रगतिशिल पार्टी , नेपालका भरत भुषण पाण्डेय , राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमानन्द साह कानु र नेपाल लोकतान्त्रिक पार्टीका हरिशंकर प्रसाद साह उम्मेदवार रहेका छन्।

प्रकाशित: २३ कार्तिक २०७९ ०२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App