७ वैशाख २०८१ शुक्रबार
शिक्षा

महराजगंज साक्षर नगर घोषणा

५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कपिलवस्तुको महाराजगंज नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ।

नगरपालिकामा रहेको १५ देखि ६० बर्ष उमेर समुहका ९६ दशमलव १५ प्रतिशत साक्षर भएपछि नगरलाई साक्षर नगरपालिका घोषणा गरिएको हो। नगरपालिकामा रहेको सबै ११ वटा वडामा सो उमेर समुहका ९५ प्रतिशत बढी साक्षर रहेको नगरपालिका शिक्षा ईकाईका प्रमुख रेस्मीराज आर्यालले प्रतिवेदन प्रस्तुत गरेका थिए। नगरपालिकामा १५ देखि ६० उमेर समुहका २३ हजार ६३७ जनसंख्या मध्ये २२ हजार ७२६ जना साक्षर रहेका छन्। उपमेयर रीता कुमारी कुर्मीले नगरपालिकामा १५ देखि ६० उमेर समुहका ९६ प्रतिशत बढी साक्षर रहेको भन्दै नगरलाई साक्षर नगरपालिका भएको घोषणा गरेकी थिइन्। उनले पछि परेको नगर साक्षर घोषणा हुनु आफँैमा उदाहरणीय कार्य भएको बताइन्। यो वैज्ञानिक यु्गमा सबै साक्षर हुनुपर्ने र अभिभावकहरुले आफ्ना नानी बावुलाई विद्यालयमा पढाउन पठाउनु पर्ने उनले बताइन्।

सो अवसरमा शिक्षा ईकाई तथा समन्वय कार्यालयका प्रमुख थानेश्वर घिमिरेले जिल्लामा रहेका १० पालिका मध्ये महाराजगंज पाँचाँै पालिकाकारुपमा साक्षर घोषणा भएकोमा खुशी व्यक्त गर्दै जिल्लालाई समेत साक्षर बनाउन सबैले साथ दिनुपर्ने बताए। लुम्बिनी प्रदेशको १२ जिल्ला मध्ये कपिलवस्तु मात्र साक्षर जिल्ला घोषणा हुन बाँकी छ। प्रदेशलाई नै साक्षर घोषणा गर्न कपिलवस्तु बाधकको रुपमा रहेकाले भन्दै प्रमुख घिमिरेले यो जिल्लाकै लागि लज्जास्पद कुरा भएको बताए। उनले कपिलवस्तुमा अझै कपिलवस्तु र कृष्णनगर नगरपालिका तथा मायादेवी, सुद्धोदन र विजयनगर गाउँपालिका साक्षर घोषणा हुन नसकेको बताए। उनले कृष्णनगर नगरपालिकालाई साक्षर घोषणा गर्न ठूलो चु्नौती रहेको बताए। बाँकी ४ पालिकाले भने साक्षरका लागि काम अघि बढाएका छन्। जिल्लालाई आउने माघ फागनु भित्रै साक्षर घोषणा गर्ने तयारी रहेको उनले बताए।  

यस्तै नगरपालिका प्रमुख प्रशाकीय अधिकृत रबिन्द्र प्रसाद चौधरीले नगरपालिकालाई अघि बढाउने अभियानलाई सबैले साथ दिनुपर्ने बताए। उनले शिक्षाको गुणस्तर बढाइ सबैलाई साक्षर बनाई अघि बढनु पर्ने बताए। सो अवसरमा वडाध्यक्ष प्रमोद चौधरीले नगरलाई कागजमा मात्र नभइ वास्तविक साक्षर घोषणाका लागि सबैले पहल गर्नुपर्ने बताए। सो अवसरमा शिक्षा ईकाई तथा समन्वय कार्यालयमा प्रमुखलाई सम्मान समेत गरिएको थियो। कार्यक्रम नगर उपमेयर रिता कुमारी कुर्मीको अध्यक्षता र बुजेश यादवको संचालनमा भएको थियो।

प्रकाशित: २३ भाद्र २०७९ ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App