coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

अब एसइईमा स्तरीकृत परीक्षा प्रणाली

फाइल तस्बिर

अंग्रेजी, गणित र विज्ञान विषयमा विद्यार्थीको नतिजा कमजोर देखिएकाले अगामी वर्ष हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) स्तरीकृत परीक्षा प्रणालीबाट सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले गणित, अंग्रेजी र विज्ञान विषय स्तरीकृत परीक्षा प्रणालीबाट सञ्चालनका लागि सबै तयारी भइसकेको जानकारी दिए। यसपटक प्रकाशित एसइई र कक्षा १२ को नतिजामा पास प्रतिशत ३५ अंक तोक्दा सहभागी विद्यार्थीमध्ये धेरै यिनै तीन विषयमा असफल भएको तथ्यांक सार्वजनिक भएको छ। मुख्य रूपमा अंग्रेजी, गणित र विज्ञानलाई अप्ठ्यारो विषयका रूपमा लिने र प्रश्नपत्र थोरै मात्र सिर्जनात्मक बनाउनासाथ धेरै विद्यार्थी असफल हुने देखिएकोले बोर्र्डले अगामी एसइई परीक्षामा स्तरीकृत परीक्षा प्रणाली लागु गरिने अध्यक्ष डा. शर्माले उल्लेख गरे। कक्षा १२ मा बिस्तारै लागु गरिने पनि उनले बताए।

‘बोर्डले सातै प्रदेशका स्थानीय सरकार र शिक्षकबाट गणित, अंग्रेजी र विज्ञान गरी तीनै विषयको एक हजार सेट प्रश्नपत्र तयार पार्न लगाएको थियो। तीमध्ये सय सेटमा ल्याएर परीक्षण गरियो,’ अध्यक्ष शर्माले नागरिकसँग भने, ‘चार महिनाअघि सातै प्रदेशका ४ हजार विद्यार्थीमा कक्षा १० को अन्तिम परीक्षामा परीक्षण गरियो। प्रश्नपत्र ज्ञान, बोध, प्रयोग र उच्च क्षमता गरी चार आधार नाप्ने किसिमको छ। हालको प्रश्नपत्र कण्ठ पार्ने र घोकन्ते प्रवृत्तिमा आधारित रहेकाले सिर्जनात्मक प्रश्न सोधिँदा विद्यार्थी असफल हुने गरेका छन्।’ यसपटक यसपटक कक्षा १२ र कक्षा १० को परीक्षामा अंग्रेजी, गणित र विज्ञानमा २० प्रतिशत मात्र उच्च क्षमतामा आधारित प्रश्न बोर्डले सोधेको तर ८० प्रतिशत सामान्य नै भए पनि धेरै विद्यार्थी असफल भएको उनले बताए। यसको अर्थ कक्षाकोठाको सिकाइ उपलब्धि नै कमजोर भएको बोर्डको भनाइ छ।  

‘हाल गणित, विज्ञानजस्ता विषयमा समेत विद्यार्थीले सूत्रहरू घोकेर कण्ठ पारेर लेख्ने प्रवृत्ति देखियो,’ अध्यक्ष शर्माले भने, ‘यसले विद्यार्थीको सिकाइ कमजोर बनाएको देखियो।’ उनले थपे, ‘अब शिक्षकले सिर्जनात्मक हिसाबले शिक्षण सिकाइ गराउनुपर्ने हुन्छ। आगामी वर्ष तीन विषयमा स्तरीकृत परीक्षा प्रणालीबाट प्ररीक्षा हुन्छ। बिस्तारै अब विषयगत ग्रेडिङ प्रणालीबाट पनि परीक्षा गराउनेतर्फ बोर्डको तयारी भइरहेको छ।

कक्षा १० र १२ को नतिजा प्रकाशनपछि जहिले नतिजा कमजोर नै रहेको र नतिजापछि मात्र कमीकमजोरीबारे चर्चा हुने पछि सेलाएर जाने क्रम वर्षौदेखि चलिआएको तर समाधान हालसम्म पनि हुन सकेको छैन। एक साताअघि मात्र बोर्डले प्रकाशित गरेको कक्षा १२ को नतिजामा सबैभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा असफल भएका छन्। अंग्रेजीमा कुल सहभागी विद्यार्थीमध्ये १ लाख १ हजार १ सय १३ विद्यार्थी नटग्रेडेड अर्थात् असफल छन्। नेपालीमा ३२ हजार ४ सय ९५ असफल छन्। यी दुवै अनिवार्य विषय हुन्।

ऐच्छिक विषयमा सबैभन्दा बढी विद्यार्थी भएको विषय एकाउन्ट, इकोनोमिक, भौतिक शास्त्र गणित र सामाजिक अध्ययन हुन्। यसैगरी एकाउन्टमा कुल १ लाख ७१ हजार परीक्षार्थीमध्ये ६६ हजार १ सय ७१ नटग्रेडेडमा छन्। सामाजिक अध्ययनमा ३ लाख १२ हजार विद्यार्थी सहभागिता जनाएका थिए भने ५४ हजार १ सय १३ असफल रहे। गणितमा कुल ५२ हजारले परीक्षा दिएकोमा ८ हजार ८२ असफल छन्। अर्को विषय भौतिक शास्त्रमा कुल परीक्षार्थी ५२ हजार सहभागिता रहेकोमा असफल भएका ७ हजार २ सय ६२ छन्। इकोनोमिकमा कुल १ लाख ५८ हजार ४ सय ६५ ले परीक्षा दिएका थिए भने असफल भएका २७ हजार ७ सय ५९ छन्। यसले पनि मुख्य विषयहरूमा विद्यार्थीको सिकाइ कम देखिएकाले कक्षाकोठामा शिक्षण सिकाइ विधि नै परिमार्जन गर्नुपर्ने उनको भनाइ छ।

अध्यक्ष शर्माले उपलब्ध गराएको तथ्यांकअनुसार कक्षा १२ को नतिजा २०६८–७४ सम्म प्रतिशतमा प्रकाशित हुने गरेको तथ्यांक हेर्दा पनि उही प्रवृत्तिको देखिन्छ। कक्षा १० को नतिजा २०६८ सालमा ४८ प्रतिशत, २०६९ मा ४२ प्रतिशत, २०७० मा ४३ प्रतिशत, २०७१ मा ४४ प्रतिशत, २०७२ मा ४६ प्रतिशत २०७३ मा मात्र ५२ प्रतिशत पुगेको थियो। पछि २०७४ मा नतिजा खस्किएर ४९ प्रतिशतमा झरेको थियो। यस अर्थमा यसपटकको नतिजा विगतकै निरन्तरता देखिएको उनले बताए।

यही सन्दर्भमा निजी तथा अवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय समितिले बुधबार परीक्षा सञ्चालन तथा मूल्यांकन विधि समीक्षा कार्यक्रमको आयोजना गरेको थियो। प्याब्सनको अध्यक्ष डिके ढुंगानाले अबको शिक्षण सिकाइ विद्यार्थी केन्द्रित हुनुपर्नेमा जोड दिए। युलेन्स स्कुलका प्रिन्सिपल मेदनी लामिछानेले विद्यार्थी असफल भएका विषयहरूको सरकारले कमीकमजोरीबारे समीक्षा गर्नुपर्र्नेमा जोड दिए। काठमाडौं विश्वविद्यालयका स्कुल अफ एजुकेसनका सहायक डिन धनपति सुवेदीले कक्षा १२ मा असफल भएका १ लाख ८८ हजार ४१० अर्थात् ५२ प्रतिशत विद्यार्थी कोभिड समयमा एसइई नदिएका विद्यालयले स्वतः पास भएका विद्यार्थी भएकाले बोर्ड पनि यी ५२ प्रतिशतलाई नै असोजमा सञ्चालित हुने मौका परीक्षामा सहभागिता हुने मौका दिनुपर्ने आवाज उठाए।

प्रकाशित: २३ भाद्र २०७९ ०१:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App