१५ मंसिर २०७९ बिहीबार
शिक्षा

‘सिकाइ गतिविधि उपलब्धिमूलक देखिएन’

एक लाख ८८ हजार ४ सय १० विद्यार्थीको उच्च शिक्षा प्रवेश रोकियो

फाइल तस्बिर

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको कक्षा १२ को नतिजामा ५२ प्रतिशत विद्यार्थी असफल भए। अर्थात् परीक्षामा सहभागिता जनाएकामध्ये एक लाख ८८ हजार ४ सय १० विद्यार्थी स्नातक तहमा प्रवेश पाउने छैनन्।  

प्रकाशित नतिजामा ग्रेडिङभन्दा ननग्रेडिङ प्राप्त गर्ने विद्यार्थीको संख्या बढी छ। यसपटक बोर्डले ग्रेडिङ प्रणाली २०७८ अनुसार नतिजा प्रकाशित गरेको छ। यसले सैद्धान्तिक विषयमा ३५ प्रतिशतभन्दा कम अंक प्राप्त गर्नेलाई ननग्रेडिङमा वर्गीकृत गरेको हो। बोर्डका कक्षा १२ का उपनियन्त्रक कृष्ण घिमिरेका अनुसार यसपटक सञ्चालित परीक्षामा नियमिततर्फ कुल ३ लाख ६३ हजार ८ सयले परीक्षा दिएका थिए। जसमध्ये ३५ प्रतिशत र त्योभन्दा माथि अंक प्राप्त गर्ने विद्यार्थीहरूको सख्या एक लाख ७५ हजार ३ सय ९० रहेको छ। अर्थात् यो वर्षको नतिजामा कुल परीक्षार्थीमध्ये ४८.१० प्रतिशत मात्र कुनै न कुनै ग्रेडिङ प्राप्त गर्न सफल भएका छन्। भने ५१.९० प्रतिशत अर्थात् एक लाख ८८ हजार ४ सय १० विद्यार्थीहरू ननग्रेडिङमा परेका छन्। अर्थात् यी विद्यार्थीहरू स्नातकमा अध्ययन गर्न पाउने छैनन्।  

बोर्डले टक लागु गरेको नयाँ ग्रेडिङ प्रणालीअनुसार ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई ननग्रेडिङ समूहमा राखेर नतिजा प्रकाशित गरेको बोर्डले जनाएको छ। असफल भएकामध्ये एक लाख ३० हजार ८ सय ७८ विद्यार्थीको दुई विषयमा ३५ अंकभन्दा कम नम्बर आएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार असोज ३० र ३१ गते सञ्चालन हुने मौका परीक्षामा यी विद्यार्थीहरू परीक्षा दिन पाउने छैनन्।  

यसकारण असफल भए  

‘अझै ५७ हजार ५ सय ९२ विद्यार्थीले यो वर्ष उच्च शिक्षा हासिल गर्न पाउने छैनन्,’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘यी विद्यार्थीहरूको दुईभन्दा बढी विषयमा ३५ प्रतिशतभन्दा कम नम्बर छ। यसपटक धेरै विद्यार्थी नन ग्रेडमा पर्नुको मुख्य कारण यी विद्यार्थीहरूले दुई वर्षअघिको एसइई र अघिलो वर्षको कक्षा ११ को परीक्षा दिएकै छैनन्। स्वतः विद्यालयले पास गराइदिए।’ उनले थपे, ‘तर यो पटक नयाँ नियमअनुसार ग्रेडिङको अन्तिम सीमा ३५ प्रतिशत तोकियो। यसकारण पनि धेरै ननग्रेडिङमा परेका हुन्।’

अध्यक्ष डा. शर्माले यसपटकको कक्षा १२ को नतिजा विगत १० वर्षको प्रकृतिकै औसतमा रहेको जनाउँदै नतिजा सुधारतर्फ कक्षाकोठामा शिक्षण सिकाइलाई सुधार गर्दै जानुपर्ने सुझाए।

कक्षाकोठामा सिकाइ भएन  

विगत दश वर्षको नतिजा हेर्दा ३५ देखि ५५ प्रतिशत पास हुने गरेका थिए। यो पटक पनि उही प्रवृत्तिमा रहयो। अध्यक्ष शर्माले नतिजा उत्साहजनक नभएको ठहर गर्दै कक्षाकोठामा सिकाइ सुधार गर्नुपर्ने सुझाए। ‘यसपटकको नतिजामा उच्च ग्रेडमा कम र औसत ग्रेडमा धेरै विद्यार्थी छन्। यसले पनि हाम्रो कक्षाकोठाको सिकाइ उपलब्धिमूलक नभएको प्रस्ट हुन्छ,’ उनले औंल्याए, ‘उदार कक्षा नीतिले स्वतः पास गरायो। शिक्षकले पढाउन बिर्से र विद्यार्थीको पनि अध्ययन गर्ने बानी हरायो। यसकारण पनि नतिजा कमजोर भयो।’ कक्षा १२ मा ग्रेडिङ प्रणाली लागु भएको चार वर्ष भयो। गत वर्षसम्म ३० प्रतिशतमै ग्रडिङ हुने गरेको थियो। यसले धेरै विद्यार्थी ग्रेडिङमा पर्थे तर गुणस्तरको सबालमा चुनौती थपिएको थियो।

अनुदानका दुई शिक्षकको भरमा कक्षा १२ को पठनपाठन गुणस्तरीय हुँदैन  

शिक्षाविद् वासुदेश काफ्लेका अनुसार सरकारले १२ कक्षासम्मको तहलाई विद्यालय संरचना बनायो। तर शिक्षक दरबन्दी भने अझै पनि प्राथमिक (१–५), निम्नमाध्यमिक (६–८) र माध्यमिक (९–१०) सम्म मात्र कायम गरेको छ। कक्षा ११ र १२ मा हालसम्म कुनै दरबन्दी नै छैन। दुईवटा शिक्षक कक्षा ११ र १२ मा अनुदानमा छन्। यसले कसरी हुन्छ कक्षा १२ को गुणस्तर कायम ? यसकारण पनि कक्षा १२ को सिकाइउपलब्धी कमजोर भएको उनको तर्क छ।

‘सरकारले कक्षा १२ सम्म विद्यालय संरचना बनायो तर कक्षा १० पछिको सिकाइमा निरन्तरता दिन सकेन,’ शिक्षाविद् काफ्लेले औंल्याए, ‘सरकारले पनि कक्षा ११ र १२ लाई अझै प्लस टु र विद्यालयले पनि प्लसटुकै व्यवहारमा सिकाइ गरिरहेको छ। दुई शिक्षक अनुदानको भरमा कक्षा ११ र १२ चलाउँछु भन्नु सरकारको मूर्खता हो।’ उनले थपे, ‘ग्रेडिङ हुँदैमा सबै पास हुने गलत सोचाइबाट शिक्षक र विद्यार्थी दुवै मुक्त हुनुपर्छ।’

शिक्षकले सिकाएनन्, विद्यार्थीले सिकेनन्

बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार ग्रेड प्राप्त गर्ने विद्यार्थीमध्ये पनि कमजोर ग्रेडका विद्यार्थी धेरै रहेका छन्। ३.६१ देखि ४ जिपिए ल्याउने कुल विद्यार्थीको संख्या ४ हजार एक सय ७९ मात्र छ। यो कुल परीक्षार्थीको १.१४ प्रतिशत विद्यार्थीमात्र उच्च ग्रेडमा परेका छन्। सबैभन्दा बढी विद्यार्थी २.८१ देखि ३.२ जिपिए ल्याउने समूहमा छन्। अर्थात् यो समूहमा कुल परीक्षार्थीमध्ये ६५ हजार २ सय ८४ रहेका छन्। प्रतिशतमा भन्नुपर्दा यो १७.९४ प्रतिशत हो। यसैगरी जिपिए २.४१ देखि २.८ समूहमा ६४ हजार ९३ विद्यार्थी रहेका छन्। यो समूहमा कुल परीक्षार्थीको १७.६१ प्रतिशत हो। अर्थात् ३५.५५ प्रतिशत विद्यार्थी ग्रेडिङमध्ये पनि कमजोर ग्रेडिङमा परेका छन्। यस अर्थमा पनि यसपटकको नतिजा निकै कमजोर रहेको प्रस्ट भएको छ। यसैगरी ३.२४ देखि ३.६ जिपिए प्राप्त गर्ने विद्यार्थी ३० हजार एक सय ७ र जिपिए २.१ देखि २.४ प्राप्त गर्ने विद्यार्थीको संख्या दश हजार ९ सय रहेको छ।  

शिक्षाविद् वासुदेव काफ्लेका अनुसार कक्षा ११ र १२ मा विद्यार्थीले उच्च शिक्षाको अपेक्षा लिएर सिकाइ गरेको देखिएन भने शिक्षकले पनि परीक्षा प्रणालीलाई गम्भीरताका साथ नलिएको कारण कक्षा १२ को नतिजा कमजोर भएको हो। सरकारले कार्यान्वयनमा ल्याएको उदार कक्षा नीतिले विद्यार्थी माथिल्लो कक्षा स्वतः पास हुदै गए। उनीहरूको शिक्षकले कक्षामा निरन्तर मूल्याङ्कन गर्न नसकेका कारण पनि यसको नकारात्मक प्रभाव कक्षा १२ मा परेको हो। यसकारण पनि धेरै विद्यार्थी कक्षा १२ मा असफल भएको उनको विश्लेषण छ।  

विषयगत हिसाबले सबैभन्दा बढी अंग्रेजीमा असफल  

उपनियन्त्रक कृष्ण घिमिरेले उपलब्ध गराएको तथ्याङ्कअनुसार यसपटक सबैभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा असफल भएका छन्। अंग्रेजीमा कुल सहभागी विद्यार्थीमध्ये एक लाख एक हजार एक सय १३ विद्यार्थी ननग्रेडिङ अर्थात् असफल छन्। एप्लस ल्याउने एक हजार ५ सय ६७ मात्र छन्। नेपालीमा ३२ हजार ४ सय ९५ असफल छन्। भने एप्लस ल्याउने एक हजार ६ सय २४ मात्र छन्। यी दुवै अनिवार्य विषय हुन् भने ऐच्छिक विषयहरूमा सबैभन्दा बढी विद्यार्थी भएको विषय एकाउन्ट, इकोनोमिक्स, भौतिक शास्त्र, गणित र सामाजिक अध्ययन हुन्।  

यसैगरी एकाउन्टमा कुल एक लाख ७१ हजार परीक्षार्थीमध्ये ६६ हजार एक सय ७१ नटग्रेडिङमा छन्। एप्लस ल्याउने २ हजार ६ सय १२ छन्। भने सामाजिक अध्ययनमा तीन लाख १२ हजार विद्यार्थीले सहभागिता जनाएकामध्ये ५४ हजार एक सय १३ असफल रहे। एप्लस ल्याउने एक सय ९ मात्र छन्। गणितमा कुल ५२ हजारले परीक्षा दिएकामध्ये ८ हजार ८२ असफल छन्। भने एप्लस ल्याउने एक हजार २ सय ३० मात्र छन्। अर्को विषय भौतिक शास्त्रमा कुल परीक्षार्थी ५२ हजार सहभागी रहेकामध्ये असफल भएका ७ हजार २ सय ६२ छन् भने एप्लस ल्याउने एक हजार ३ सय ४ छन्।  

प्रकाशित: २० भाद्र २०७९ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App