७ वैशाख २०८१ शुक्रबार
शिक्षा

शिक्षामा लगानी अनुरुप प्रतिफल प्राप्त नभएको गुनासो छः राष्ट्रपति

पोखरा महानगरपालिका–१६ विन्ध्यवासिनी माध्यामिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटन तथा हीरक जयन्ती समापन समारोह कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति। तस्बिरः उमेश पुन/नागरिक

राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक शिक्षाको क्षेत्रमा लगानी अनुरुप अपेक्षित प्रतिफल प्राप्त नभएको जनगुनासो रहेको बताएकी छन्। पोखरा महानगरपालिका–१६ विन्ध्यवासिनी माध्यामिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटन तथा हीरक जयन्ती समापन समारोह कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले भनिन्, ‘सार्वजनिक शिक्षाको क्षेत्रमा राज्यद्वारा गरिएको लगानी अनुरुप अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको जनगुनासो छ।’

उनले कतिपय विद्यालयले भने गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोमा खुशी व्यक्त गरिन्। राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अभिभावक, स्थानिय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी सबैको सामुहिक प्रयास आवश्यक पर्ने बताईन्। त्यसमा पनि विद्यालय व्यवस्थापन समिति, अभिभावक र प्रधानाध्यापक चनाखो भएर क्रियाशिल हुन सके मात्र सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर कायम गर्न सकिने उनको भनाई थियो।

राष्ट्रपति भण्डारीले शिक्षाले हरेक व्यक्तिको सर्वाङ्गीण विकास गर्दै असल, योग्य र सक्षम प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्न मद्दत गर्ने बताईन। उनले राष्ट्रको समृद्धि र विकासका लागि आवश्यक श्रोत र साधनको पहिचान गर्दै तिनिहरुको उपयोग गर्नका लागि आवश्यक व्यवस्थापकीय क्षमता विकास गर्नु नै शिक्षाको मूल उद्देश्य हुनुपर्नेमा जोड दिईन्।

राष्ट्रपति भण्डारीले प्राकृतिक श्रोत र सांस्कृतिक सम्पदाहरुमा आधारित उद्यमशिलता प्रवद्र्धन गर्नका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ शैक्षिक गतिविधिहरु उन्मुख हुनुपर्ने बताईन्। ‘सीपमूलक, वैज्ञानिक, व्यवहारिक एवं गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला हो। मुलुकको सर्वांगिण विकास गर्ने आधार शिक्षा नै हो। गुणस्तरिय शिक्षामा सबै नागरिकको समतामूलक र न्यायोचित स्थापित गर्नु आजको आवश्यक्ता हो,’ उनले भनिन्।

राष्ट्रपति भण्डारीले एक्काईसौं शताव्दीको आवश्यक्ता अनुरुप विश्वव्यापी रुपमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षाको महत्वलाई आत्मसाथ गर्नुपर्ने बताईन्।

प्रकाशित: ३१ श्रावण २०७९ ०८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App