९ मंसिर २०८१ आइतबार
image/svg+xml
शिक्षा

फुङलिङमा बाल शिक्षक र कार्यालय सहयोगीको तलब घट्ने

ताप्लेजुङको फुङलिङ नगरपालिकामा नगर परिषद्ले पास गरेको बजेटमा कुनै शंसोधन नभए बाल शिक्षक,कार्यालय सहयोगी र बिद्यालय कर्मचारी (लेखापाल)ले साविक खाइपाइ आएको तलवमा बढीमा ३३ र कम्तिमा साढे ३ प्रतिशत सम्म कटौती हुने भएको छ।  

फुङलिङ नगरपालिकामा ५४ जना बाल शिक्षक,४९ जना कार्यालय सहयोगी र ८ जना बिद्यालय कर्मचारी रहेको फुङलिङ नगरपालिकाका शिक्षा अधिकृत प्रकाश पौडेलले जानकारी दिए।  

पौडेलका अनुसार चालू आर्थिक वर्षसम्म बाल शिक्षक र कार्यालय सहयोगीका लागि नगरपालिकाले संघ सरकारबाट प्राप्त अनुदानमा मासिक जनही ७/७ हजार र बिद्यालय कर्मचारीका लागि १ हजार ५ सय रुपैयाँ थप गरी तलवभत्ता निकासा गर्ने गरेको थियो। संघ सरकारबाट शिक्षक र कार्यालय सहयोगीका लागि मासिक जनही ८/८ हजार रुपैयाँ अनुदान आउने गरेको थियो। बिद्यालय कर्मचारीका लागि भने संघ सरकारबाट मासिक जनही १३ हजार ५ सय रुपैयाँ प्राप्त हुने गरेको थियो।  

संघ सरकारबाट प्राप्त हुने ८र८ हजार मासिक अनुदानमा नगरपालिकाले बाल शिक्षक र कार्यालय सहयोगीलाई जनही मासिक ७/७ हजार थप गरी मासिक जनही १५/१५ हजार रुपैयाँ दिने गरेको थियो।  

बिद्यालय कर्मचारीलाई भने संघबाट प्राप्त हुने मासिक जनही १३ हजार ५ सय रुपैयाँमा मासिक जनही १ हजार ५ सय थप गरेर मासिक जनही १५ हजार रुपैयाँ प्रदान हुदैं आएकोमा यसबर्ष नगर परिषद् बाट  प्राप्त हुने बजेट शंसोधन नभए तीनै तहमा कार्यरत जनशक्तिको तलव घट्ने देखिएको छ।  

शिक्षा अधिकृत पौडेलका अनुसार नगर परिषद्ले बाल शिक्षक,कार्यालय सहयोगी र बिद्यालय कर्मचारीका लागि भनेर आगामी आवमा ४१ लाख ८६ हजार रुपैयाँ बिनियोजन गरेको छ। ‘परिषद्बाट अनुमोदन भएपनि रातो किताबमा छाप्ने प्रयोजनका लागि प्रमाणीकरण भइसकेको भने छैन’शिक्षा अधिकृत पौडेलले भने। उनका अनुसार आगामी आवमा बाल शिक्षक,कार्यालय सहयोगी र बिद्यालय कर्मचारीका लागि बिनियोजन भएको सो रकममध्ये बाल शिक्षकका लागि संघ सरकारबाट प्राप्त हुने अनुदानमा मासिक जनही ४ हजार,कार्यालय सहयोगीका लागि मासिक जनही २ हजार र बिद्यालय कर्मचारीका लागि मासिक जनही १ हजार थप गर्ने गरी बजेटको बाँडफाँडको आधार बनाइएको छ । यसोगर्दा बाल शिक्षकले मासिक अब १२ हजार,बिद्यालय कर्मचारीले १४ हजार ५ सय र कार्यालय सहयोगीले १० हजार रुपैयाँ जनही मासिक तलव प्राप्त गर्नेछन्।  

संघीय सरकारले आगामी आवको बजेटबाट लागु हुने गरी बाल शिक्षकको मासिक जनही २ हजार रुपैयाँ बृद्धि गर्ने भनेको छ। नगर परिषद्को अहिलेको निर्णय शंसोधन नभए र केन्द्र सरकारले बृद्धि गरेको रकम पठाएको अवस्थामा फुङलिङ नगरपालिकामा कार्यरत बाल शिक्षकले अब मासिक १४ हजार रुपैयाँ प्राप्त गर्नेछन्। चालू आर्थिक बर्ष सम्मको अवस्था हेर्दा संघ सरकारले बृद्धि गरेको मासिक २ हजार सहित बाल शिक्षकले मासिक १७ हजार रुपैयाँ पाउनुपर्ने अवस्था रहन्थ्यो। 

प्रकाशित: १९ असार २०७९ १०:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App