१५ चैत्र २०८० बिहीबार
शिक्षा

महेन्द्र क्याम्पस जग्गा प्रकरणः जग्गा जोगाउन मोहीका छोरासँग मेलमिलाप गराउन पहल

मेयरको कार्यकक्षमा क्याम्पस प्रशासन, जग्गा बचाउ समिति, मोहीका छोराबीच भएको छलफल।

भूमाफियाले आँखा गाडेको महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा बचाउन क्याम्पस प्रशासन, जग्गा बचाउ समिति र मोही भनिएका व्यक्तिका छोराबीच मेलमिलाप गराउन पहल भएको छ।

धरानका मेयर हर्कराज राई (साम्पाङ) को पहलमा त्रिपक्षीय छलफल गर्दै मेलमिलापमार्फत मुद्दाको टुंगो लगाउन छलफल भएको हो। धरान ११ स्थित स्वातिक चोकमा भएको क्याम्पसको १७ कट्ठा १८ धुर जग्गाको स्रेस्तामा मोही कायम भएका डम्बरबहादुर क्षेत्रीका छोरा यज्ञ घिमिरेले मोही हक नामसारीको लागि भूमिसुधारमा करिब ४ वर्षअघि निवेदन दिएका थिए।

भूमिसुधारले निवेदक घिमिरेको नाममा बुबाको मोही हक नामसारी हुने निर्णय गरिदिएको थियो। उक्त निर्णयविरुद्ध क्याम्पस प्रशासनले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको छ। उच्च अदालतले मेलमिलापको लागि असार १९ गतेको समय दिएकोले मोहीका छोरासँग मिलाप गराउन पहल भइरहेको जग्गा बचाउ समितिका संयोजक एवं पूर्वक्याम्पस कुमारबहादुर कार्कीले जानकारी दिए।

मेलमिलापको लागि अदालतमा पनि २ पटक छलफल भइसकेको भन्दै कार्कीले भने,‘अदालतले १९ गते मेलमिलापको समय दिएको छ। मेयरको समुपस्थितिमा छलफल गर्‍यौँं, यज्ञ घिमिरेबाट सकरात्मक संकेत पाएका छौं।’ छलफलको क्रममा मोहीका छोरा घिमिरेले आफू मेलमिलाप गर्न तयार भएको तर भाउजु र भतिजको दबाव रहेको प्रतिक्रिया दिएका थिए।

छलफल ज्यादै सकरात्मक भएको र मेलमिलाप हुने सम्भावना रहेको संयोजक कार्कीले बताए। मेयर राईले पनि घिमिरेलाई सामाजिक दबाव आउँदा थेग्न नसकिने भन्दै सार्वजनिक र शैक्षिक संस्थाको जग्गामा दाबी नगर्न आग्रह गरेका थिए। उनले भने, ‘सामाजिक दबाव आयो भने कसरी थेग्नुहुन्छ? सरकारविरुद्ध मुद्दा कतिञ्जेल लड्नुहुन्छ? शिक्षा जस्तो पत्रिव संस्थाको जग्गा छोडिदिनुस्।’

पूर्वक्याम्पस प्रमुख चन्द्रकुमार राईले पनि क्याम्पस सबैको साझा सम्पत्ति भएकोले उसको जग्गामा लोभिन नहुने भन्दै ब्याक हुन घिमिरेलाई आग्रह गरेका थिए। छलफलमा क्याम्पस प्रमुख दामोदर भण्डारी, पूर्वक्यामपस प्रमुख चन्द्रकुमार राई, जग्गा बचाउ समितिका संयोजक एवं पूर्वक्याम्पस प्रमुख कार्की, वडा नं ११ का अध्यक्ष लोकेन्द्र फागो र वडा नं १६ का अध्यक्ष मुरारी भट्टराई पनि सहभागी थिए।

क्याम्पसले २०३४ सालमा तत्कालीन मोहीलाई चित्त बुझाएर धरान ११ स्थित स्वास्तिक चोकमा कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा खरिद गरेको थियो। मोहीलाई चित्त बुझाए पनि स्रेस्तामा मोहीको नामको लगतकट्टा नहुँदा अहिलेसम्म मोही कायमै छ। यो कुरा थाहाँ पाएपछि झण्डै ४ वर्षअघि भूमाफियाहरुले मोही डम्बरबहादुर क्षेत्रीका छोरालाई यज्ञबहादुरलाई खोजेर हक कायम गर्न अघि सारेका थिए। भूमिसुधारले गत असोज २५ गते मोही हक छोरा यज्ञबहादुरको नाममा नामसारी गरिदिने फैसला गरेको थियो।

वास्तविक मोही डम्बर र उनका श्रीमतीको पनि निधन भएको वर्षौ भइसकेको छ। स्रेस्ताबाट मोहीको लगतकट्टा नहुँदा अहिलेसम्म पनि मोही कायमै छन्। यद्यपि, जग्गामा मोही पक्षको भोगचलन छैन। क्याम्पसले घेराबारा गरेर भौतिक संरचनाहरु निर्माण गरेको छ। कानुनः मोहीले ५० प्रतिशत जग्गा पाउने र क्याम्पसबाट मोहीले पाउने यो जग्गाको मूल्य १० करोड बढी भएकोले भूमाफियाहरु सक्रिय भएका हुन्।

गत वर्ष धरान उपमहानगरपालिकाले जोतभोगको सर्जमिन मुचुल्का गरेर पठाएको सक्कल फाइल नै भूमिसुधारमा नपुगी बीचमै गायव भएको थियो। मोही हक नामसारीको निवेदन पछि क्याम्पसले मोही लगत कट्टाको निवेदन दिए पनि भूमिसुधारले क्याम्पसको विपक्षमा फैसला गरेको छ।

प्रकाशित: १६ असार २०७९ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App