बडीमालिका नगरपालिकाले नगरक्षेत्र भित्रका सबै विद्यालयमा स्थानीय पाठ्यक्रमलाई अनिवार्य गर्ने भएको छ। स्थानीय विषय वस्तु र मौलिक परिवेश झल्किने गरी तयार पारिएको हाम्रो बडीमालिका नामक पुस्तकलाई स्थानीय पाठ्यक्रमका रुपमा लागु गर्ने भएको हो।
स्थानीय पाठ्यक्रम लागु गर्ने बडीमालिका जिल्लाका नौ वटा स्थानीयतहमध्ये पहिलो पालिका बनेको छ। पहिलो चरणमा आधारभूत तह कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यक्रम हाम्रो बडीमालिका पढाई हुने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रंगमल विकले बताएका छन्।
स्थानीय पाठ्यक्रमका रुपमा पढाई हुने पुस्तक हाम्रो बडीमालिकाको नगर प्रमुख अमर खड्का र उपप्रमुख नन्दाकुमारी थापाले सार्वजनिक गरेका हुन्। पाठ्यक्रम बडीमालिका नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले तयार पारेको हो। पाठ्यक्रम यही शैक्षिक सत्रबाट लागु हुने छ।
नगरको मौलिक परिचय हुने र नयाँ पुस्तालाई समाज र सामाजिकीरण अवस्थाबारे जानकार राख्ने उद्देश्यसहित स्थानीय पाठ्यक्रमको अवधारणा अघि सारेको बताइएको छ। नगरमा एउटै प्रकारको सिकाई सहजीकरण विधि सधै र सबैतिर उपयुक्त हुन सक्ने भएकोले स्थानीय विषयवस्तुमा आधारित भएर आधारभूत तहमा हाम्रो बडीमालिका पुस्तक पढाई हुन लागेको हो।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले बडीमालिका नगरपालिकामा स्थानीय पाठ्यक्रम प्रवोधिकरण कार्यक्रमको आयोजना गरेर शिक्षक र सरोकारावाला निकायलाई जानकारी गराएको छ।
आधारभूत तह कक्षा १ देखि ३ सम्मको हाम्रो बडीमालिका पुस्तक पढाईपछि नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयमा स्थानीय स्तरमा बोलिने भाषा र संस्कृतीको प्रयोग हुने अपेक्षा गरिएको छ।
त्यस्तै आफ्नो टोल पालिकाको भौगोलिक अवस्था, स्थानीय स्तरमा रहेका धार्मिक स्थल, प्राकृतिक सम्पदा ऐतिहासिक सम्पदाहरुको पहिचान, वर्णन र महिमा समावेश गरिएको छ। धर्म, सँस्कृति र मौलिकता झल्कीने विषयलाई पाठ्यक्रममा राखिएको छ।
शिक्षक उत्तम राज जोशीले सञ्चालन गरेको सार्वजनिक कार्यक्रममा सहभागीले पालिका स्तरबाट राम्रो अभ्यास थालनी गरेको प्रति धन्यवाद दिएका छ। पुस्तक १२ वटा विषय बस्तुमा बाँडिएको छ। भने ५९ पेजको छ।
प्रकाशित: २२ जेष्ठ २०७९ १३:३६ आइतबार