८ वैशाख २०८१ शनिबार
शिक्षा

लेकवेशी नगरपालिकाले डाक्टर पढाउने

तस्बिर: कार्यभार सम्हाल्दै लेकवेशी नगरपालिकाका प्रमुख उमेश पौडेल

लेकवेशी नगरपालिकाले पाँच जना विद्यार्थीलाई डाक्टर पढाउने भएको छ। नगरपालिकामा प्राथमिक स्वास्थ्य चौकी भएपनि विशेषज्ञ डाक्टरहरु नहुँदा आफ्ना नागरिकहरुले उपचारमा सास्ती भोग्नु परिरहेकाले पाँच वर्षको अवधिमा हरेक वर्ष एक जनालाई छात्रवृत्तिमार्फत डाक्टर पढाउने निर्णय नगरपालिकाले गरेको हो।  

नगरपालिकाको कार्यभार सम्हाल्दै नगर प्रमुख उमेश पौडेलले पाँच वर्षमा पाँच जना डाक्टर पढाउने निर्णय गरे। ‘नगरपालिकामा प्राथमिक स्वास्थ्य चौकी भएपनि डाक्टरहरु बस्न मान्दैनन्,’ उनले भने, ‘यसको दीर्घकालीन समाधानका लागि स्थानीयलाई छात्रवृत्ति दिएर डाक्टर पढाउने निर्णय गरेका हौं।’  

नगर प्रमुख पौडेलले कार्यविधि बनाएर डाक्टर पढाउनका लागि कोषको व्यवस्था गरिने बताए। ‘नगरपालिकाको छात्रवृत्तिमार्फत अध्ययन गरेका डाक्टरले कम्तिमा पाँच वर्ष नगरपालिकाभित्रैको स्वास्थ्य संस्थामा रहेर स्वास्थ्य सेवा दिनुपर्ने कार्यविधि बनाउँछौं,’ उनले भने, ‘यो निर्णयले गरिव, जेहेन्दार र मेहनती विद्यार्थीहरुलाई चिकित्सक बन्ने बाटो खोल्नुका साथै नगरबासीले पनि सहज रुपमा स्वास्थ्य सेवा लिन पाउने विश्वास गरेका छौं।’  

नगरपालिकाले गर्भवती तथा प्रसुति महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने भएको छ। ‘नगरपालिकाभित्रका गर्भवती तथा प्रसुति महिला र नवजात शीशुको अकालमा ज्यान जान सक्ने अवस्था विद्यमान छ,’ नगर प्रमुख पौडेलले भने, ‘नगरभित्रका स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवा अपर्याप्त भएमा उच्च तहको सेवाका लागि लिनु परेमा एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराइने छ।’

प्रकाशित: ९ जेष्ठ २०७९ ०४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App