४ वैशाख २०८१ मंगलबार
शिक्षा

विश्वविद्यालयले सातामा दुई दिन बिदा नदिने

जेठ १ देखि सातामा थप एक दिन आइतबार पनि बिदा दिने सरकारको निर्णय विश्वविद्यालयहरूले कार्यान्वयनमा नल्याउने भएका छन्।

पठनपाठनमा असर पर्ने भन्दै विश्वविद्यालयहरूले आइतबार बिदा दिन नसकिने निर्णय गरेका हुन्। सरकारले सातामा शनिबार सार्वजनिक बिदा दिँदै आएकोमा यही जेठ १ देखि आइतबार पनि बिदा दिने निर्णय गरेको छ।

देशमा सञ्चालित सबै विश्वविद्यालयहरूले सातामा दुई दिन बिदा दिँदा ठूलो शैक्षिक क्षति हुने निष्कर्ष निकालेका छन्। विश्वविद्यालयहरूमा पाठ्यभार ६ दिनको भएको र त्यसैअनुसार परीक्षा, कक्षाभार, शैक्षिक क्यालेन्डर तय भएको हुँदा आइतबार पनि बिदा दिएर पाठ्यभार ५ दिनमा पूरा गर्न असहज हुने भएकाले तत्काललाई आइतबार बिदा दिन नसकिने त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार पेशल दाहालले स्पष्ट पारेका छन्।

सुदूरपश्चिम विश्वविद्यालयका सामान्य प्रशासन महाशाखा प्रमुख भवानीदत्त पाण्डेयले बुधबार सार्वजनिक सूचना प्रकाशित गरी सातामा दुई दिन बिदा गर्दा विश्वविद्यालयका पूर्वनिर्धारित शैक्षिक कार्यक्रमहरू प्रभावित हुने भएकोले आइतबार बिदा नदिइने प्रष्ट पारेका छन्।

गत वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गतेदेखि लागु हुनेगरी सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। ‘सातामा दुई दिन बिदा गर्दा पूर्वनिर्धारित शैक्षिक कार्यक्रमहरूमा नकरात्मक असर पर्छ,’ सुदूरपश्चिम विश्वविद्यालयलका सामान्य प्रशासन माहाशाखा प्रमुख पाण्डेले भने, ‘आइतबार पनि विश्वविद्यालयका सम्पूर्ण निकायले सेवा दिने छन्।’

सुदूरपश्मि मात्र होइन, मुलुकै ठूलो र पहिलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसअघिनै सार्वजनिक सूचना प्रकाशित गरी सातामा दुई दिन बिदा नदिने प्रष्ट पारिसकेको रजिष्ट्रार दाहालले बताए। काठमाडौं, त्रिवि, सुदूरपश्चिम, मध्यपश्चिम, नेपाल खुला विश्वविद्यालय, राजश्रीजनक, पोखरा, पूर्वाञ्चल, कृषि तथा वन, बौद्धलगायत सबै विश्वविद्यालयले सातामा एक दिन शनिबार मात्र बिदा दिने निर्णय गरेका छन्।

मुलुकको ८० प्रतिशत उच्च शिक्षाको भार बोकेको त्रिविमा आइतबार बिदा नदिने निर्णय भएको राजिष्ट्रार दाहालले बताए। यसै पनि यस विश्वविद्यालयमा कहिले विद्यार्थी, कहिले शिक्षक कर्मचारीले विभिन्न माग राखेर महिनौं उपकुलपति, रेक्टर र र रजिष्ट्रारको कार्यालय तथा मुख्य गेटमै तालाबन्दी गरी पठनपाठन प्रभावित पार्दै आएका छन्।

यस्तो अवस्थामा दुई दिन बिदाले पाठ्यभार पूरा नहुने रजिष्ट्रार दाहालले प्रष्ट्याए। ‘त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम सातामा ६ दिन पठनपाठन गराउने हिसाबले तय गरिएको छ। कक्षा पनि त्यहीअनुसार चलेको छ,’ दाहालले भने, ‘एक दिन बिदा बढाउँदा पुरै शैक्षिक सत्रमै नकरात्मक असर पर्छ। कोर्ष पूरा हँुदैन। अन्योल कायम हुन्छ। त्रिविका ६२ वटा आंगिक र एक हजार २२ वटा सम्बन्धन प्राप्त कलेजहरूमा चार लाख ३० हजार विद्यार्थी अध्ययनरत छन्। कार्यक्रम र रुटिङ नै प्रभावित हुने भएकाले त्रिविले आइतबार बिदा नदिने निर्णय गरेको छ।’

काठमाडौं विश्वविद्यालयले पनि दुई दिन बिदा नदिने निर्णय गरेको छ। विश्वविद्यालयका म्यानेजर दिपक दाहालका अनुसार विश्वविद्यालय सातामा दुई दिन बिदाको विकल्प दिने तयारीमा जुटेको छ। ‘दुई दिन बिदा दिँदा त केयुको सेवा र प्राज्ञिक क्षेत्र नै प्रभावित बन्छ,’ दाहालले भने, ‘बरु विश्वविद्यालयले आइतबारको बिदाको सट्टा शिक्षक कर्मचारीलाई अल्टरनेटिभ बिदा दिएर सेवा र प्राज्ञिक क्षेत्र नियमित सञ्चालन गर्ने तयारी गरिरहेको छ।’

पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार लीलामणि पोखरेलले सातामा दुई दिन बिदाले सरकारी सेवामा प्रभाव नपरे पनि विश्वविद्यालय सेवामा भने ठूलो प्रभाव पर्ने औँल्याए। उनले विश्वविद्यालयका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई भेटेरै देशभरिका विश्वविद्यालयका पदाधिकारीले सातामा दुई दिन बिदा विश्वविद्यालयको हकमा कार्यान्वयन गर्न नसकिने जानकारी गराइसकेको बताए।

रजिष्ट्रार पोखरेलले भने, ‘दुई दिन बिदा दिँदा कक्षाभार अघि बढ्दैन। बिहान, दिउँसो र साँझ तीन सिफ्टमा चल्ने कलेजहरूमा ठूलो समस्या आउँछ। विश्वविद्यालयको हकमा शनिबार र आइतबार दुई दिन बिदाले उल्टो नतिजा दिने देखियो। त्यही भएर देशभरिका विश्वविद्यालयले यो निर्णय कार्यान्वयन गर्न नसक्ने निर्णय गरेका हुन्।’

प्रकाशित: ९ जेष्ठ २०७९ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App