७ वैशाख २०८१ शुक्रबार
शिक्षा

निजी शैक्षिक संस्थाले दुई दिन विदा दिने सरकारकाे निर्णय नमान्ने

 निजी विद्यालय संचालकहरुले सरकारको दुई दिन बिदा दिने निर्णय शिक्षा क्षेत्रमा अव्यवहारिक भएको भन्दै नमान्ने जनाएका छन्। 

बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको दुई दिन बिदा दिनेबारे सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा निजी शैक्षिक संस्थाहरुले दुई दिन बिदा नेपालको शैक्षिक क्षेत्रमा कार्यन्वयन गर्दा कक्षाकोठामा शिक्षण सिकाईमा नकरात्मक असर पर्ने भएकोले नमान्ने स्पष्ट धारणा राखेको राष्ट्रिय निजी तथा आवासिय विद्यालय संचालक नेपाल  (एनप्याबसन)का सहअध्यक्ष सुवास न्यौपानेले बताए। 

राष्ट्रिय पाठ्यक्रमले तय गरे अनुसार एक शैक्षिक सत्रमा एक सय ८० दिन कक्षाकोठामा शिक्षण सिकाई हुनुपर्छ। भने एक शैक्षिक सत्रमा २ सय २० दिन विद्यालय खोल्नुपर्ने पाठ्यक्रमले तय गरेको छ। ‘बिहीबार मन्त्रालयमा भएको छलफलमा हामी निजी शैक्षिक संचालकहरुको तर्फबाट हामीले दुइ दिन विदा नमान्ने धारणा स्पष्ट राख्यौं,’ सहअध्यक्ष न्यौपानेले नागरिकसँग भने, ‘कि त पाठ्यक्रमले निर्धारण गरेको विषयबस्तु घटाउनु पर्यो नत्र निजी विद्यालयले शनिबार मात्र एक दिन विदा गर्छ भनी हामीले स्पष्टसँग कुरा राख्यौं।’ उनले थपे, ‘नेपालको सन्दर्भमा जातिय, पर्व त्यौहार तथा आकस्मीक विदा त्यसै धेरै छ। शनिबार एक दिन विदा दिँदा त विद्यार्थीहरु पढाएका विषयबस्तु भुल्ने गर्छन्। दुई दिन विदा विद्यार्थीको शिक्षण सिकाईमा नकरात्मक असर पर्छ। सिकाई अपूरो हुन्छ। सरकारको यो निर्णय हामी मान्दैनौं ’

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संचालक संघ (हिसान)का महासचिव लोकबहादुर भण्डारीले पनि सरकारी कार्यालयहरुमा दुई दिन विदा सान्दर्भिक भए पनि शिक्षा क्षेत्रमा असान्दर्भिक भएको जनाए। उनले हिसानको पनि धारणा दुई दिन विदा नमान्ने नै हुने तय गरिने जनाए। ‘विदेशमा दुई दिन विदा दिने चलन छ। त्यहाँ विदाको समयमा शिक्षक र विद्यार्थीको तालिम,सिप तथा सृजनात्मक कार्यमा सदुपयोग हुन्छ ,’ महासचिव भण्डारीले नागरिकसँग भने, ‘तर नेपालमा काम गर्ने तौर तरिकामा इमान्दारीपन छैन। दुई दिन विदा दिनसाथ अन्य तरिकाले खर्च हुने प्रवृति कायम हुन्छ।’ उनले थपे, ‘हिसान अन्तर्गत १३ सय शैक्षिक संस्था आबद्ध छन्। हामी दुई दिन विदा मान्ने पक्षामा छैनौं। ’

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिसोर सुवेदीले छलफलमा दुई दिने विदाबारे सरकारी विद्यालयको सन्दर्भमा कुनै आपत्ति नभएको जनाए। ‘केन्द्रमा छलफल हुदा हामीले मान्नु पर्छ,’ उनले भने, ‘तर पाठ्यक्रमले निर्धारण गरेको एक हजार २५ क्रेडिट आवरलाई कसरी ब्यवस्थापन गर्नेबारे गहन छलफल गर्नुपर्छ।’ उनले थपे, दुनियाँका एक सय २५ देशमा शनिबार र आइतबार विदाको व्यवस्था छ। १९ देशमा नेपालसहित शनिबार पुरा र शुक्रबार आधा दिन विदाको व्यवस्था छ भने १९ मुस्लिम देशहरुमा शुक्रबार र शनिवार विदाको व्यवस्था छ। नेपालका कार्यन्वयन गर्न पाठ्यक्रमलाई व्यवस्थित गरि जानुपर्छ।’

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले सरकारको निर्णय कसरी कार्यन्वयनतर्फ लैजानेबारे मन्त्रालयमा सरोकारवालाविच छलफल भएको जनाउँदै उनले अर्को बैठकमा निष्कर्ष निकालिने जनाए। ‘विद्यार्थीको शिक्षण सिकाईमा कुनै नकरात्मक असर नपर्ने गरि दुई दिन विदाको व्यवस्थापनतर्फ हाम्रो छलफल हो,’ प्रवक्ता शर्माले भने ‘प्याबसन, एनप्याबसन,हिसान र शिक्षक महासँघसँग मन्त्रालयले सुझाव मागेको छ। उपयुक्त उपाय साथ अघि बढ्ने हो।’ 

प्रकाशित: २५ वैशाख २०७९ ०९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App