७ वैशाख २०८१ शुक्रबार
शिक्षा

कमजोर शिक्षण सिकाइले समस्यामा विद्यार्थी

बैतडीको सिमारमा रहेको दुर्गा नमुना मावि परीक्षा केन्द्रमा एसइई परीक्षा दिँदै गरेका परीक्षार्थी। मंगलबार विज्ञान विषयको परीक्षा सम्पन्न भएको छ। तस्बिरः रासस

चालु शैक्षिक सत्रमा विद्यालयमा साढे तीन महिना पनि मुस्किलै विद्यार्थीले विद्यालयमा भौतिक उपस्थितमा शिक्षण सिकाइ गरे। कोरोनाका कारण विद्यालयहरूमा कमजोर शिक्षण सिकाइ रह्यो।

तर वैशाख ९ गतेदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा सहभागिता जनाएका विद्यार्थीहरूलाई विगतको भन्दा निकै गाहे प्रश्न सोधिएको छ। एसइईमा सोधिएका विषयको प्रश्नको उत्तर उत्तरपुस्तिकामा ७५ प्रतिशत विद्यार्थीले लेख्नै नसकेको केन्द्राध्यक्षहरूलेनै बताएका छन्।

मंगलबार विज्ञान विषयको परीक्षामा खण्ड सी र डी निकै नै अप्ठ्यारो प्रश्न सोधिएको परीक्षामा सहभागी परीक्षार्थी हिमान्सु कर्णले सुनाए। कालिमाटीस्थित जनप्रभात माविका विद्यार्थी उनी विद्यालयमा मुस्किलले साढे तीन महिना मात्र भौतिक उपस्थितिमा पढाइ भएको तर एसइईको गणित, विज्ञानलगायतका अप्ठ्यारा विषयमा अवधारणामा आधारित प्रश्न सोधिएकोले समाधान गर्न चुनौती थपिएको बताए।

‘आइतबार गणित विषयको खण्ड डी को लामो प्रश्न अवधारणामा आधारित थियो, एक त ५ नम्बरका चारवटा प्रश्नको उत्तर अनिवार्य लेख्नैपर्ने खण्ड थियो त्यसमा पनि प्रश्न प्रत्येक च्यापटरमा आधारित थियो। मंगलबारको विज्ञानको प्रश्न पनि अवधारणमै आधारित थियो,’ हिमान्सुले नागरिकसँग भने, ‘कोरोनाका कारण कठिन परिस्थिति रह्यो। हाम्रो विद्यालयमा सिकाइ निकै कमजोर रह्यो। त्यहाँमाथि कठिन विषयको प्रश्न पनि कठिनै आयो। प्रश्नको उत्तर लेख्नै चुनौती बन्यो हामी विद्यार्थीका लागि। मलगायत मेरा थुप्रै साथीहरूले धेरै प्रश्नको उत्तर लेख्न नसकेर त्यतिकै छाडेर परीक्षा हलबाट बाहिरयौं।’

जनप्रभात माविका केन्द्राध्यक्ष सत्येन्द्रलाल कर्णका अनुसार यसपटकको परिस्थिति कोरोनाका कारण निकै कठिन रहेको अवस्थामा पनि राष्ट्रिय परीक्षा बोर्डको प्रश्नपत्र भने विगतभन्दा फरक र ज्ञान र अवधारणमा आधारित निकै अप्ठ्यारो आएकाले समस्या भएको हो। कर्ण उनी आफैं कक्षा १०मा विज्ञान र गणित विषय विद्यार्थीलाई पढाउँछन्। उनले कोरोना कालमा चालु शैक्षिकसत्रमा विद्यार्थीको कोर्ष र शिक्षण सिकाइ पूरा नभएको अवस्थामा कठिन प्रश्नले विद्यार्थी अतालिएको अनुभव सुनाए।

‘चालु शैक्षिकसत्रमा केही महिना अनलाइन कक्षा सञ्चालन भए पनि २० प्रतिशत पनि विद्यार्थी अनलाइन सहभागिता रहेन। पुस दोस्रो सातादेखि विद्यालयमा भौतिक उपस्थितिमा पढाइ भयो। शिक्षण सिकाइ कमजोर रहयो,’ कर्णले भने ‘गणित र विज्ञान विषय ज्ञान र अवधारणामा आधातिर विषय हुन्। एउटा समस्या बुझन र समाधान गर्न पूरै च्याप्टरनै बुझेर अध्ययन गर्नुपर्छ।

तर योपटक यसरी विद्यार्थीलाई पढाइएको छैन।’ तर प्रश्नपत्र भने च्यापटरको बीचबाट सोधिएको र त्यसको उत्तर राम्रा विद्यार्थीलाई लेख्न चुनौती देखिने उनले बताए। ‘मेरो परीक्षा केन्द्रमा ३ सय ४९ परीक्षार्थी मध्ये ७५ प्रतिशतले पनि राम्ररी लेख्न नसकेको मैले देखे। यसपटक थप उत्तरपुस्तिक विद्यार्थीले थपेनन्। धेरै विद्यार्थी पास हुन समस्या देखेको छु,’ उनले भने।

त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले कठिन परिस्थितिमा कठिन विषयमै कठिन प्रश्न सोधिनु एसइई दिइरहेका विद्यार्थीमाथि अन्याय भएको जिकिर गरे।‘विगतमा प्रश्न बैंकबाट १० वर्षदेखिको सोधिने प्रश्न सोधिने चलन थियो। कतिपय दोहरिन्थे। विद्यार्थीले त्यसरीनै तयार गरेर परीक्षा दिने गरेका थिए,’ प्रअ कँडेलले भने ‘तर यस पटक एसइई सुरु भएको चार दिनभित्र अंग्रेजी, नेपाली, गणित र विज्ञान विषयका परीक्षा सम्पन्न भए। तर प्रश्नपत्र वर्षभरिनै कक्षामा उपस्थित भएर च्याप्टर बुझेर शिक्षण सिकाईमै आधारित रहयो। विद्यार्थीलाई लेख्नै चुनौति बन्यो। लेख्न सकेनन,’ उनले थपे‘ लामा प्रश्नहरूको विषयबस्तुनै विद्यार्थीले बुझेका थिएनन्। अनि कसरी लेख्नु ? ’ परीक्षा बोर्डले विद्यार्थीको समस्या सम्बोधन गर्नुपर्ने उनको ठहर छ।

समस्या समाधान गर्न बोर्डमा छलफल  

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले प्रश्नहरू कठिन रहेको गुनासाहरू बोर्डमा आएको र बोर्डका पदाधिकारीहरू यो विषयमा अवगत रहेको स्पष्ट पारे। उनले प्रश्नपत्र सात प्रदेशकै फरकफरक रहेको जनाउँदै विगत झैँ पूरै कक्षा सञ्चालन भए सरह नै सोधिएकोले विद्यार्थीलाई अप्ठ्रायो पर्न गएको स्वीकारे।

‘नियमति वर्षहरू जस्तै यस वर्ष पनि विषय विज्ञहरूले विगतमा सहज परिस्थितिमा शिक्षण सिकाइ भएको जस्तै प्रश्न तयार गर्नु भएको छ ,’ सदस्य सचिव अर्यालले भने, ‘तर यसपटक कोरोनाका कारण विद्यार्थीले सिकाइ पूरा नगरेको बारे बोर्ड अवगत छ। समस्या र गुनासा परीक्षा बोर्डमा आएका छन्। बोर्डले विद्यार्थीलाई समस्या नपर्नेगरी उत्तरपुस्तिका परीक्षण गर्नेछ। उत्तरकुञ्जिका प्रयोग गरी नम्बरिङमा सम्बोधन हुने गरी बोर्डले छलफल गरिरहेको छ।’ उनका अनुसार देशभरि कुल २ हजार ७ परीक्षा केन्द्रहरूबाट ११ हजार ६ सय १५ माध्यमिक विद्यालयका ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले एसइई परीक्षा दिइरहेका छन्। ‘जसमा छात्राहरू २ लाख ५७ हजार ९ य २४ र छात्रहरू २ लाख ५७ हजार ५३ सहभागिता जनाएका छन् ,’ सदस्य सचिव अर्यालले भने, ‘प्राविधिक धारका १४ हजार ४ सय ५४ परीक्षार्थी छन्।

एसइई परीक्षा नियन्त्रक अर्जुन रायमाझीले देशभरि नै सिराहा जिल्लाबाहेक अन्यत्र शान्तिपूर्ण रूपमा एसइई सञ्चालन भइरहेको दाबी गरेका छन्। ‘सिराहामा मात्र केही परीक्षार्थीलाई अमर्यादित काम गरेकोले निस्कासन गरेको खबर आएको छ,’ नियन्त्रक रायमाझीले भने, ‘कठिन प्रश्नको सवालमा बोर्डले सम्बोधन गर्नेछ। विद्यार्थीलाई मार्का नपर्नेगरी उत्तरपुस्तिका परीक्षण हुन्छ।’

प्रकाशित: १४ वैशाख २०७९ ०५:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App