१६ चैत्र २०८० शुक्रबार
शिक्षा

गोरखाको एक सामुदायिक विद्यालयद्वारा विद्यार्थीबाट शुल्क असुली

विद्यालयले शुल्क लिएको रसिद।

गोरखाको सिरानचोक गाउँपालिका ८ जौवारीको परोपकार आदर्श माविले अभिभावकबाट शुल्क असुलेको छ। अंग्रेजी माध्यमको शिक्षा दिने नाममा विद्यालयले नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई विविध शुल्क भन्दै दुई हजारदेखि ३८ सय रुपैयाँ वार्षिक रुपमा लिने गरेको गुनासो अभिभावकले गरेका छन्।  

‘विद्यालयले बिबिध शुल्क नाम दिएर वार्षिक रुपमा पैसा उठाउने गरिएको छ, गत वर्ष कोरोनाको संक्रमणकालमा पनि पैसा तिर्नुपर्‍यो, अहिले पनि पैसा तिर्न बिल पठाइएको छ’, एक अभिभावकले भने। विद्यालयले दिएको रसिद कक्षागत रुपमा वर्षभरीको शुल्क भन्दै काटिएको छ।  

प्रधानाध्यापक हरिचन्द्र दवाडीले विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरेर ८ वर्षदेखि शुल्क लिँदै आएको बताए। ‘शुल्क तिर्न नसक्नेका लागि वडा कार्यालयको सिफारिसका आधारमा छुट पनि दिएका छौँ’, उनले भने, ‘अंग्रेजी माध्यमको थप कक्षा संचालनका लागि यो शुल्क खर्च भएको छ।’ शुल्क नलिँदा नर्सरी, केजीमा थप कक्षा र कक्षा ८ मा अंग्रेजी, नेपाली माध्यम छुट्टाछुट्टै पढाउन नसकिने उनले बताए।  

परोपकार आदर्श मावि नमुना विद्यालय हो। यहाँ २२ वटा दरबन्दी छ भने तीन सय ९२ विद्यार्थी अध्ययनरत छन्। सामुदायिक विद्यालयले कुनैपनि बाहनामा अभिभावकसँग शुल्क असुल्न पाउने कानूनी व्यवस्था छैन। निःशुल्क भनिएको शिक्षा पैसा तिर्नुपरेको भन्दै अभिभावकले शुल्कको विरोध गरेका छन्।  

सिरानचोक गाउँपालिकाको शिक्षा शाखाले पनि सामुदायिक विद्यालयले अभिभावकसँग शुल्क लिन नपाउने बताएको छ। शिक्षा शाखाका कृष्णप्रसाद पोखरेलले भने, ‘शुल्क लिएको बारेमा थाहा भएन, कुनैपनि सामुदायिक विद्यालयले शुल्क लिन पाइँदैन।’  

विद्यालय प्रशासनले भने अभिभावक सहयोका रुपमा पैसा लिएको र कुनै अतिरिक्त शुल्कका रुपमा नबुझिदिन भनेको छ।

प्रकाशित: ६ माघ २०७८ १४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App