१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

मेयर कुशवाहाले गरे विद्यालय भवन शिलान्यास

रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहाले एक समारोहबीच विद्यालय भवनको शिलान्यास गरेका छन्। नगरपालिकाद्वारा जमिन किनेर सोही जमिनमा व्यवस्थित पठनपाठन गराउने उद्देश्यले नगरपालिकाद्वारा नै भवनको लागि रकम निकासा गरी विद्यालय भवनको निर्माण हुन थालेको हो।

कटहरिया नगरपालिका २ जमुनिया गाउँमा रहेको माध्यमिक विद्यालयमा भवनको अभाव भएकोले नयाँ ठाउँमा विद्यालय भवन नबनाइ नहुने अवस्थामा करिब पाँच सय मिटर टाढा विद्यालयको लागि जमिन किनेर विद्यालय भवन निर्मााण्को लागि शिलान्यास गरिएको प्रधानाध्यापक अनिलकुमार निधिले जानकारी गराएका छन्।  

जम्मा १७ धुर जमिनमा संचालनमा रहेको जमुनिया माध्यमिक विद्यालयमा विद्यार्थी अटाई नअटाइएको अवस्थामा रहेको थियो। संचालनमा रहेको विद्यालयको छेउछाउमा जमिन किन्ने प्रयास गरे पनि तीन वर्षदेखि सफल हुन नसकेको अवस्थामा एक हप्ताअघि जमिन किनेर बुधबार शिलान्यास गर्न सफल भएकोमा धेरै खुसी लागेको प्रअ निधिको भनाइ छ।  

जग्गा खरिद तथा विद्यालय भवन निर्माण समितिका अध्यक्ष रामसिनेही पटेलले विद्यालयको लागि करिब चालिस लाखमा ६ कट्ठा साढे अठार धुर जमिन किनिएको र तत्काल विद्यालय भवन निर्माणको काम थालिएको बताएका छन्।

चार कोठाको भुइँतल्ला र दुई कोठाको माथिल्लो तल्लाका साथै छुट्टै शौचालय निर्माणको काम थालिएको र यसको लागत करिब ५९ लाख हुने नगरपालिकाका प्राविधिक प्रमुख इन्जिनियर संजयप्रसाद साहले जानकारी गराएका छन्।  

विद्यालय भवनको शिलान्यास गर्दै मेयर कुशवाहाले भवनको अभाव झेलिरहेको आफ्नो गाउँको विद्यालयको अब कायापलट हुने बताएका छन्।  

निर्माण समिति अध्यक्ष पटेलले नब्बे दिनभित्र विद्यालय भवन निर्माणको सम्पूर्ण कार्य सम्पन्न गर्ने गरी काम अगाडि बढाएको र वैशाखको पहिलो हप्तादेखि पठनपाठन गर्ने गरी काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: ५ माघ २०७८ १३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App