८ वैशाख २०८१ शनिबार
शिक्षा

छोराछोरी ‘अनलाइन क्लास’ पढ्दैछन्, कृपया फोन नगर्नू

‘अनलाइन’ र ‘अफलाइन’ले हैरानी

पोखरामा अनलाइन क्लास पढाउँदै समता शिक्षा निकेतनका शिक्षक उमेश रेग्मी (बायाँ)। अनलाइन क्लास पढ्दै एकजना छात्र। तस्बिरः उमेश पुन/नागरिक

कास्कीकोटबाट झरेर पस्र्याङमा बस्दै आएकी सुलोचना लुइँटेलको नजिकका आफन्तलाई आग्रह छ–कृपया बिहान र दिउँसोको समयमा अत्यावश्यक काममा बाहेक फोन नगर्नु। फोनमा गफिनै परे बेलुकी पाँचबजेपछि वा बिदाका दिन गरौंला।  

लुइँटेलले आफन्तलाई यो आग्रह गर्नुको कारण हो–कोरोना संक्रमणको त्रासले गर्दा छोराछोरीको पठनपाठन अनलाइनमार्फत सुरु भएको छ। अनलाइनबाट पठनपाठन चल्दा छोराछोरीले मोवाइल प्रयोग गर्नुपर्छ। पढाई चलिरहेको बेला त्यही मोवाइलमा फोन आउँदा बीचैमा पढाई रोकिन्छ। अनावश्यक वा सानातिना कुरा गर्न फोन गरिरहँदा छोराछोरीका पठनपाठनमा बाधा पर्ने भएकोले आफन्तलाई बेलुकी पाँचबजेपछि मात्र फोन गर्न आग्रह गरेको उनले बताईन्।

‘मेरो माइति र घरतिरका आफन्तले फोन गरिरहनुहुन्छ। सानातिना कुरा गर्न पनि लामो समय गफिन रुचाउने र त्यो बेला छोराछोरीको पढाई अवरुद्ध हुने भएकोले मैले दिउँसोमा फोनै नगर्न भनेकी छु,’ उनले भनिन्, ‘छोराछोरीले मोवाइलमै अनलाइन कक्षा पढिरहेका हुन्छन्। तारन्तार फोन आउँदा त्यसले पढाई नै बीचमै रोकिन्छ। त्यसपछि बच्चाहरु रिसाउँछन । बीचैमा कक्षा अवरुद्ध हुँदा जो कोहीलाई अप्ठेरो लागिहाल्छ।’

घरमा इन्टरनेट भएपछि त म्यासेन्जरमा झनै धेरै फोन आउने गरेको उनले बताईन्। ‘म्यासेन्जरमा फोन आएर हैरान हुन्छ। अनावश्यक कुरा लामो समय गर्ने हुन्छन्। त्यसले कामै रोकिन्छ भने बच्चाको पढाई नै अवरुद्ध हुन्छ,’ उनले भनिन्, ‘बरु राती अबेरसम्म फोनमा कुरा गरौंला, दिउँसो फोन नगर्नु भनेर नजिकका आफन्तलाई भनेकी छु।’  

अत्यावश्यक कामले बाहेक सानातिना कुरा गर्न पनि फोन गर्ने र लामो समय गफिने भएकोले दिउँसोमा फोन नगर्न भनेको उनले बताईन्। ‘माइति र घरबाटै बढी फोन आउने हो। दुवै परिवारका अग्रजलाई दिनमा भन्दा बेलुकीपछि कुरा गरौ भनेकी छु। बाहिरबाट आउने फोन कमै हुन्छन,’ उनले भनिन्। उनका छोराछोरी पस्र्याङस्थित समता शिक्षा निकेतनमा १० र ८ कक्षामा अध्ययनरत छन्।  

कोरोना संक्रमणले गर्दा शैक्षिक संस्था फेरि अनलाइनमा फर्केका छन्। झन्डै चारमहिनादेखि विद्यार्थीकै उपस्थितिमा भौतिक रुपमा भईरहेको पठनपाठन संक्रमण बढेपछि पुन अनलाइनमा फर्केको छ। यसले विद्यार्थी, अभिभावक र शिक्षक सबैलाई झन्झट थपिदिएको छ। ‘पढाई अनलाईनबाट भएपनि परीक्षा भने भौतिक रुपमै भइदिए हुन्थ्यो। त्यसो हुँदा विद्यार्थीको वास्तविक मुल्यांकन हुन्छ,’ सुलोचना भन्छिन्, ‘बच्चाले आफ्ना लागि पढ्ने हो भनेर बुझेमा अनलाइल कक्षा राम्रो हो। बच्चाले सहज नलिने हो भने अनलाइनको पढाई साह्रै दिक्दार हुन्छ। कत्तिको सहज बनाउने भन्ने बच्चामै भर पर्छ।’

कोरोना संक्रमणले गर्दा अहिले विद्यालय पुन अनलाइनमा फर्केका छन्। यसअघि पनि अनलाइन कक्षा पढेका विद्यार्थी पछिल्लो समय भौतिक उपस्थितिमा पढ्न पाउँदा खुसी थिए। तर, पुन अनलाईनमा जानुपर्ने बाध्यताले विद्यार्थी पनि खुसी छैनन्। समता शिक्षा निकेतनकै १० कक्षाका सुशान्त लुइँटेल भन्छन्, ‘पाएसम्म भौतिक पढाई नै राम्रो हो। नजानेको कुरा स्कुलमा शिक्षकसँग सोध्न पाउँदा सहजै बुझिन्थ्यो। तर, अनलाइनमा अलि झन्झट छ। शिक्षकले बुझाउने प्रयास गरेपनि विद्यार्थीलाई केही कठिन हुन्छ।’ 

अनलाईनको पठनपाठनमा बेलाबेला अवरोध आउँदा एकाग्रता भंग हुने गरेको उनले बताए। कहिले बत्ती त कहिले इन्टरनेटको समस्या आइरहँदा बीचबीचमा पढाई छुट्ने डर हने उनले बताए। ‘कोरोनाका कारणले गर्दा नयाँ प्रविधि प्रयोग गर्न त पायौं तर, स्कुलमा जस्तो हुँदै हुन्न,’ उनले भने।  

अर्कि छात्रा आकृति कुमाल पढाई चलिरहँदा अभिभावकको मोवाइलमा फोन आउँदा समस्या हुने बताईन्। ‘एकाग्र मन बनाएर पढिरहेको बेला अभिभावकको फोन बज्छ, फोन बजेपछि अभिभावकले मोवाइल लैजानुहुन्छ। अनि बेलाबेला इन्टरनेट र बत्तीको पनि समस्या पनि थपिन्छ,’ कुमालले भनिन्, ‘अनलाईनमा चाहेजस्तो क्लास हुनै सक्दैन। दिमाग अन्यत्र घुम्छ। हातमा मोवाइल भएपछि अरु कुरा पनि सोचिन्छ।’ अनलाइन कक्षामा शिक्षकको आँखा छल्न सहज हुने उनले बताईन। ‘घरकै माहोलमा बस्नुपर्दा पढाईप्रति एकाग्र मन बनाउन निकै नै गाह्रो हुन्छ। स्कुलमा पढाईमा ध्यान बढी जान्छ,’ उनले भनिन्।  

शिक्षकहरु पनि सकेसम्म भौतिक कक्षा नै उपयुक्त हुने बताउँछन्। अनलाईन क्लासले अभिभावकलाई पनि भार पर्ने गरेको उनले बताए। कहिले अनलाइन त कहिले भौतिक रुपमा पढाई हुँदा अभिभावक पनि दोधारे बनाएको समताका संयोजक उमेश रेग्मी बताउँछन्। ‘भौतिक उपस्थिति  हुँदा विद्यार्थीमा अलिअलि पढ्ने माहोल बनिसकेको थियो, त्यो बिग्रने अवस्था भयो,’ रेग्मीले भने, ‘अभिभावक र बच्चामा पनि अन्योल छाएको छ। यसले गर्दा नपढ्ने प्रवृत्ति बढ्छ।’  

अनलाइन क्लासले बालबालिकालाई पढ्नुपर्ने बाध्यता छुट दिने उनले बताए। ‘कुनै न कुनै बहानामा विद्यार्थी पढ्न नचाहन सक्छ,’ उनले भने। रेग्मीको अनुभवमा अनलाईन र भौतिक कक्षा आलोपालो रुपमा चल्दा अभिभावक पनि अन्योलमा पर्ने गरेका छन्। भौतिक कक्षा सुरु भएपछि खर्च कटौती गर्ने भन्दै कतिपय अभिभावकले बीचमा इन्टरनेट हटाएपनि अहिले फेरि जडान गर्न बाध्य भएको उनले बताए।  

पोखराका अहिले अधिकांश विद्यालयले अनलाइनमार्फत पठनपाठन सुरु गरेका छन्। कतिपयले जाडो बिदा गरेकोले केहीदिनपछि अनलाइनबाटै पढाउने योजना बनाएका छन। निजी विद्यालयको छाता संस्था प्याब्सन कास्कीका अध्यक्ष मथुरा पौडेल भछन्, ‘कहिले अनलाइन त कहिले अफलाइनले विद्यार्थी, अभिभावक र शिक्षकमा पनि समस्या थपिएको छ। तर, यो बाध्यताबाट हामी पर भाग्न सकिएन।’  

समय अनुसार चल्न सबै बाध्य भएको उनले बताए। ‘संक्रमणको त्रास समस्या थपिएको छ। समय अनुसार नचलि भएन,’ उनले भने। संक्रमणको त्रास सर्वत्र हुँदा अनलाइनमा जानुपर्ने बाध्यता भएको उनले बताए। ‘पठपाठनमा समस्यै समस्या छन। कम्तिमा बालबालिका घरमा रहँदा निस्कृय नहुन् भनेर अनलाइनलाई जोड दिनुपरेको हो,’ पौडेलले भने।

प्रकाशित: ५ माघ २०७८ ०८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App