७ वैशाख २०८१ शुक्रबार
शिक्षा

उदयपुरका विद्यालयहरु माघ १५ गतेसम्म बन्द

स्वास्थ्य कार्यालय उदयपुर। तस्बिरः महेश्वर

पछिल्लो पटक फैलिँदो कोभिड ओमिक्रोन भेरिएन्टबाट बालबालिकालाई बचाउन उदयपुरका विद्यालयहरु आउँदो माघ १५ गतेसम्मका लागि बन्द गरिएका छन्। कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को निर्देशन र जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिसिएमसी) को निर्णय अनुसार सदरमुकाम त्रियुगा नगरपालिकालगायत सबै स्थानीय तहले माघ १५ गतेसम्म पठनपाठन रोक्ने निर्णय गरेका हुन्।  

ओमिक्रोनको बढ्दो संक्रमणको जोखिमबाट बालबालिकालाई बचाउन भएको निर्देशन अनुसार कुनै स्थानीय तहले पुस २७ देखिनै विद्यालय बन्द गराएका छन् भने कुनैले माघ २ गतेदेखि लागू हुने गरी पठनपाठन रोकेका छन्। सदरमुकाम त्रियुगा नगरपालिकाले भने माघ २ गतेदेखि बन्द गराएको छ। त्रियुगाले परीक्षा सञ्चालन भईरहेका बाहेक विद्यालयमा १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको नगरप्रमुख बलदेव चौधरीले बताए। परीक्षा भईरहेका विद्यालयमा भने दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न निर्देशन दिएको उनले बताए।  

उदयपुृरमा पनि कोभिड संक्रमण धमाधम देखिन थालेको तथा सदरमुकाम भएकाले त्रियुगा नगरक्षेत्र थप जोखिमपूर्ण मानिन्छ। ३ दिनयता उदयपुरमा ३० जनामा कोभिड पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ। उनीहरु सबैमा एन्टीजेन परीक्षण गर्दा कोभिड संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दासले बताएका छन्।  

संक्रमण बढ्न नदिन जिल्ला प्रशासन कार्यालय उदयपुरले पुस २७ गते नै पठनपाठन रोक्न निर्देशन दिएको थियो। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बैठक राखेर कोभिडको जोखिमबाट सतर्क रहन र बालबालिकालाई बचाउन पठनपाठन रोक्न तथा अनिवार्य मास्क लगाउन, २५ जनाभन्दा बढी जमघट नगर्न, अनावश्यक भेला नगर्न निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए।  

त्रियुगासँगै छिमेकी नगरपालिकाहरु चौदण्डीगढी, बेलका र कटारी नगरपालिकाले पनि माघ १५ गतेसम्मलाई पठनपाठन रोक्ने निर्णय गरिसकेका छन्। चौदण्डीगढीले सिसिएमसी र डिसिसीएमसीको निर्णयसँगै पुस २७ गतेदेखि पठनपाठन रोकेको नगरप्रमुख खगेन्द्र राईले बताए। मेयर राईका अनुसार गतवर्ष धेरै नगरवासीलाई कोभिड संक्रमण भएको र केहीको ज्यानसमेत गएका कारण यसवर्ष बेलैमा सचेत गराएको हो।

बेलकाका विद्यालयहरु पनि सिसिएमसी र डिसिसिएमसीको निर्णयसँगै २८ गतेदेखि नै बन्द भएको नगरपािलकाका प्रवक्ता मोहन घिमिरेले बताए। गाउँपालिकाहरु उदयपुरगढी, रौतामाई, ताप्ली र लिमचुङब्ङमा पनि विद्यालयहरु बन्द गर्ने तयारी भईरहेको छ। ती स्थानीयतहहरुमा हालसम्म कोभिड संक्रमण भने नदेखिएको बताइएको छ। रुघाखोकी, ज्वरो जस्ता कोभिडका लक्षण भएकाहरु भने गाउँघरमा जताततै रहेको उनीहरुले बताएका छन्।

प्रकाशित: १ माघ २०७८ ०७:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App