coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

तीन महिनादेखि ३२ जना शिक्षक-कर्मचारीको तलब रोक्का

पानपा ७ स्थित जीवनज्योती मावि।

गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीस्थित जीवनज्योति माविका शिक्षक, कर्मचारीहरु गरी ३२ जनाको तलब तीन महिनादेखि रोकिएको छ। प्रधानाध्याकलाई पटक–पटक सोधेको स्पष्टिकरणको जवाफ नदिँदा खाता रोक्का गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ।

शिक्षा शाखाको परिपत्रलाई बारम्बार अटेरी गरेकाले खाता रोक्का गरिएको शिक्षा शाखाका प्रमुख बाबुराम काराखेतीले बताए।

गत वर्ष र यो वर्षको अहिलेसम्म विद्यार्थीलाई दिवा खाजा नखुवाएको, गत दशैँको समयमा शिक्षकलाई तलब नखुवाएकोे बारेमा शिक्षा शाखाले स्पष्टिकरण माग गरेको जनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नम्बर ७ का अध्यक्ष बसन्त श्रेष्ठले करिब नौ सय जना विद्यार्थी रहेको विद्यालयमा असार यता व्यवस्थापन समिति गठन गर्न प्रअले चासो नदिएको बताए। ‘विद्यालयमा धेरै समस्या छन्, तर समाधान गर्न चासो दिइएको छैन,’ उनले भने, ‘गत वर्ष विद्यार्थीलाई दिवा खाजा नखुवाएर बजेट फिर्ता गरेको, यस वर्ष पनि अहिलेसम्म विद्यार्थीलाई दिवा खाजा नखुवाइएको, अडिट रिपोर्ट समयमै पेश नगरेको, अझै दुई वर्षको अडिट गर्न बाँकी रहेको, समयमै काम नगर्ने, हिसाबकिताब पारदर्शी नराखेको, स्थायी कर्मचारी हुँदाहुँदै करारको कर्मचारीले गल्ती गर्दा पनि उसैलाई आर्थिक अधिकार दिएको, वडा र नगर शिक्षाको निर्देशन अटेर गरेको जस्ता आरोप प्रधानाध्यापकमाथि छ।’

विद्यालयले करार कर्मचारीको सट्टा स्थायी कर्मचारीको हस्ताक्षरमा बैंक खाता संचालन गरेको खण्डमा शिक्षकहरुलाई तलब खुवाउन सक्नेछ। नयाँ कर्मचारीको नाममा बैंक खाता खोल्ने निर्णय नगरी स्पष्टिकरण सोधिएका कर्मचारीबाटै खाता खुलाउनुपर्ने अडान प्रधानाध्यापकको छ। प्रअले अडान नछाड्दा तलब खुवाउने मिति पर धकेलिँदै गएको नगरपालिकाले जनाएका छ। शिक्षा शाखाले गुरुङलाई स्पष्टिकरण सोधेको र चित्तबुझ्दो जवाफ नआएपछि खाता रोक्का गरेको जनाएको छ। पारदर्शी रुपमा विद्यालयको हिसाबकिताब नराखेको आरोप लेखापाललाई पनि लागेको थियो।  

शिक्षकहरुले भने तलब खुवाउन विद्यलय प्रशासन र शिक्षा शाखा उत्तिकै जिम्मेवार हुुनुपर्ने बताएका छन्। रोक्का खाता फुकुवा गरिदिन माग गर्दै प्रधानाध्यापक बद्रीबहादुर पाण्डेको नेतृत्वमा शिक्षकहरुले शिक्षा शाखाका प्रमुख बाबुराम काराखेतीलाई केही दिन अघि ज्ञापन पत्र बुझाएका थिए। आफ्नो र विद्यालयका सहायक कर्मचारी सुशीला गुरुङको संयुक्त हस्ताक्षर रहने गरी कृषि विकास बैंक ठाँटीपोखरी शाखामा रहेको खाता रोक्का भएको प्रअ पाण्डेले जनाए।

विद्यालयमा करारमा कार्यरत कर्मचारी सुशीला गुरुङको हस्ताक्षर रोक्का गरेर स्थायी कर्मचारीको हस्ताक्षरबाट खाता चलाउन भन्दै नगरपालिकाले खाता रोक्का गरेको मेयर दिपकबाबु कंडेलले बताए।

प्रकाशित: १ माघ २०७८ ०६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App