७ वैशाख २०८१ शुक्रबार
शिक्षा

शिक्षामा लगानी बढाउन पहल गर्छुः प्याब्सन प्रदेश अध्यक्ष रेग्मी

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को प्रदेश २ अध्यक्ष दीपक रेग्मीले शिक्षामा लगानी बढाउन आफूले पहल गर्ने बताएका छन्। प्रदेश २ अध्यक्षमा निर्वाचित भएपछि नागरिक दैनिकसित कुराकानी गर्दै अध्यक्ष रेग्मीले शिक्षा र साक्षरतामा देशको सबैभन्दा पछाडि परेको प्रदेश २ मा शिक्षाको क्षेत्रमा लगानी बढाउन सबै तहको सरकारसित पहल गर्ने बताएका हुन्।

प्रदेश २ का अभिभावकहरु राम्रो शिक्षाको लागि प्रदेश बाहिर आफ्ना बालबालिकालाई पढ्न पठाइरहेको यथार्थ आफूले बुझेको बताउँदै नवनिर्वाचित अध्यक्ष रेग्मीले शिक्षाको लागि पलायन हुँदा ठूलो रकम पनि बाहिर गइरहेको आफूहरुले बुझेको बताए। सामुदायिक तथा संस्थागत दुवै विद्यालयमा प्रदेशबाहिर विद्यार्थीहरु जाने गरेको बताउँदै अध्यक्ष रेग्मीले यसलाई रोक्नु एउटा चुनौती रहेसँगै यस प्रदेशको शिक्षाप्रति विश्वास जमाउनु पनि एउटा जिम्मेवारी रहेको बताए।

सरकार र निजी क्षेत्र मिलेर प्रदेश २ लाई शिक्षाको हबको रुपमा विकास गर्न आफूहरु लागि पर्ने प्रतिबद्धता व्यक्त गरे। योजनाबद्ध ढंगले सरोकारबालाहरुसित छलफल गर्दै आफूहरु प्रदेशको शैक्षिक गरिमा बढाउन हातेमालो गर्ने बताएका छन्।

प्रदेशको परीक्षा प्रणालीले पनि शिक्षालाई धराशायी बनाएकोले परीक्षा प्रणालीलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताउँदै अध्यक्ष रेग्मीले सम्बन्धित निकायसित सहकार्य गरेर प्रदेशको परीक्षा प्रणालीमा पनि सुधार गर्ने प्रयास रहने स्पष्ट पारेका छन्।

रौतहटको चन्द्रनिगाहपुरस्थित बाल निकेतन माध्यमिक विद्यालयका कार्यकारी निर्देशकसमेत रहेका रेग्मीले यसअघि प्याब्सनको प्रदेश वरिष्ठ उपाध्यक्षको रुपमा रहेर अनुभव संगालेका छन्। पहिले पनि अनेरास्ववियूको केन्द्रीय सदस्यको रुपमा जिम्मेवारी सम्हालेका रेग्मी विभिन्न संघसंस्थामा निकै सक्रिय रहेका छन्।

कतिपय सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पढाइ सुरु गरिएको प्रयासलाई राम्रो बताउने रेग्मीले निशुल्क शिक्षा हुनुपर्नेमा कतै कतै शुल्क उठाइरहेकोप्रति दुःख व्यक्त गरेका छन्। अबको दिनमा संस्थागत विद्यालयसित सामुदायिक विद्यालयले पनि प्रतिस्पर्धा गर्नुपर्ने बताउँदै जुन विद्यालयले गुणस्तर दिन्छ, अभिभावकले आफ्रना बालबालिकालाई त्यही पढाउने गरेको स्पष्ट पारेका छन्।

रेग्मीले संचालन गरेको विद्यालयमा एक हजारभन्दा बढी बालबालिका अध्ययनरत रहेको जानकारी गराएका छन्। सस्तोमा गुणस्तरीय शिक्षा दिइरहेको बताउँदै नवनिर्वाचित अध्यक्ष रेग्मीले कक्षा १२ सम्म आफ्नो विद्यालयमा पढाइ हुने गरेको खुलासा गरेका छन्।

प्याब्सन सामुदायिक विद्यालयको संस्थापकको लागि मात्र नभई शिक्षक, अभिभावक र बालबालिकाको हकमा पनि काम गर्ने संस्था भएकोले अबको दिनमा यसको परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता पनि अध्यक्ष रेग्मीले व्यक्त गरेका हुन्।

प्रकाशित: २९ पुस २०७८ १०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App