coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

प्राविधिक तथा व्यावसायिक विषय पढाउने शिक्षक उत्पादन गर्दै केयु

काठमाडौं विश्वविद्यालय (केयु) ले विद्यालय तहमा प्राविधिक तथा व्यावसायिकविषय पठनपाठन गराउने शिक्षक उत्पादन गर्ने भएको छ। नेपालमै पहिलोपटक शिक्षाशास्त्र संकायमा सिभिल इन्जिनियर र आइटी विषयको जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले स्कुल अफ एजुकेसन संकायमा बिटेक इन सिभिल र आइटीको नयाँ कोर्स पढाउने तयारी पूरा गरेको छ।

सरकारको नीति तथा कार्यक्रममै विद्यालय तहमा ७० प्रतिशित प्राविधिक तथा व्यावसायिक सीपमूलक शिक्षा दिने उल्लेख छ। विद्यालय तहमा सोही विषय पढाउने जनशक्तिको अभाव देखिएकाले केयु स्कुल अफ एजुकेसनले नेपालमै पहिलोपटक बिटेक एड इन सिभिल र बिटेक एड इन आइटीको पठनपाठन सुरु गराउन लागेको डिन प्राध्यापक डा. बालाचन्द्र लुइँटेलले बताए।

लुइँटेलका अनुसार चार वर्षे बिटेक इन सिभिल इन्जिनियर र आइटी आगामी नयाँ शैक्षिक सत्र २०२२ को फेब्रुअरी पहिलो सातादेखि सुरु हुन्छ। यो कोर्स अध्ययन गर्न विद्यालय तहमा प्राविधिक विषयमा कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्छ।

विद्यार्थीले बिटेक इन एड अध्ययन गर्न विज्ञान पढेको वा सिटिइभिटीतर्फ तीन वर्षे सिभिल वा आइटीमा डिप्लोमा गरेको हुनुपर्छ। ‘विश्वविद्यालयको विद्या परिषद्ले तीन साताअघि मात्र कोर्स पास गरिसकेको छ,’ डिन लुइँटेलले नागरिकसँग भने, ‘चार वर्षे कोर्समा पूर्ण रूपमा सीपमूलक व्यावहारिक शिक्षा दिइन्छ। विद्यार्थीले अध्ययनकै क्रमममा सिभिलतिर छन् भने निर्माण क्षेत्रमै गएर काम गर्नुपर्छ।’

उनले थपे, ‘यदि आइटीतर्फ बिटेक इन एड गर्ने हो भने कम्प्युटर कम्पनीहरूमा गएर सफ्टवेयरतर्फ अन द जब ट्रेनिङ गर्नुपर्छ।’ यसले विद्यालय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा पढाउने दक्ष र योग्य शिक्षक तयार पार्ने विश्वविद्यालयको लक्ष्य हो।

हाल देशभरि कक्षा १२ सञ्चालन भएका १२ हजार सामुदायिक विद्यालय छन्। सरकारले ७० प्रतिशत प्राविधि शिक्षा पढाउने नीतिअनुसार अघि बढे देशभरि करिब २४ हजार प्राविधिकतर्फ शिक्षक आवश्यक पर्छ।

‘इन्जिनियरिङ अध्ययन गरेका वा आइटी इन्जिनियर पढेकाहरू सबै आ–आफ्नो काममा रमाएका छन्। अधिकांश राम्रो कमाइको लोभमा बिदेसिएका छन्,’ डिन तथा प्राविधिक शिक्षाविद् लुइँटेलले भने, ‘सरकारले विद्यालय तहमा ९–१२ मा सिभिल,आइटी,एग्रिकल्चारलगायत प्राविधिक विषय सुरु गरेको छ भने अर्कातर्फ सिटिइभिटीले पनि एसइईपछि नै तीन वर्षे डिप्लोमा कोर्स पठनपाठन गराउँदै आएको छ।’ उनी थप्छन्, ‘तर विद्यालयमा यी विषय पढाउने शिक्षकहरू नै छैनन्। त्यही भएर काठमाडौं विश्वविद्यालले अध्ययनअनुसन्धान गरेरै शिक्षा संकायतर्फ सिभिल र आइटिमा शिक्षक उत्पादन गर्ने उद्देश्य लिएको हो।’

पहिलो चरणको पठनपाठनको सुरुवातका लागि विश्वविद्यालयले प्रदेश २ को जनकपुर र प्रदेश ३ को सिन्धुलीबाट सुरु गर्ने तयारी गरेको डिन लुइँटेलले बताए। पहिलो ब्याचमा ३०/३० जनाको सिट विश्वविद्यालयले तोकेको छ।

समुदाय र पालिकासँग सहकार्य गरी पालिकाले छानेको शैक्षिक संस्थामा कोर्स सञ्चालन गर्ने विश्वविद्यालयको तयारी छ। ‘इन्जिनियरहरूले स्कुलमा गएर पढाउँदैन,’ उनले भने, ‘विद्यालयमा ओभरसियर,डिप्लोमा र प्रिडिप्लोमा पढाउने शिक्षकहरू नै छैनन्। शिक्षकहरूलाई प्राविधिक सीप,ज्ञान दिन सम्बन्धित विषयमा जस्तै सिभिलले सिभिलमै र आइटीले आइटीमै ८० क्रेडिटको सम्बन्धित विधामा अध्ययन गर्नुपर्ने कोर्स तयार पारिएको छ।’

सर्वसाधारणलाई नै लक्षित गरेर चार वर्षे कोर्स करिब ५ लाखमै पूरा गराउने तयारी विश्वविद्यालयले गरेको उनले बताए। ‘बिस्तारै सबै प्रदेशका कार्यक्रम सञ्चालन गर्ने पनि विश्वविद्यालय स्कुल अफ एजुकेसनको लक्ष्य छ,’ उनले भने। चार वर्षे कोर्समा शिक्षकले सम्बन्धित विषयको ज्ञान, सीप पाउन सक्ने, पढाउन सक्ने र समुदायमै बसेर आफ्नो विषयमा काम पनि गर्न सक्ने क्षमतावान् प्राविधिक शिक्षक उत्पादन हुने डिन लुइँटेलको दाबी छ।

‘केयुले भर्खरै आफ्नो २७औं दीक्षान्त समारोह सम्पन्न गरेको छ। यही अवसरमा विश्वविद्यालयले शिक्षा संकायमा पनि बिटेक इन सिभिल र आइटीको कोर्स सुरु गर्ने तयारी गरेको छ,’ डिन लुइँटेलले नागरिकसँग भने,‘विश्वविद्यालयले शिक्षाशास्त्र संकायबाटै प्राविधिक शिक्षक उत्पादन गर्ने नयाँ र उदाहरणीय काम थालेको छ।’

प्रकाशित: २ पुस २०७८ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App