८ वैशाख २०८१ शनिबार
शिक्षा

महेन्द्र क्याम्पसको मोही जग्गा प्रकरणः विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुखको कुर्सी जलाए

महेन्द्र क्याम्पस धरानका प्रमुखको कुर्सी जलाएर नाराबाजी गर्दै विद्यार्थीहरु। तस्बिर: रोहित राई

क्याम्पस प्रशासनको कमजोरीको कारण करोडौं मूल्यको जग्गा मोहीको बहानामा भूमाफियाले हत्याउन लागेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस धरानका विद्यार्थी संगठनहरु आन्दोलित भएका छन्।

विभिन्न विद्यार्थी संगठनहरुले क्याम्पसको जग्गा जोगाउन संयुक्त संघर्ष समिति गठन गर्दै आन्दोलन सुरु गरेका हुन्। उनीहरुले प्रशासन र क्याम्पस प्रमुखको लापरबाहीको कारण भूमिसुधार तथा मालपोत कार्यालयबाट विपक्षमा फैसला भएको भन्दै सोमबार क्याम्पस प्रमुखको कुर्सी पनि जलाएका छन्। विद्यार्थीहरुले क्याम्पस प्रमुख दामोदर भण्डारीको कार्यकक्षबाट बाहिर कुर्सी निकालेर जलाएका हुन्। उनीहरु प्रशासन, क्याम्पस प्रमुख, जनप्रतिनिधि र भुमाफियाविरुद्ध नाराबाजीसमेत गरेका छन्।

विद्यार्थी नेता बुद्रोस लिम्बूले क्याम्पस प्रशासनले पटक पटक तारेख बुझेको र ३ पटक पेशी तोकिएको अवस्थामा पनि मुद्दाको वहस गर्न वकिल नपठाएकोले प्रशासन र प्रमुखबाट लापरबाही भएको आरोप लगाए। उनले भने,‘पटक पटक तारेख बुझेर मुद्दाको पेशी पनि चढेको रहेछ। तर पेशीमा बहस गर्न वकिल पठाएको छैन। किन पठाएन? यसमा हामीलाई शंका छ। क्याम्पसकै लापरबाहीले विपक्षमा फैसला गयो।’

विद्यार्थी संघर्ष समितिले यही बिषयमा भोलि (मंगलबार) सर्वपक्षीय छलफल आयोजना गर्ने पनि निर्णय गरेको छ। सोही छलफलबाट आवश्यक निर्णय गरेर संघर्षको कार्यक्रम अघि बढाउने निवर्तमान स्ववियू सभापति सागर चेम्जोङले बताए। उनले पनि क्याम्पसको सम्पत्ति गुम्ने अवस्थामा पुग्नुमा क्याम्पस प्रशासनकै बेवास्ता मुख्य कारण भएकोले आन्दोलन गर्न बाध्य भएको बताए।  

क्याम्पसले २०३४ सालमा धरान ११ स्थित स्वास्तिकचोकमा कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा खरिद गरेको थियो। उक्त जग्गाको स्रेस्तामा मोही डम्बरबहादुर घिमिरे भए पनि उनलाई त्यसबेला चित्त बुझाएर नै जग्गा किनबेच भएको जानकारहरुको भनाई छ। तर, स्रेस्ताबाट मोहीको लगतकट्टा नहुदा अहिलेसम्म पनि मोही कायमै छन्। यद्यपी, जग्गामा मोही पक्षको भोगचलन छैन। क्याम्पसले घेराबारा गरेर भौतिक संरचनाहरु निर्माण गरेको छ।

मोही घिमिरेको मृत्यु भइसकेको छ भने करिब ३ वर्षअघि उनका छोरा यज्ञबहादुर क्षेत्रीले मोही हक आफ्नो नाममा नामसारी गर्न भूमिसुधार कार्यालयमा निवेदन दिएका थिए। उनलाई निवेदन दिन लगाउन भूमाफियाहरुको खेल रहेको बताइदै आएको छ। कानुनः मोहीले ५० प्रतिशत जग्गा पाउने र क्याम्पसबाट मोहीले पाउने यो जग्गाको मूल्य १० करोड बढी भएकोले भूमाफियाहरु सक्रिय भएका हुन्।

गत वर्ष धरान उपमहानगरपालिकाले जोतभोगको सर्जमिन मुचुल्का गरेर पठाएको सक्कल फाइल नै भूमिसुधारमा नपुगी बीचमै गायब भएको थियो। मोही हक नामसारीको निवेदनपछि क्याम्पसले मोही लगत कट्टाको निवेदन दिए पनि भूमिसुधारले क्याम्पसको विपक्षमा फैसला गरेको छ। भूमिसुधारले गत असोज २५ गते मोही हक छोरा यज्ञबहादुरको नाममा नामसारी गरिदिने फैसला गरेको थियो।

प्रकाशित: २० मंसिर २०७८ ११:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App