coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

‘अब पढाउने होईन, सिकाउने वातावरण तयार गरौं’

पोखरा बहुमुखी क्याम्पसले ३५औं वार्षिकोत्सव मनायो

पोखरा बहुमुखि क्याम्पसको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रम। तस्बिरः नागरिक

पश्चिमाञ्चल क्षेत्रकै पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले ३५औं वार्षिकोत्सव मनाएको छ। पोखराको नयाँबजारमा संचालित यो क्याम्पसले वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको थियो।  

सप्ताहव्यापी कार्यक्रममा अवसरमा विभिन्न खेलकुदका गतिविधि, साहित्यिक कार्यक्रम, सरसफाई, रक्तदान लगायतका कार्यक्रम गरेको छ। वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले विद्यार्थीलाई पढाउने भन्दा पनि सिकाउने बेला भएको बताए। सिकाउने वातावरण तयार पार्नु नै शैक्षिक संथाको मुख्य भूमिका हुने उनले बताए।

‘अबको समय पढाउने मात्र होईन, सिकाउने पनि हो। कुनै बेला पढाउनुलाई ठुलो काम मानिन्थ्यो। तर, अब सिकाउने वातावरण तयार पार्नुलाई मुख्य मानिन्छ,’ उनले भने। सुवेदीले विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालय तहका शिक्षक र विद्यार्थीका लागि वृत्तिका धेरै कार्यक्रम ल्याउने गरेको बताए। विद्यार्थी र शिक्षकको वृत्तिका लागि सहयोग गर्न आयोग सधैं तयार रहेको उनले बताए। यस्ता शैक्षिक संस्था जन्मिनु नै ठुलो हुने उनले बताए। ‘जन्मिएको दिन सबैका लागि महत्वपूर्ण छ। किन जन्मिए भनेर संस्थाले थाहा पाउनु झनै महत्वपूर्ण हुन्छ,’ उनले भने।  

पृथ्वीनारायण क्याम्पसले माग थेग्न नसकेको भनि शिक्षासेवीको पहलमा २०४४ सालमा पोखराको बगरबाट शैक्षिकयात्रा सुरु गरेको पोखरा बहुमुखी क्याम्पस २०५९ मा नयाँबजारमा सरेको थियो। यो क्याम्पसले अहिले दाताहरुकै सहयोगका भरमा सुविधासम्पन्न भवन पनि बनाइरहेको छ। क्याम्पस प्रमुख शिशुकला पराजुलीका अनुसार यो क्याम्पसमा अहिले मानविकी र व्यवस्थापन संकायमा अध्यापन हुन्छ।  

चारवर्षे शैक्षिक कार्यक्रममा झन्डै ४ सय जना विद्यार्थी अध्ययनरत रहेको प्रमुख पराजुलीले बताईन। क्याम्पस अहिले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गर्ने प्रक्रियामा अघि बढिरहेको प्रमुख पराजुलीले बताइन्। प्रमुख पराजुलीले शैक्षिक गुणस्तर कायम गर्नमा क्याम्पस प्रतिवद्ध रहेको बताईन।  

क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले सामुदायिक संस्थालाई सबैको सहयोग र मायाको खाँचो रहेको बताए। समुदायकै मायामा यस्ता शैक्षिक संस्था चल्ने उनले बताए। उनले अहिले ठुलो लागतमा क्याम्पस भवन बनाउन थालिएको र आगामि दिनमा अरु शैक्षिक कार्यक्रम पनि संचालन गरिने जानकारी दिए। भवन बनाउन अध्यक्ष लालचन आफैले ५० लाख रुपैयाँ भन्दा बढी रकम चन्दा दिएका छन्।  

करिब नौ करोड रुपैयाँ लागतमा अहिले क्याम्पसले भवन बनाईरहेको छ। आगामि शैक्षिकसत्र देखि आफ्नै भवनमा पठनपाठन सुरु गर्ने योजना रहेको अध्यक्ष लालचनले बताए। वार्षिकोत्सवको अवसरमा विभिन्न परीक्षामा सर्वाेत्कृष्ट रिजल्ट ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो।  

प्रकाशित: १५ मंसिर २०७८ ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App