८ वैशाख २०८१ शनिबार
शिक्षा

संभव नेपालद्वारा दुर्गमका विद्यार्थीलाई न्यानो पोशाक बितरण

विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गर्दै संभव नेपालका अध्यक्ष खत्री लगायत। तस्बिर: नागरिक

संभव नेपाल नामक गैरसरकारी संस्थाले गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १, २ र ३ का विद्यार्थीलाई ट्रयाकसुट, टोपी, होमवर्क डायरी र स्कुल ब्याग बितरण गरेको छ। संभव नेपालका संस्थापक अध्यक्ष एवं कांग्रेस महासमिति सदस्य प्रेमकुमार खत्रीले सोमबार विद्यालयमै पुगेर उक्त सामग्री विद्यार्थीलाई हातहातमा थमाएका हुन्।  

‘दुर्गम भएकाले सबै विद्यालयमा पुग्न सकिएन, वरपरका विद्यालयलाई एकै ठाउँमा बोलाएर बितरण गरियो’ खत्रीले भने ‘बाँकी वडाका विद्यालयलाई पनि छिट्टै बितरण हुनेछ।’ धार्चे गाउँपालिका भित्रको २५ वटा विद्यालयका चार हजार विद्यार्थीका लागि पोशाक, झोला, डायरी, टोपी बितरण गरिने उनले बताए।  

‘मैले पनि सामुदायिक विद्यालयमा पढेको हुँ। बोर्डिङ स्कुलमा पढ्न सक्नेले मात्रै एकै खालको झोला, डायरी बोक्न सक्ने, एकै खालको पोशाक लगाउन सक्ने जस्तो देखिएको छ। शिक्षामा बिभेद झल्किएको महशुस भएर एउटा प्रतिकको रुपमा मैले सबै सामुदायिक विद्यालयलाई पोशाक र झोला, डायरी दिएको हुँ।’ बितरण गरिएको डायरीले विद्यार्थी, शिक्षक र अभिभाबकलाई पनि शिक्षाप्रति रुचि जगाउने उनले बताए। 

साथै उनले शिक्षा र स्वास्थ्य क्षेत्र सुधार गर्न सकियो भने दक्ष जनशक्ति उत्पादन हुने भएकाले आफ्नो पहिलो प्राथमिकता त्यसतर्फ रहेको बताए। विद्यालय तहमै पुगेर उनले समस्याहरुका बारेमा जनप्रतिनिधि, शिक्षक, अविभाबकसँग पनि छलफल गरेका थिए। चुमनुब्री र धार्चे गाउँपालिकाको लागि बाक्लो खालको ट्रयाकसुट र टोपी सहित सामग्री रहेको कार्यक्रम व्यवस्थापक उत्तम अधिकारीले बताए। आरुघाट, भिमसेन थापा गाउँपालिका भित्रका विद्यालयका लागि भने टोपी बाहेकका अन्य सबै सामग्री बितरण गरिएको छ।  

सोमवार भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले विद्यार्थीको मनोबल उच्च राख्न, विद्यालय जाने बतावरण सिर्जना संभव नेपालको सहयोगले मद्धत पुग्ने बताए। ‘विद्यालय बिचैमा छाड्ने दर पनि घट्न सक्छ, विद्यालय जाने बतावरण बन्दै जानेछ’ अध्यक्ष गुरुङले होमवर्क डायरीको अभ्यास नयाँ हुने बताउँदै भने ‘विद्यालयमा आउने यस्ता सहयोगले गुणस्तर बढाउनमा पनि मद्धत गर्छ।’ स्थानीय सरकारकालागि संस्थाले राम्रो सर्पोट गरेको उनले बताए।  

कार्यक्रममा कांग्रेस महासमिति सदस्य हरिबहादुर घलेले संभव नेपालले उत्तरी दुर्गम भेगका विद्यालय जाडोको बेला न्यानो लुगा दिएर पुण्यको काम गरेको बताए। ‘शिक्षा, स्वास्थ्य, समाजिक क्षेत्रमा संभव नेपालले उत्तरी गोरखामा ठुलो लगानी गरेको छ’ पोशाक बितरण कार्यक्रममा उनले भने ‘यसबाट प्रतिफल विद्यालयले, यहाँका स्थानीयले निकाल्नुपर्छ।’ कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर १ का सह सचिव पुष्कर गुरुङ, वडा अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक लगायतले धारणा राखेका थिए। सबैले  संस्थाले गरेको सहयोगको प्रशंसा गरे।

 

 

 

प्रकाशित: ६ मंसिर २०७८ १३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App