७ वैशाख २०८१ शुक्रबार
शिक्षा

प्राविधिकतर्फ आठ वर्षपछि नयाँ पाठ्यक्रम

भक्तपुरको वागीश्वरी माविको प्राविधिक धारतर्फका विद्यार्थीहरु

सरकारले विद्यालय तहमा कक्षा ९–१२ मा प्राविधिक शिक्षा लागू गरेको आठ वर्षपछि कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गरेको छ। शैक्षिक सत्र सुरु भएको तीन महिनापछि कार्यान्वयनमा आएको कक्षा ११ मा प्राविधिक तर्फको पाठ्यक्रमले बढीभन्दा बढी प्राविधिक शिक्षालाई केन्द्रित गरेकोले उत्पादित जनशक्ति विश्वबजारमै बिक्ने क्षमता भएको विज्ञहरुको ठहर छ।

तिहारअघि कार्यान्वयनमा आएको कक्षा ११ को इन्जिनियरिङ्ग तर्फको पाठ्यक्रमले विषयगततर्फ ३ क्रेडिट आवर र विद्यागततर्फ चार क्रेडिट आवर समेटेकोले इन्जियिनरिङ्गतर्फ उत्पादित जनशक्ति दक्ष र सक्षम हुने प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय समाज नेपालका अध्यक्ष राम हाडाको ठहर छ।

विद्यालय तहबाटै दक्ष र क्षमतावान् जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित सरकारले विसं ०७० सालदेखि विद्यालय तहमा कक्षा ९–१२ मा प्राविधिक धार सुरु गरेको थियो। यस वर्षको नयाँ शैक्षिक सत्र कत्तिक २२ गते सुरु भएको थियो। सुरुमा नयाँ वा पुराना पाठ्यक्रममध्ये कुन पढाउनेबारे अन्योल भएपनि नयाँ पाठ्यक्रम लागू भएपछि त्यो अन्योल हटेको अध्यक्ष हाडाले बताए।

कक्षा ९–१२ मा सिभिल, कम्प्युटर, इलेक्ट्रीकल, एग्रीकल्चर र एनिमल साइन्समा इन्जिनियरिङ्गको पठनपाठन हुँदै आएको छ। ‘विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सुरु भएको छ। नयाँ पाठ्यक्रम कार्यान्वयन त भयो, शिक्षक र प्रधानाध्यापकहरु तयार हुन सकेका छैनन्,’ अध्यक्ष हाडाले नागरिकसँग भने, ‘अब पाठ्यक्रम विकास केन्द्रले तत्काल शिक्षक निर्देशिका निकाली शिक्षक तथा प्रअहरुलाई प्रबोधिकरण गर्नुपर्छ। मंसिरभित्र प्राविधिक विषयका शिक्षकहरुको हातहातमा पाठ्यपुस्तक र शिक्षण सामाग्री पुग्नुपर्छ।’ उनले थपे, ‘मूल्याँकनको लागि शिक्षकको हातमा यही मंसिर १५ गतेभित्र विशिष्टीकरण तालिका, उत्तरपुन्जिका र नमुना प्रश्नपत्र पुर्याउनु पर्छ।’

अध्यक्ष हाडा भक्तपुरको श्रीपद्म माविका प्रअ हुन्। उनको स्कुलमा कक्षा ११ मा सिभिल इन्जिनियरिङ्ग विषयको पठनपाठन हुन्छ।

बाफलमा रहेको ज्ञानोदय माविका प्रअ नातिकाजी महर्जनले नयाँ पाठ्यक्रमले विषयगतलाई घटाएर विद्यागतमा क्रेडिट आवर बढाइ प्राविधिक शिक्षालाई प्राथमिकता दिएको प्रष्ट भएको बताए। पाठ्यक्रमले अंग्रेजीबाहेक नेपाली, भौतिक विज्ञान, रसायन शास्त्र  र गणितमा ३ क्रेडिट आवर अर्थात् वार्षिक ९६ घन्टा पढाउनु पर्ने तय गरेको छ भने प्राविधिक विषयतर्फ दुई विषय थपेर प्राविधिक शिक्षालाई बढी प्राथमिकता दिएको छ।

‘पढाइ सकिना साथ विद्यालय तहबाटै रोजगार र स्वरोजगार दुबै बनाउने उदेश्यले नयाँ पाठ्यक्रम तय गरिएको देखिन्छ,’ प्रअ महर्जनले नागरिकसँग भने ‘विद्यार्थीको प्राविधिक शिक्षातर्फ आकर्षण बढाउने र बढी पास गराउने पाठ्यक्रमको लक्ष्य देखिन्छ।’ उनी थप्छन्, ‘प्राविधिकतर्फ सिभिलमा विगतमा जीओ टेक्नोलोजी र रोड कन्सट्रक्सन मात्र पढाइन्थ्यो। हाल इन्जिनियरिङ्ग सर्वे र एप्लाइड मेकानिकल विषय थपेर चार विषय बनाइएको छ।’

विद्यालय तहमै कक्षा ९–१२ मा प्राविधिक विषय पठनपाठन गराउँदा सिधै पुल्चोक इन्जिनियरिङ्ग अध्ययन संस्थानको स्नातकमा प्रवेश गर्न बाटो खुल्ने व्यवस्था समेत पाठ्यक्रमले गरिदिएको उनको भनाइ छ।

प्रकाशित: १ मंसिर २०७८ १०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App