coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

विद्यालय तहमा महिला शिक्षकको संख्या बढ्दै

केही वर्ष यता विद्यालय तहमा महिला शिक्षकको संख्यामा सुधार हुँदै गइरहेको छ। सरकारले नै सार्वजनिक गरेको एक तथ्यांकअनुसार विगतको तुलनामा समग्रमा विद्यालय तहमा महिला शिक्षकको संख्या वृृद्धि हुँदै गएको देखिएको हो। 

आर्थिक सर्वेक्षण २०७७/७८ ले सर्वजनिक गरेको शैक्षिक उपलब्धिका सूचकहरूमा विगत आठ वर्षदेखि महिला शिक्षकको अवस्था विश्लेषण गर्दा आधारभूत र माध्यमिक दुवै तहमा क्रमशः बढ्दै गएको देखिन्छ। तर, पुरुषको तुलनामा भने धेरै पछि नै रहेको तथ्यांकले देखाउँछ।

२०७० सालमा आधारभूत तहमा महिला शिक्षक ३८.८ प्रतिशत थिए भने ०७१ सालमा यो संख्यामा वृद्धि भएर ४०.७ प्रतिशत पुगेको थियो। यसैगरी २०७२ सालमा ४१.२ प्रतिशत रहेको महिला शिक्षको संख्या २०७३ साल पुग्दा थप वृद्धि भएर ४३.१ प्रतिशत पुग्यो।

सरकारले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला शिक्षक आरक्षणको व्यवस्था गरेकाले पनि विद्यालय तहमा महिला शिक्षकको संख्या वृद्धि भएको शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख दिनेश श्रेष्ठले बताए। 

२०७४ सालमा महिला शिक्षक ४३.१ प्रतिशत थिए भने २०७५ सालमा ४३.७ प्रतिशत पुगेको देखिन्छ। २०७६ सालमा ४६.६ र २०७७ मा ४६.७ प्रतिशत महिला शिक्षक छन्। यसैगरी माध्यमिक तहमा २०७० सालमा महिला शिक्षकको संख्या १४.१ प्रतिशत थियो भने त्यसपछिका वर्षहरूमा महिला शिक्षकको संख्यामा क्रमिक रूपले वृद्धि हुँदै गएको छ। 

२०७१ सालमा १४.८ प्रतिशत रहेको महिला शिक्षक २०७७ मा आइपुग्दा २०.७ प्रतिशत पुगेको देखिन्छ। शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार विगतको भन्दा महिला शिक्षकहरू सबै तहमा केही बढेका छन्। उनले महिलाले बालबालिकालाई मातृत्वको भावनासाथ हेरचाह गर्ने भएकैले विदेशमा समेत साना कक्षामा महिला शिक्षक नै व्यवस्थापन गर्ने गरिएको जनाए।

‘महिला आरक्षणका कारण विद्यालय तहमा महिला शिक्षक अनिवार्य व्यवस्था भएकोले महिला शिक्षकहरूको संख्यामा वृद्धि हुदै गएको छ,’ उनले भने, ‘उच्च शिक्षामा समेत हाल महिला सहभागिता ५२ प्रतिशत पुगेको छ। यसबाट महिलालाई आत्मनिर्भर बन्न शिक्षित हुनुपर्ने चेतना जागेको बुझिन्छ।’ शिक्षा ऐनमा महिला शिक्षकसम्बन्धी गरिएको आरक्षणको व्यवस्थाले महिला शिक्षक बढाएको र अब उनीहरूलाई विषयगत शिक्षकका रूपमा तयार पर्नुपर्ने अवस्था देखिएको शिक्षाविद् कोइरालाको भनाइ छ।

आयोगका प्रशासकीय प्रमुख श्रेष्ठका अनुसार शिक्षा नियमावलीले प्राथमिक तहमा तीन शिक्षक दरबन्दी भएकोमा एक महिला अनिवार्य, सात शिक्षक दरबन्दी भएकोमा दुई महिला अनिवार्य र सातभन्दा बढी भएको दरबन्दीमा तीन महिला शिक्षक अनिवार्य राख्नैपर्ने व्यवस्थाले पनि महिला शिक्षकको संख्यामा क्रमशः वृद्धि हुँदै गएको हो। ‘सुरुका दिनमा महिला शिक्षक विद्यालयमा थिएनन्,’ उनले भने, ‘कोटाले प्रोत्साहित भएर केही बढे। तर सन्तुष्ट हुने ठाउँ भने छैन।’  

नेपाल शिक्षक महासंघकी पहिलो महिला अध्यक्ष कमला तुलाधरले विद्यालय तहमा महिला शिक्षकको सहभागिता बढ्दै जानुले शिक्षा क्षेत्रमा पनि महिलाहरू सक्षम रहेको देखाएको प्रस्ट पारेको बताइन्। ‘अब विद्यालय शिक्षामा महिला सहभागिता बढ्दै गएको छ। तर अझै पनि पुरुषको तुलनामा न्यून नै छ,’ उनले भनिन्, ‘सरकारले महिला शिक्षकहरूको सहभागिता बढाउन समयसमयमै शिक्षक सेवा आयोग खुलाउनुपर्छ।’

प्रकाशित: १३ कार्तिक २०७८ ०२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App