६ वैशाख २०८१ बिहीबार
शिक्षा

शुल्कमा द्विविधा भएपछि केयु मेडिकलतर्फ भर्ना स्थगन

चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षामा शुल्क वृद्धि गरी द्विविधा उत्पन्न गरेको भन्दै काठमाडौं विश्वविद्यालयले विद्यार्थी भर्नासम्बन्धी सबै कार्यक्रम स्थगन गरेको छ। 

विश्वविद्यालयका म्यानेजर दीपक दाहालले आइतबार सूचना प्रकाशित गरी आयोगले विदेशी विद्यार्थीको हकमा एमबिबिएसमा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच नै शुल्कमा एकरूपता कायम नगरी द्विविधा उत्पन्न गराएको भन्दै सबै भर्ना स्थगन गरेको जानकारी दिए। 

साथै नर्सिङमा समेत शुल्क वृद्धि गरी अन्योलको वातावरण कायम गरेको हाललाई कुनै पनि विषयमा भर्ना लिन सक्ने अवस्था नरहेको सूचनामा उल्लेख छ।

केयुले स्नातक तहको एमबिबिएस, बिडिएस, बिपिटी, बिएस्सी नर्सिङ, बिएन, बिएमआइडी, बिएस्सी एमआइटी र बिएस्सी ल्याब एमइडीको भर्ना स्थगन गरेको दाहालले जानकारी दिए। 

आयोगले असोज १५ गते सबै विश्वविद्यालयका नाममा सूचना जारी गरी शैक्षिक सत्र २०७७/७८ का लागि गत वर्ष कायम भई कार्यान्वयनमा रहेका कार्यक्रमहरूको शुल्क यथावत् राखी विदेशी विद्यार्थीका हकमा समेत विश्वविद्यालय र प्रतिष्ठानहरूले लिई आएको नेपाली विद्यार्थीको शुल्कमा १.६ गुणाले हुन आउने शुल्क लिनू भनी निर्देशन दिएको थियो।

आयोगले तोकेको शुल्कअनुसार शैक्षिक सत्र २०७७/७८ का लागि एमबिबिएसमा ४० लाख, २३ हजार २ सय ५० हो। यसमा १.६ ले गुणा गर्दा विदेशी विद्यार्थीको हकमा ६४ लाख ३ हजार ७ सय २० हुन आउँछ। तर, त्रिविको चिकित्सा शासत्र अध्ययन संस्थान (आइओएम) डिन कार्यालयले विदेशी विद्यार्थीका हकमा ९० हजार १६ अमेरिकी डलर तोकेर एक तिहाइ रकमबराबर ३० हजार ५ हिमालयन बैंकमा दाखिल गर्न सूचना जारी गर्‍यो। 

साथै बिपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानले समेत विदेशी विद्यार्थीको शुल्क ७४ हजार ५ सय ५५ अमेरिकी डलर तोकेर भर्नाको समयमा २५ हजार ४ सय ४० अमेरिकी डलर शुल्क तिर्न सूचना जारी गरेपछि शुल्क विवाद सुरु भएको हो।

‘केयुले आयोगले तोकेको शुल्क ६४ लाख ७ सय २० रुपैयाँमै विदेशी विद्यार्थी एमबिबिएसमा भर्ना लिने कार्य सुरु गरेको थियो,’ म्यानेजर दाहालले नागरिकसँग भने, ‘तर आइओएमले उही विषयमा एक करोडभन्दा माथि र बिपीले ८७ लाख बढी शुल्क असुली गर्दा आयोग मूकदर्शक बनेको छ।’ उनले थपे, ‘नेपालभित्रै एउटै विषयमा आयोगले तोकेको शुल्कभन्दा विभिन्न विश्वविद्यालय र प्रतिष्ठानहरूबीच शुल्कमा एकरूपता नभएका कारण हामीले भर्ना स्थगन गरेका हौं।’ 

साथै आयोगले बिएसस्सी नर्सिङमा २०७८ वैशख २९ गते तोकेको शुल्क ७ लाख ५० हजार पछि जानकारी नै नदिई १० लाख बनाई अन्योल बढाएको म्यानेजर दाहालले जनाए। ‘आयोगले कसैलाई थाहै नदिई २०७८ असार २ गते अर्को सूचना जारी गरी १० लाखमा वृद्धि गरेको हामीलाई कुनै पत्राचार नै छैन,’ दाहालले भने, ‘अब आयोगले शुल्कमा एकरूपता कायम गरेपछि मात्र केयुले भर्ना खोल्नेछ।’

आयोगका सदस्य सचिव डिल्ली लुइँटेलले केही त्रुटिका कारण शुल्कमा अन्योल हुन गएको बताए। उनले आयोगले सबै विश्वविद्यालय र प्रतिष्ठानमा एकरूपता कायम गर्न शुल्क तोकेको समेत दाबी गरे। 

‘त्रिवि आइओएमले त्रुटिवश सार्कबाहिरको शुल्क ९० हजार अमेरिकी डलर लेखेर सूचना प्रकाशित गरेको हामीले सोमबार शिक्षा मन्त्रालयमा छलफल गर्दा थाहा पायौं,’ सदस्य सचिव लुइँटेलले नागरिकसँग भने, ‘नर्सिङका हकमा पनि बढेको शुल्कबारे सबैलाई पत्राचार गरेका छौं। केयुलाई छुटाएको होइन,’ उनले थपे, ‘केयुलाई त्रुटिवश आयोगले छुटाएको भए पुनः पत्रचार गरिन्छ। हल छात्रावृत्तिको भर्ना हो। सशुल्क भर्ना त बाँकी नै छ।’

प्रकाशित: १९ आश्विन २०७८ ००:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App