६ वैशाख २०८१ बिहीबार
शिक्षा

भक्तपुरमा विद्यालय खुल्ने मिति अझै अनिश्चित

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको अध्यक्षतामा कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्ने विषयमा सोमबार अभिभावक तथा विद्यार्थीहरूका प्रतिनिधिबीच छलफल गरेकी छिन्। 

छलफलमा उपप्रमुख जोशीले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ मा विद्यालय खोल्ने र बन्द गर्ने निर्णय स्थानीय सरकारलाई दिएको जानकारी दिँदै संक्रमणको जोखिम अध्ययन गर्दै नगरका विद्यालयहरू सञ्चालन गर्न शिक्षा एवम् स्वास्थ्यविद्हरुसँग छलफल कार्यक्रमहरुलाई अगाडि बढाइने बताइन्। नगरभित्र कोभिड संक्रमितको संख्या क्रमशः कम हुँदै गएको तथ्यांक रहेको बताउँदै विभिन्न सरोकारवालाहरूसँगको छलफलपश्चात सुरक्षित र व्यवस्थित ढंगले विद्यालय सञ्चालन गर्दै लगिने उनले बताइन्।

उपप्रमुख जोशीले विद्यालय सञ्चालन गर्नुपूर्व जनप्रतिनिधिसहितको अनुगमन टोलीलाई क्रियाशील बनाइने, सम्पूर्ण विज्ञ, अभिभावक संघ, विद्यार्थी संघबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै सुरक्षित ढंगले स्वास्थ्य मापदण्ड अपनाई विद्यालय सञ्चालन गरिने र १८ वर्षमुनिका विद्यार्थीहरुलाई खोप उपलब्ध गराउन नगरपालिकाले आवश्यक पहल गरिने जानकारी गराइन्।

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुरमा कोभिड संक्रमणको जोखिम घट्दै गइरहेको अवस्थामा नगरपालिकाले सुरक्षित ढंगले विद्यालय सञ्चालन गर्ने तयारीलाई तीव्रता दिइरहेको बताए। अभिभावक संघ भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिले लामो समयसम्म शैक्षिक संस्थाहरू बन्द रहँदा विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा कमी आएको र अभिभावकलाई आर्थिक भार परेको बताउँदै विद्यालय सञ्चालनमा ढिलाइ गर्न नहुने र विद्यार्थीलाई खोप सुनिश्चितताको लागि नगरपालिकाले पहल गर्नुपर्ने बताए।  

छलफलमा अभिभावकका प्रतिनिधिहरूले स्वीकृति विना भौतिक रुपमा कक्षा सञ्चालन गरेका विद्यालयको अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने, स–साना कक्षाहरूमा अनलाइन कक्षा प्रभावकारी नभएको हुँदा भौतिक रुपमै विद्यालय सञ्चालन गर्नुपर्नेलगायतका धारणा राखे। छलफलमा विद्यार्थीका प्रतिनिधिहरूले अनलाइन र भौतिक दुवै विधिलाई प्राथमिकतामा राख्दै विद्यालय सञ्चालन गर्नुपर्ने, कलेजमै गएर प्रयोगात्मक कक्षा लिन पाउने व्यवस्था गर्नुपर्ने, विद्यार्थीहरूलाई मनोपरामर्श सेवामा जोड दिनुपर्ने, १८ वर्षमुनिका विद्यार्थीहरूको लागि खोपको सुनिश्चितताको लागि पहल गर्नुपर्नेलगायतका विचारहरू व्यक्त गरे। 

कार्यक्रममा नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले विद्यालय सञ्चालनबारे नगरपालिकाले गरिरहेको तयारीबारे प्रस्तुतीकरण गरेका थिए।

प्रकाशित: ४ आश्विन २०७८ १४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App