८ वैशाख २०८१ शनिबार
शिक्षा

अन्तर्राष्ट्रिय निबन्ध लेखनमा संकल्प पहिलो

इलाममा आइतबार पत्रकार सम्मेलन आयोजना गरी अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिताका विजेता घोषणा गरिँदै। तस्बिर: भीम/नागरिक

काठमाडौं नयाँ बानेश्वरका संकल्प कोइरालाले अन्तर्राष्ट्रिय निबन्ध लेखन प्रतियोगताको प्रथम पुरस्कार जितेका छन्। ‘वैदेशिक शिक्षामा नेपाली युवाको पलायन: समस्या र समाधान’ विषयक प्रतियोगितामा कोइरालाले देश/विदेशका ४९ प्रतियोगीलाई उछिनेर पहिलो पुरस्कार हात पारेका हुन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) इलाम जिल्ला कमिटीले आइतबार सदरमुकाममा पत्रकार सम्मेलन गरी विजेताको नाम घोषणा गरेको छ। प्रतियोगितामा नेपाल र भारतका ४६ प्रतियोगीले इमेलमार्फत् र ३ जनाले कागजमै निबन्ध पठाएका थिए। १ हजार ५ सय देखि २ हजार ५ सय शब्दसम्मको निबन्ध लेखनमा ३ सय पूर्णाङ्क राखिएको थियो। कोइरालाले ७९.३३ प्रतिशत अंक ल्याएको अनेरास्ववियु इलामका संयोजक मिलन खत्रीले जनाए।  

प्रतियोगितामा खोटाङ राजपानीका केशव भण्डारी ७९ प्रतिशत अंक ल्याइ दोस्रो भए भने इलाम साङरुम्बाकी मनिषा अधिकारी ७८.६६ प्रतिशत अंकसाथ तेस्रो भइन्। पहिलो पुरस्कार राशि ३५ हजार ८ सय, दोस्रो २२ हजार ८ सय र तेस्रो पुरस्कार राशि ११ हजार ९ सय नगद छ। विजेतालाई बैंकमार्फत् पुरस्कार प्रदान गरिने र विजेतासहित सबै सहभागीलाई प्रमाणपत्र दिइने संयोजक खत्रीले बताए। पुरस्कारका लागि इलामस्थित प्रज्ञासदन स्कुल र काठमाडौंको एम्बिसन कलेजले सहयोग गरेका छन्।  

‘सहित रत्नकुमार बान्तवाको स्मृति दिवस अवसर पारेर गत चैत २७ मा प्रतियोगिताका लागि सूचना आह्वान गरिएको थियो,’ संयोजक खत्रीले भने, ‘सुरुमा १ महिनाको म्याद राखिएकामा कोभिड महामारीका कारण १ महिना थपेर निबन्ध पठाउन सूचना गरिएको थियो।’ भारतीय नागरिक र अन्य देशमा बसोबास गर्ने नेपालीसमेतले प्रतियोगीमा सहभागिता जनाएका थिए। डा.देवी क्षेत्री दुलाल, दीपक लुंगेली र मौसमी गुरागाईंले निर्णायकको भूमिका निर्वाह गरेका थिए।  

अनेरास्ववियु केन्द्रीय सदस्य प्रवेश पराजुलीले शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थी पलायनको समस्या समाधानमा निबन्धले उल्लेखनीय योगदान गर्ने बताए। ‘प्रतियोगितामा जति निबन्ध आएका छन्, सबैमा यो समस्याको स्थिति र समाधानका महŒवपूर्ण उपाय सुझाइएको छ,’ उनले भने, ‘यी निबन्धका माध्यमबाट वैदेशिक शिक्षा र युवाको पलायनबारे नीति निर्माणमै सहयोग पुग्ने आशा लिएका छौं।’ छनौटमा परेका निबन्ध पुस्तक आकारमा पनि प्रकाशन गरिने अनेरास्ववियुले जनाएको छ।  

पढाइका लागि युवा विदेश जाने तर पढाइ सकेर दक्ष भएपछि उतै पलाउन हुने समस्याले बौद्धिक जनशक्ति रित्तिँदैजाने अवस्था आएको जिल्ला संयोजक खत्री बताउँछन्। ‘पढाइका लागि विदेश गएका युवा किन पुनः स्वदेश फर्किन चाहँदैनन् ? यो निकै गम्भीर समस्या बनेको छ,’ उनले भने, ‘यो विषयलाई अन्तर्राष्ट्रियस्तरमा बहसको विषय बनाउन निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो।’

सहिद रत्नकुमार बान्तवाको ७०औं जन्मजयन्ती तथा ४३औं स्मृति दिवस अवसरमा अनेरास्ववियुले प्रतियोगिता आयोजना गरेको थियो। इलामको चमैतामा जन्मेका कम्युनिस्ट योद्धा रत्नकुमार दुवै हातले उत्तिकै लेख्नसक्ने क्षमता भएका प्रतिभाशाली व्यक्ति मानिन्थे। संगठन विस्तारक्रममा इलामकै इभाङ पुगेका बान्तवालाई तत्कालीन सत्ताले २०३५ साल चैत २७ मा गोली हानी हत्या गरेको थियो।

प्रकाशित: ३ आश्विन २०७८ १२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App