coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

अत्याधुनिक भवन बने अब गुणस्तरीय शिक्षाको अपेक्षा

सार्वजनिक विद्यालयको भौतिक अवस्थामा सुधार भएसँगै शिक्षाको गुणस्तर पनि वृद्धि हुने अपेक्षा गरिएको छ। ०७२ सालको भूकम्पले भत्केका विद्यालय भवनको पुनर्निर्माण भएसँगै सरकारी विद्यालयको भौतिक अवस्था सुधार हुने अवस्था छ। सुविधासम्पन्न भवनमा पढाइको गुणस्तर पनि सुध्रिने अपेक्षा सरोकारवालाले गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बुधबार ललितपुरको लगनखेलस्थित नमुना मच्छिन्द्र माविको नवनिर्मित भवन अवलोकन गर्दै अब गुणस्तरीय शिक्षामा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए। विगतमा सरकारी विद्यालयमा भौतिक पूर्वाधार र सेवासुविधाको कमीका कारण विद्यार्थी सुक्दै गएको तर्क गर्दै देउवाले थपे, ‘भूकम्पपछि हाम्रा सार्वजनिक विद्यालयका भवनहरू पनि अत्याधुनिक बन्दैछन्। विद्यालयको भौतिक सुधारपछि गुणस्तरीय शिक्षामा सबैको ध्यान जान्छ भन्नेमा म विश्वस्त छु।’

विद्यालयका प्रधानअध्यापक राधाकृष्ण महतले जिल्लाका सुविधासम्पन्न निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न अब आफूहरूलाई केहिले नछेक्ने आशय व्यक्त गरे। उनले भने, ‘ललितपुर जिल्लामा रहेको ठूला कहलिएका जेम्स, रातोबंगला, युलेन्स, प्रिमियरलगायतका स्कुलसँग प्रतिस्पर्धा गर्नेगरी आधुनिक भवन पाइयो। अब गुणस्तरीय शिक्षा दिएर विद्यार्थी र अभिभावकको विश्वास जित्न सकिन्छ।’

उनले सार्वजनिक शिक्षामा ३० वर्षअघिको अवस्था फर्केको बताए। ‘देशमा ३० वर्षअघिको अवस्था फर्किएको छ। सार्वजनिक विद्यालयले पनि निजीसरहको सोवासुविधा दिन थाले,’ प्रअ महतले नागरिकसँग भने, ‘नयाँ भवन बनेपछि सरकारी विद्यालयमा पनि विद्यार्थी बढ्दैछन्। अझै राम्रो बनाउन अभिभावकसँग परामर्श गर्न आवश्यक छ।’ नमुना मच्छिन्द्र स्कुलका लागि जापान सरकारले तीनवटा भवन बनाइदिएको छ। 

तीनवटै भवनमा गरी ३३ वटा कोठा छन्। अझै चार सय विद्यार्थीका लागि कोठा अपुग भएको प्रअ महतले बताए। यस विद्यालयमा बालशिक्षादेखि १२ कक्षासम्म गरी एक हजार ९ विद्यार्थी अध्ययनरत छन्। तीमध्ये ३७ विद्यार्थी दृष्टिविहीन छन्। २० जना दृष्टिविहीन विद्यार्थी आवासीय रूपमा अध्ययनरत छन्।

जापान सरकारले भूकम्पबाट क्षति भएकामध्ये २ सय ७४ वटा विद्यालय भवन निर्माणको सम्झौता गरेको थियो। हालसम्म २ सय १९ वटाको निर्माण सम्पन्न भइसकेको छ। तिनैमध्येको एक हो नमुना मछिन्द्र मावि।

भूकम्पछि सरकार र दातृ निकायको सहकार्यमा देशभरि सात हजार पाँच सय ५३ विद्यालय भवन पुनर्निर्माण भइरहेका छन्। यीमध्ये कतिपय निर्माण सम्पन्न भई विद्यालयलाई हस्तान्तरण गरिसकिएको छ भने केही निर्माणको अन्तिम चरणमा छन्। 

सार्वजनिक विद्यालयको सेवासुविधासहितको आकर्षक भवन तथा कक्षाकोठा, शिक्षक सेवा आयोगबाट नियुक्त तालिम प्राप्त शिक्षक, नयाँ पाठ्यक्रमअनुसार नयाँ रंगीन पुस्तक, नयाँ पोसाक, विद्यालयमै खाजाको व्यवस्थाजस्ता सुविधाले सरकारी विद्यालयको पठनपाठनको गुणस्तर सुधार्न वातावरण तयार हुँदैछ। सँगसँगै यस्ता विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण पनि बढ्दो क्रममा छ।

२०७२ सालको भूकम्पपछि क्षतिग्रस्त ९ हजार ७२ विद्यालय भवनमध्ये सरकारको पुनर्निर्माण कार्यक्रममा ७ हजार ५ सय ५३ विद्यालय परेका थिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हालसम्म ६ हजार ६ सय ४४ वटा भवन निर्माण भइसकेको बताए। अब बाँकी रहेको १२ प्रतिशत भवन पुनर्निर्माणको काम शिक्षा मन्त्रालयले सम्पन्न गर्ने जानकारी दिए।

प्रकाशित: ३१ भाद्र २०७८ ०१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App