८ वैशाख २०८१ शनिबार
शिक्षा

भौतिक उपस्थितिमै विद्यालय खोल्ने तयारी

काठमाडौं जिल्ला प्रमुख कार्यालयले कोभिडको अवस्था मूल्यांकन गर्दै नगर शिक्षा समीतिको निर्णयबाट  आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेसँगै काठमाडौं जिल्लाका विद्यालय, विद्यार्थी, अभिभावक तथा शिक्षा विभाग विद्यालय खोलाउने तयारीमा जुटेका छन्। 

काठमाडौं महानगर शिक्षा विभागले विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय पालिकाहरूसँग छलफल गरी सूचना संकलन गरिरहेको महानगर शिक्षा प्रमुख रामप्रसाद सुवेदीले जनाए। उनले भदौ २८ गतेभित्र सबै पालिकाले सूचना संकलन गरी कोभिडको अवस्था विश्लेषण गरिने काम अघि बढेको बताए। उनका अनुसार अवस्थाको विश्लेषण गरी कुन मोडेलबाट विद्यालय सञ्चालन गरिने भन्ने तय गरिनेछ।

‘मापदण्ड पूरा गर्ने विद्यालयको हकमा असोज १ देखि कक्षा ९–१२ सम्मलाई विद्यार्थीको भौतिक उपस्थितमै खोल्न दिने महानगरको तयारी छ,’ शिक्षा विभाग प्रमुख सुवेदीले नागरिकसँग भने, ‘सोहीअनुसार विद्यालयहरूलाई तयार गराइरहेका छौं।’ उनले थपे, ‘साना कक्षा अर्थात् कक्षा १–८ सम्मका नानीबाबुहरू छुकछुके स्वभावका भएका कारण स्वास्थ्य सुरक्षाको मापदण्ड लागु गर्नमा चुनौती देखिन्छ। 

त्यही भएर कोभिडको अवस्थाको विश्लेषण गरी पूर्ण रूपमा सबै बालाबलिकाको भौतिक उपस्थितमै विद्यालय दसैंपछि मात्र खोल्ने तयारी विभागले गरिरहेको छ।’ सुरुमा माथिल्लो कक्षाका विद्यार्थी भौतिक उपपस्थितमै विद्यालयमा पठनपाठन हुन थालेपछि अन्य कक्षाका लागि पनि पूर्वतयारी विद्यालयहरूले गर्नेछन्। ‘भदौ २९/३० गते शिक्षा समीतिको बैठक बस्छ,’ शिक्षा विभाग प्रमुख सुवेदीले भने, ‘सूचनामा धेरै अभिभावक आफ्ना बालबालिकालाई विद्यालय पठाउने नै पक्षमा हुनुहुन्छ। त्यही भएर यो बैठकले विद्यालय खोल्ने निर्णय गर्छ।’

गत साता बसेको बैठकले कोभिडका कारण लामो समयदेखि विद्यालयको शैक्षिक गतिविधि रोकिँदा बालबालिकाको सिकाइ स्तर खस्केको र उनीहरूको मनोविज्ञानमा नकारात्मक असर परेको समीक्षा गर्दै बालबालिकाको भौतिक उपस्थितमै विद्यालय खोल्नुपर्ने अनिवार्यता देखिएको बैठकले ठहर गरेको काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका थिए। 

उनले काठमाडौंका दुर्गम क्षेत्रका विद्यालयहरूमा इन्टरनेटको पहुँच नभएका कारण गत वर्षदेखि नै विद्यालयमा शैक्षिक गतिविधि अघि बढ्न नसकेको बताए। जसका कारण विद्यार्थीमा सिकाइ कमजोर बन्दै गएको विश्लेषणसमेत गरिएकाले त्यस्ता क्षेत्रका विद्यालयहरूलाई प्राथमिकताका साथ खोल्न दिने निर्णय गरिएको पराजुलीले जनाएका थिए।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको  तथ्याङ्कअनुसार देशभरि सञ्चालित कुल ३५ हजार विद्यालयमध्ये ३ हजारवटामा २५ भन्दा कम विद्यार्थी छन् भने १५ हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी अध्ययनरत छन्। त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले कम विद्यार्थी भएको विद्यालयहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक दूरी कायम गरी आलोपालो विद्यालय खोल्न सक्ने अवस्था रहे पनि धेरै विद्यार्थी भएको विद्यालयहरूमा चुनौती नै रहेको बताए।

सरकारले कक्षा ११ र १२ का विद्यार्थीलाई खोपको व्यवस्था गरिसकेकाले यो समूहका विद्यार्थीको कक्षा सहजै सञ्चालन गर्न सकिने तर तीभन्दा साना नानीहरूले खोप पनि नलगाएको र उनीहरूको ख्याल राख्न पनि नसकिने भएकाले एकैपटक सबै कक्षाहरू सञ्चालन गर्न असहज हुने उनको ठहर छ।

‘मेरो विद्यालयमा कक्षा १ देखि १२ सम्म करिब ४ हजार विद्यार्थी अध्ययनरत छन्। एकैपटक कक्षा सञ्चालन गर्न सकिँदैन,’ प्रधानाध्यापक कँडेलले नागरिकसँग भने, ‘असोज १ गतेदेखि ठूलो कक्षालाई पढाउन सकिन्छ।’ उनले थपे, ‘साना नानीहरूले मास्कसमेत साट्ने गरेका छन्। छुकछुके अवस्थाका साना कक्षालाई सम्हाल्नै चुनौती छ। त्यही भएर दसैंपछि मात्र साना कक्षा सञ्चालन गर्न सकिने अवस्था बन्छ।’

प्रकाशित: २६ भाद्र २०७८ ०१:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App