coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

बैतडीका स्थानीय तह विद्यालय खोल्दै

कोरोनाको जोखिम कम भएपछि बैतडीका स्थानीय तहहरुले पठनपाठन सुरु गर्न थालेका छन्। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयपछि स्थानीय तहहरू पठनपाठन सुचारु गर्ने तयारीमा जुटेका छन्। स्वास्थ्य मापदण्डको पालना गरेर पालिकाहरूले विद्यालय खोल्ने निर्णय गर्न थालेका हुन्।

जिल्लाका १० स्थानीय तहमध्ये ५ स्थानीय तहमा विद्यालय खुलेका छन्। अन्य स्थानीय तहले पनि विद्यालय सञ्चालनको तयारीमा जुटेका छन्। सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिकामा विद्यालय खुलेका हुन्। शिवनाथ गाउँपालिकाले भदौको दोस्रो साताबाट विद्यालय सञ्चालनमा ल्याएको अध्यक्ष कर्णसिंह साउदले बताए।

यस्तै, सिगास गाउँपालिकाले कोरोना नभएको टोलका विद्यालयमा पठनपाठन सुरु गरेको छ। गाउँपालिकाका शिक्षा अधिकृत रमेशप्रसाद भट्टका अनुसार पालिकाका सबै विद्यालयका प्रअहरुको बैठकपछि संक्रमण नभएको ठाउँमा सुरक्षाका मापदण्ड अपनाएर पठनपाठन सुचारु गर्ने निर्णय गरिएको छ।

पालिकाहरूले पनि पठनपाठन कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल सुरु गरेका छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पालिकाले निर्णय गरेर वैकल्पिक माध्यमबाट पढाउन सक्ने परिपत्र गरेपछि पालिकाहरू विद्यालय खोल्न हौसिएका हुन्। पाटन नगरपालिकाले आइतबारबाट विद्यालयमा पठनपाठन सुरु गरेको छ। कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई एक समय र ९ देखि १२ सम्मकालाई अर्को समयमा बोलाएर पठनपाठन गराउने निर्णय पालिकाले गरेको छ। यसैअनुरूप पालिकाका विद्यालयहरू सञ्चालनमा आएका पाटन नगरपालिका–९ को ज्ञानेश्वर माविका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए।

विद्यालयलाई वैकल्पिक माध्यमबाट सुचारु गर्ने जिम्मा पालिकालाई दिइएको छ। उनीहरूले कोरोना नभएको अवस्थामा भौतिक दूरी र स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न सक्ने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए। अहिले जिल्लामा कोरोनाको संक्रमण कम भएकाले स्थानीय तहले जोखिमको आंकलन गरेर विद्यालय खोल्न सक्ने निर्णय जिल्ला प्रशासन कार्यालयले गरेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए। उक्त निर्णय २ हप्ता अगाडि नै गरेको उनले बताए।

लामो समयसम्म विद्यालय बन्द भएपछि विद्यार्थीको बिग्रने भन्दै अन्य पालिकाहरुले पनि विद्यालय सञ्चालनको लागि छलफलमा जुटेको बताएका छन्। डिलासैनी, सुर्नया गाउँपालिका र पुर्चाैडी नगरपालिकाले भदौ २७ गतेदेखि विद्यालय  सञ्चालनमा आउने बताएका छन्।

प्रकाशित: २४ भाद्र २०७८ ०९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App