coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

१५–६० वर्षका साक्षरता ८० प्रतिशत पुग्यो: महानिर्देशक अर्याल

काठमाडौं साक्षर महानगर घाेषणा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले नेपालको साक्षरता दर ८० प्रतिशत पुगेको जनाएका छन्।  

सोमबार केन्द्रको सहकार्य र युनेस्कोको आर्थिक सहयोगमा शिखरापुर सामुदायिक सिकाई केन्द्र र दक्षिणकाली नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको अन्तर्राष्ट्रिय साक्षरता दिवास कार्यक्रममा सम्बोधन गर्दै महानिर्देशक अर्यालले नेपालमा हाल १५–६० वर्ष उमेर समूहका साक्षरता ८० प्रतिशत पुगेको जनाएका हुन्।  

सरकारले भदौं २३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७८, को आदर्श नारा मानव केन्द्रित पुनर्लाभाका लागि साक्षरताः प्रविधि प्रयोगको असमानतामा न्यूनतम तय गरेको छ। यही नारामा आधारित भएर यो वर्षको साक्षरता कार्यक्रम प्रविधिमैत्री हुने केन्द्रले जनाएको छ।  

महानिर्देशक अर्यालले विगतमा लेख पढ र अलिअलि हिसाब गर्न आएपछि साक्षर भएको मानिने गरेकोमा हालको अवस्था फरक रहेको बाउँदै अबको साक्षरता कार्यक्रम तय गर्दा प्रविधिसँग जोडेर तय गर्नु आवश्यक रहेको औल्याए। उनले १५–६० वर्ष उमेर समूहमा किशोर किशोरी उमेरकाहरुको सिकाई उपलब्धि राम्रो रहे पनि वृद्धहरुमा सिकेको विषयबस्तु छिट्टै बिर्सने बानीले निरन्तर सिकाइ कायम गर्न चुनौति थपिएको जनाए।  

‘१५–६० वर्ष उमेर समूहका साक्षरता दर हाल नेपालमा ८० प्रतिशत पुगेको छ,’ महानिर्देशक अर्यालले भने, ‘तर वृद्धहरुमा सिकेका कुरा बिर्सने बानीले अबको सिकाई वहाँहरुको ब्यवहारसँग जोडेर निरन्तर सिकाईको आवश्यक देखिएको छ।’ उनले थपे, ‘जति साक्षर भयो प्रोढहरु उतिनै निराक्षर हुनेा खाता पनि बढीरहेकोनै छ।’ उनी थप्छन्, ‘सन् २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गर्न सबै उमेर समूहलाई न्यूतम साक्षर बनाउने सरकारको लक्ष्य छ।’

केन्द्रका अनुसार हाल ५४ जिल्ला साक्षर भइसकेको छ। २३ जिल्ला साक्षर घोषणा गर्न बाँकी छ। साक्षर घोषणा गरेको जिल्लाहरुमा पनि पोष्ट साक्षरताको कार्यक्रम गर्नुपर्ने आवश्यक रहेको उनले बताए। ‘२३ जिल्लाका पनि ५२ स्थानीय तह साक्षर घोषणा भएको छ। भने २ सय १८ स्थानीय तहमा थप कार्यक्रम लागु गर्नुपर्ने आवश्यक छ,’ महानिर्देशक अर्यालले भने, ‘सबैसँग हातेमालो गरी स्थानीय तहले सकेसम्म साक्षर घोषणा गरी अघि बढ्यो भने साक्षर नेपाल घोषणा गर्न टाढा छैन।’

केन्द्रको अनुसन्धान अनुसार ६० वर्षभन्दा माथिका समूहमा पढेर के हुन्छ भन्ने गलत धारणाका कारण पनि साक्षरता कार्यक्रमनै चुनौतिपूर्ण बनेको उनको ठहर छ।  

‘यी समूहलाई साक्षर बनाउनै चुनौति छ। प्रौढको सिकाईलाई मोटिभेट गर्ने र सिकेका कुरा नबिर्सने गरी ब्यवहारमा जोड्न उतिकै चुनौति छ,’ उनले भने, ‘साक्षरतामा समाबेशिता अर्को चुनौति छ।’ उनले थपे, ‘साक्षर नेपाल सुखी नेपाल बनाउन अबको साक्षरता कार्यक्रम डिजिटल र वित्तिय पक्षसँग जोडेर जानु पर्छ।’

काठमाडौं महानगर साक्षर महानगर घोषणा  

सोमबार काठमाडौं महानगरपालिकाले साक्षर माहानगर घोषणा गरेको छ। काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले डिल्ली बजारमा रहेको पद्योमय माध्यमिक विद्यालयको सभाहलमा महनगरले साक्षरताका सबै मापदण्ड पूरा गरेको भन्दै साक्षर महानगर घोषणा गरेको महानगर शिक्षा विभाग प्रमुख रामप्रादा सुवेदीले बताए।  

‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ९५ प्रतिशत साक्षर भएमा साक्षर जिल्ला घोषणा गरिने नियम छ। तर काठमाडौं महानगरपालिकाभित्रका १५–६० वर्ष उमेर समूहका ९६.६ प्रतिशत साक्षर भएको तथ्याँक छ। सोही तथ्याँक शिक्षा विभागले मेयर ज्यूलाई प्रस्तुत गरेको छ,’ प्रमुख सुवेदीले नागरिकसँग भने, ‘अब बागमती प्रदेश साक्षर भए साक्षर नेपाल घोषणा हुन्छ।’

प्रकाशित: २२ भाद्र २०७८ ०४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App