८ वैशाख २०८१ शनिबार
शिक्षा

काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुल्ने निर्णय

अनलाइन कक्षामा ४० प्रतिशतभन्दा कम उपस्थित

काठमाडौं उपत्यकामा संचालन रहेका विद्यालयहरुमा अनलाइन कक्षा प्रभावकारी नरहेको भन्दै आगामी असोज १ गतेदेखि विद्यार्थीको भौतिक उपस्थितीमै विद्यालय खुल्ने निर्णय भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय तहका शिक्षा हेर्ने प्रतिनिधि र जिल्ला विकास तथा समन्वय इकाईका प्रमुखहरुको सहभागितामा सोमबार दिउँसो बसेको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको जिल्ला प्रमुख पराजुलीले बताए।

कोभिडको अवस्था मूल्यांकन गर्दै बैठकले अभिभावकहरुको छलफलमा जिल्ला नगरशिक्षा समितिको निर्णयबाट बालबालिकाको भौतिकका उपस्थितमै विद्यालय खोल्न दिने निर्णय गरेको हो। कोभिडका कारण लामो समयदेखि विद्यालयको शैक्षिक गतिविधि रोकिँदा बालबालिकाको सिकाई स्तर खस्केको र उनीहरुको मनोविज्ञानमा नकारात्मक असर परेको समीक्षा गर्दै बालाबलिकाको भौतिक उपस्थितीमै विद्यालय खोल्नु पर्ने अनिवार्यता देखिएको बैठकले ठहर गरेको जिल्ला प्रमुख पराजुलीले जनाए।

उनले काठमाडौंका दुर्गम क्षेत्रका विद्यालयहरुमा नेटको पहुँच नभएको कारण गत वर्षदेखिनै विद्यालयमा शैक्षिक गतिविधि अघि बढ्न नसकेको जनाए। जसका कारण विद्यार्थीमा सिकाई कमजोर बन्दै गएको विष्लेषण समेत गरिएकोले त्यस्ता क्षेत्रका विद्यायहरुलाई प्राथमिकताकासाथ खोल्न दिने निर्णय गरिएको प्रमुख पराजुलीले जनाए। 

‘बैठकमा सहभागिता जनाउनु भएका सबै नगरपालिकाका शिक्षा हेर्ने अधिकारी तथा शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले अनलाइन कक्षामा ४० प्रतिशत पनि विद्यार्थीको सहभागिता नभएको बताउनुभयो। यसले अनलाइन कक्षा प्रभावकारी नभएको देखियो,’ जिल्ला प्रमुख पराजुलीले नागरिकसँग भने, ‘बैठकमा सहभागित जनाएका अभिभाकहरुले कोभिडका कारण बालबालिका घरमै थुनिनु परेकोमा उनीहरुमा मानसिक समस्या आएकोले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनपाएर बरु स्कुल भौतिक उपस्थितमै खोल्नु पर्ने राजी हुनु भएको छ।’ उनले थपे, ‘असोज १ गतेदेखि विद्यालय खोल्ने अनि दशैंपछि नियमित हुने निर्णय भयो।’ 

उनका अनुसार बालाबलिकाको भौतिक उपस्थितीमा खोल्दा विद्यालयले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु अनिवार्य पालना गर्नुपर्ने र त्यसको अनुगमन समबन्धित निकायले नियमित गर्नुपर्ने समेत निर्णय गरिएको छ।  

काठमाडौं महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले आफ्नो कार्यालयमा अभिभावकहरु दिनहुँ आएर विद्यालय खोल्नु पर्ने निवेदन समेत दिने गरेको यथार्त सुनाए। सरकारी विद्यालयमा निम्न आर्थिक अवस्था भएका अभिभावकहरुका नानीहरु पढ्ने भएकोले दुई सन्तान भएका आमाबुवाले आफ्ना नानीलाई नेट र मोवाइलको सुविधा दिन नसकेको समेत गुनासाहरु विभागमा आउने गरेको उनको भनाई छ।  

‘कोभिडका कारण बालबालिकामा मानसिक समस्या आएको र कोठामा थुनिएर बस्ने बानी परेको छ, जसका कारण बाहिर निस्कँदा डराउने र अस्वभाविक ब्यवहार गर्ने गरेको गुनासो अभिभावकको छ,’ शिक्षा विभाग प्रमुख सुवेदीले नागरिकसँग भने, ‘यति मात्र होइन अभिभावकहरुले त नानीहरु रातभरि नेटमा झुन्डिने र दिनभरि सुत्ने खराब बानीले दिक्क भएको समेत गुनासो गरेका छन्।’ उनले थपे, ‘विद्यालयको सिकाई उपलब्धिको तथ्याँक हेर्दा अनलाइन कक्षामा ४० प्रतिशत पनि नानीहरुको सहभागिता छैन। अनलाइन कक्षा प्रभावकारी छैन। त्यही भएर अब केही दिनमै शिक्षा समिति बैठक बसेर महानगरले सिडिओ कार्यालयको निर्देशन अनुसार विद्यालय खोल्ने निर्णय गर्छ।’

काठमाडौं उपत्यकामा हाल कुल सात सय ३० विद्यालय संचालनमा छन्। जसमध्ये ६ सय ४० निजी र ९० सार्वजनिक छन् भने दुई लाख ३० हजार कुल विद्यार्थीमध्ये सार्वजनिकमा ४० हजार मात्र अध्ययन गर्छन्। ‘विद्यालय खोल्दा विभागले विद्यालयहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड कडाईकासाथ पालना गराउने छ,’ उनी भन्छन्, ‘बालबालिकाको सिकाईमा निरन्तरता दिन विद्यालय खाल्नु आवश्यक परेको हो।'

प्रकाशित: २१ भाद्र २०७८ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App