८ वैशाख २०८१ शनिबार
शिक्षा

१५ गतेबाट विद्यालय खुल्ने , स्वास्थ्य सुरक्षाको जिम्मेवारी विद्यालयले नै लिनुपर्ने

गोकर्णेश्वर नगरपालिकाको एक विद्यालयका शिक्षकहरु शैक्षिक सामग्री निर्माण गर्दै ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विद्यालयहरु मंगलबारदेखि भौतिक उपस्थितिमा सञ्चालन हुने भएका छन्। बढ्दो कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयहरुलाई आगामी मंगलबार(१५ गते) बाट भौतिक रुपबाटै सञ्चालन गर्नका लागि नगरपालिकाले अनुमति दिएको छ।

नगरपालिकाका अनुसार लामो समयदेखि विद्यार्थीहरु घरमै रहँदा उनीहरुको पठनपाठनमा समस्या भएपछि सरोकारवालाहरुले भौतिक उपस्थितिमै कक्षा सञ्चालनको माग गरेका थिए। सोही माग अनुसार नगरपालिकाले मंगलबारदेखि विद्यालय सञ्चालन गर्न पाउने गरी निर्णय गरेको छ।

नगरपालिकाको शिक्षा शाखाका अधिकृत टेकेन्द्र ढकालले आइतबार नगर शिक्षा समितिको बैठक बसी १५ गतेबाट विद्यालय सञ्चालन गर्नका लागि अनुमति दिने निर्णय भएको र सूचना समेत सम्बन्धित निकायमा पठाएको जानकारी दिए। उनले गत ११ गते शिक्षाका सरोकारवाला, स्थानीय राजनीतिक दलहरुसँगको छलफलले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नुपर्ने माग भएको र सोही भेलाले गरेको सिफारिशका आधारमा विद्यालय सञ्चालन गर्न लागिएको बताए।

उनले विद्यालयलाई नै पूर्ण जिम्मेवारी बनाएर विद्यालय सञ्चालनको लागि स्वीकृति दिएको जानकारी दिँदै विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्डबारेमा नगरपालिकाले अनुगमन गर्ने बताए।

‘विद्यालय स्वयम्ले स्वास्थ्य र सुरक्षाको भरपर्दो र विश्वसनीय वातावरण अनिवार्य तय गर्नुपर्ने प्रावधानसहित विद्यालय खोल्नका लागि अनुमति दिएका छौं’, उनले भने, ‘त्यो प्रावधान अनुसार नगरे निमायनुसार हामी कारबाही गर्छौं।’

कोरोना संक्रमणको दर बढिरहे पनि अभिभावक तथा शिक्षाका सरोकारवालाहरुको दबाबका कारण नगरपालिकाले सो निर्णय गरेको नगरपालिकाको प्रशासन शाखा प्रमुख टंकनाथ घिमिरेले बताए।

शिक्षा शाखा अधिकृत ढकालले विद्यालय सञ्चालनका लागि आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने शर्त राखिएको बताए। उनले विद्यालय अल्टरनेटिभ तरिकाले सञ्चालन गर्ने, विद्यार्थीलाई अभिभावकले नै स्कुलसम्म पुर्याउने र अभिभावक नै लिन आउने, घरबाटै खाजाको व्यवस्था गर्ने, स्कुल बसहरु अनिवार्य रुपमा स्यानिटाइज गर्ने, कक्षाहरुमा भौतिक दूरी कायम गर्ने, साबुन पानीको बन्दोबस्त गरी बेलाबेला हात धुन लगाउनु पर्ने शर्तमा विद्यालय सञ्चालनको लागि स्वीकृत दिएको बताए।

सामुदायिक १६ वटा र संस्थागत ९१ वटा विद्यालय रहेको सो नगरपालिकामा हाल ४० हजार विद्यार्थी अध्ययन गरिरहेको नगरपालिकाले जनाएको छ।

यस्तो छ सूचना :

 

प्रकाशित: १३ भाद्र २०७८ ११:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App