coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

विद्यालय खाजा कार्यक्रमको बेरुजुबारे बेग्लै तर्क

गत वर्षको कोरोना संक्रमणको कारण भएको लकडाउनको अवधिमा रौतहटको विभिन्न विद्यालयमा दिवा खाजा कार्यक्रमको लागि रकम निकासा दिएर अनियमितता गरेको सम्बन्धमा सम्बन्धित निकायको फरक तर्क रहेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार रौतहटका पाँच स्थानीय तहले विद्यालय बन्द रहेको अवधिमा पनि दिवा खाजा कार्यक्रमको रकम निकासा दिएको देखिएको छ।

रौतहटको गरुडा नगरपालिकाले ७७ लाख, फतुवा विजयपुर नगरपालिकाले ९७ लाख, दुर्गा भगवती गाँओपालिकाले १ करोड २१ लाख ७१ हजार, यमुनामाई गाउँपालिकाले ७४ लाख ९९ हजार रुपैयाँ विद्यालय खाजा वापत विद्यालयलाई निकासा दिएको सार्वजनिक भएको छ। यसैगरी रौतहटकै परोहा नगरपालिकाले अभिभावकलाई नगद रकम बुझाउने गरी दिवा खाजा वापतको १ करोड १७ लाख रुपैयाँ निकासा गरेको पनि प्रतिवेदनमा रहेको छ।  

रौतहटको गरुडा नगरपालिकाको शिक्षा संयोजक मौजेलाल यादवले गरुडा नगरपालिकामा २०७६ चैत ६ भन्दा पहिलेको दिवा खाजा कार्यक्रमको रकम मात्र निकासा भएको र २०७६ चैत ७ पछि नगरपालिकाको कुनै पनि विद्यालयमा दिवा खाजा कार्यक्रम नचलेको तथा २०७६ चैत ७ पछिको दिवा खाजाको रकम नपठाइएको बताएका छन्। संयोजक यादवले २०७६ चैत ६ भन्दा पहिले नै नगरका विद्यालयमा चलेको दिवा खाजा कार्यक्रमको रकम २०७७ जेठ–असारतिर विद्यालयहरुमा निकासा पठाइएको स्पष्ट पारेका छन्।

आफूहरुले सम्बन्धित निकायलाई स्पष्ट विषयमा स्पष्ट पार्दै आएको बताउँदै पहिले नै चलेको दिवा खाजाको रकम पछि मात्र निकासा दिइएको बताएका छन्। संयोजक यादवले आ.व. २०७६/०७७मा गरुडा नगरपालिकामा विद्यालय खाजा शीर्षकको १ करोड ११ लाख जति रुपैयाँ फ्रिज भएको पनि बताएका छन्।

दुर्गा भगवती गाउँपालिकाका प्रमुख अरुण साहले महालेखा परीक्षकको कार्यालयबाट यमुनामाई गाउँपालिकाले कार्यपालिका सदस्यलाई मोटरसाइकल बाडेको भनी बेरुजु देखाएको र टिपर किनेको भनी बेरुजु देखाएको भन्दै गापाले मोटरसाइकल पनि नबाँडेको र टिपर पनि नकिनेको बताएका छन्। विद्यालय बन्द रहेको अवधिमा दिवा खाजा कार्यक्रमको विषयमा गापाको लेखापालले स्पष्ट पार्ने प्रमुख साहको भनाइ छ।

दुर्गा भगवती गापाका लेखा प्रमुख सन्देश कुशवाहाले गापाको शिक्षा शाखाले सिफारिश गरेअनुसार निकासा दिएको बताएका छन्। परोहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवले अभिभावकलाई विद्यालय दिवा खाजा वापत रकम निकासा भएको स्वीकार गरेका छन्।

विद्यालयमा सञ्चालन गरिने दिवा खाजा वापतको रकम नै अभिभावकलाई वितरण गरिएको नगदी भरपाई आफूहरुसित रहेको स्पष्ट पारेका छन्। यस विषयमा महालेखा परीक्षकको कार्यालय पनि जानकारी गराइसकिएको जानकारी गराएका छन्।

प्रकाशित: ६ भाद्र २०७८ ०७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App