coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

सूर्यविनायकका अधिकांश शिक्षकले दिए राजीनामा

एउटा विद्यालयका ४ जनासम्म

स्वेच्छिक राजीनामा दिनका लागि प्रोत्साहन कार्यक्रम ल्याएपछि भक्तपुरको सूर्यविनायक नगरपालिकाका  अधिकांस शिक्षकले राजीानामा दिएका छन्।  नगरमा रहेका कूल विद्यालयमध्ये ६१.७६ प्रतिशत विद्यालयका शिक्षकले राजीनामा दिएका हुन्।  

त्यतिमात्र हैन, अझ सो नगरपालिकामा रहेका २४ आधारभूत विद्यालयमध्ये ६६ प्रतिशत विद्यालयका शिक्षकले राजीनामा दिएका छन्। नगरपालिकाका १६ आधारभूत विद्यालय र ५ माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले राजीनामा दिएको नगरपालिकाले जनाएको छ। सो नगरपालिकामा आधारभूत र माध्यमिक तह सञ्चालन हुने विद्यालयको संख्या ३४ रहेका छन्।  

नगरपालिकाको क्षेत्रमा रहेका सिरुटार मावि, सोमलिंगेश्वर आवि, गणेश आवि, कटुञ्जे आवि, सुवर्णेश्वर आवि, शान्ति निकेतन मावि, गणेश मावि, सन्तकृष्ण आवि, शान्ति भैरब आवि, भूवनेश्वरी मावि, महाँकालेश्वर आवि, देउजागाउँ आवि, भगवती आवि, बालशिक्षा सदन आवि, दहगाउँ आवि, जोरपाटी मावि, सरस्वती मावि(काँक्राबारी), देवी आवि, आशापुरी आवि, चित्रपुर आवि र बालचेतन आविका शिक्षक रहेको नगर शिक्षा शाखाले जनाएको छ।

नगरपालिकाले ती शिक्षकहरुले स्वेच्छिक राजीनामा दिएको जनाएको छ। नगरप्रमुख बासुदेव थापाले विद्यालयमा लामो समयसम्म काम गरेका शिक्षकहरुलाई स्वेच्छिक राजीनामा दिनका लागि प्रोत्साहन कार्यक्रम ल्याएपछि राजीनामा दिने शिक्षकको संख्या बढेको जानकारी दिए। नगरपालिकाले स्वेच्छिक राजीनामाका लागि गत आर्थिक वर्ष पनि प्रोत्साहन कार्यक्रम ल्याएको थियो।

गत वर्ष सो कार्यक्रममा कोही पनि शिक्षक सहभागी भएका थिएनन्। ‘गत वर्ष यो कार्यक्रम असफल भएको थियो, यो वर्ष त्यसमा हामीले सुधार गरेका छौं, त्यसले गर्दा यो वर्ष राजीनामा दिने शिक्षक संख्या ह्वात्तै बढेको हो’ नगर प्रमुख थापाले भने।

नगरपालिकाले विद्यालयमा लामो समयसम्म काम गरेका र आफूलाई ‘अपडेट’ गर्न नसक्ने शिक्षकहरुलाई हटाएर सो ठाउँमा ‘फ्रेस’ र ‘इनरजेटिक’ शिक्षकको बन्दोबस्त गर्नका लागि नगद कार्यक्रम घोषणा गरेको थियो। जस अन्तर्गत यो वर्ष १ लाख ५० हजार रुपैयाँदेखि ३ लाख ५० हजार रुपैयाँसम्मको प्याकेज छ। सो प्याकेजमा सहभागी हुनका लागि शिक्षकहरु आकर्षित भएका छन्, गत वर्ष जम्मा १ लाख मात्र थियो, यो वर्ष पैसा बढेपछि राजीनामा दिने शिक्षक बढेका हुन्, नगरप्रमुख थापाले भने।

नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरुमा दरबन्दी मिलान तथा व्यवस्थापन कार्य सम्पन्न गर्नका लागि नगरपालिकाले सो प्याकेज ल्याएको जनाउँदै शिक्षा, युवा तथा खेलकुद शाखाकी उपनिर्देशक सरस्वती कोइरालाले स्वेच्छिक अवकास लिन चाहने शिक्षकको संख्या उल्लेख्य रहेको बताइन्।  

नगरपालिकाले १ वर्ष सेवा अवधि बाँकी भएका शिक्षकका लागि १ लाख ५० हजार रुपैयाँ, १ वर्षभन्दा बढी २ वर्षसम्म सेवा अवधि बाँकी भएका शिक्षकलाई २ लाख रुपैयाँ, २ वर्षभन्दा बढी ३ वर्षसम्मको अवधि बाँकी भएका शिक्षकलाई २ लाख ५० हजार रुपैयाँ, ३ वर्षभन्दा बढी ४ वर्षसम्म सेवा अवधि बाँकी भएका शिक्षकलाई ३ लाख रुपैयाँ र ४ वर्षभन्दा बढी सेवा अवधि बाँकी भएका शिक्षकलाई ३ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ। शिक्षा शाखाकी अधिकृत उल्झन अधिकारीले ती आधारभूत विद्यालयमा जम्मा २२४ स्थायी दरबन्दी र ११ वटा राहत दरबन्दीका शिक्षक रहेको बताइन्।  

नगरपालिकाका अनुसार एउटै विद्यालयका चारजना शिक्षकसम्मले राजीनामा दिएका छन्। नगरपालिकाको वडा नं. ५ कटुञ्जेमा रहेको कटुञ्जे आविका ४ जना शिक्षक तथा नगरपालिकाको वडा नं. ३ मा रहेको गणेश आविका ३ र सिपाडोलस्थित सन्तकृष्ण आविका ३ शिक्षकले एकैपटक राजीनामा दिएका छन्।शिक्षकहरुले राजीनामा दिएपछि शिक्षक दरबन्दी मिलानमा सहयोग पुगेको नगरपालिकाको भनाइ छ।

‘हामीकहाँ प्रावि, निमावि(आवि) तहका शिक्षक दरबन्दी बढी छन्, उनीहरुलाई व्यवस्थापन गर्न मुश्किल भइरहेको समयमा शिक्षकले स्वेच्छिक राजीनामा दिनुभएको छ, अब अलि सहज हुने देखिएको छ’ नगर शिक्षा शाखाकी अधिकृत अधिकारीले भनिन्।

प्रकाशित: ४ भाद्र २०७८ ०७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App