राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यार्थीको आन्तरिक मूल्यांकनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने बताएका छन् । आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि हाईस्कूल पढेको सर्टिफिकेट पाउने अवस्था आउने पौडेलले बताए ।
यसबाट विद्यार्थीहरुमा पनि पढेपनि पास र नपढेपनि पास भन्ने पारिपाटीले भविष्यमा मुलुकलाई ठूलो क्षति हुने उनको बुझाई छ । परीक्षा बोर्डले को कस्तो विद्यार्थी भनेर नचिनेको २ वर्ष भइसकेको उनले सुनाए ।
“यो किसिमको निर्णय पोल्टिकल लिडरशीपले गर्ने हो भने, निरक्षर मानिसले हाईस्कूल पढेको सर्टिफिकेट प्राप्त गर्छ,’ पौडेलले भने, ‘पढेपनि पास र नपढेपनि पास गर्दै उ हाईस्कूलसम्म पुग्छ ।”
त्यसैगरी उनले कक्षा १२ को परीक्षा बोर्डले गर्न चाहेर पनि सरकारको निर्देशनका कारण हुन नसकेको बताए । कोरोनाको संक्रमणको जोखिमको कारणले यस अघि कक्षा १२ को परीक्षा दुई–दुई पटक रोकिएको उहाँले बताउनुभयो । बोर्डले परीक्षाका लागि सम्पूण तयारी गरेको भएपनि एमसीसीले मन्त्रालयमार्फत् परीक्षा हालका लागि स्थगित गर्ने निर्देशन दिएपछि परीक्षा रोकिएको उनले बताए ।
प्रकाशित: २४ श्रावण २०७८ १०:४१ आइतबार