७ वैशाख २०८१ शुक्रबार
शिक्षा

पुलको डिजाइन सम्बन्धी पाठ्यक्रम विकास गरी लागू गरिने

पुलको डिजाइन सम्बन्धी पाठ्यक्रम विकास गरी लागू गरिने भएको छ। चुस्त पुलहरूको डिजाइन गर्ने विषयको पाठ्यक्रम तयार पारी स्नातक तहका इन्जिनियरिङ विद्यार्थीहरूलाई अध्यापन गराइने भएको हो। यसका लागि नेपाल इन्जिनियरिङ कलेज (नेक) र स्थानीय सडक पुल इकाईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा नेकको तर्फबाट कलेजका प्राचार्य प्रा. डा.हरिकृष्ण श्रेष्ठ र स्थानीय सडक पुल इकाइको तर्फबाट इकाईका टिम लिडर इन्जिनियर सकिल मानन्धरले हस्ताक्षर गरेका छन्।

समझदारी लागू गर्ने सिलसिलामा दुवै संस्था मिलेर नेपालका स्थानीय सडकहरूमा दिगो र टिकाउ पुल बनाउन के कस्ता प्राविधिक पक्षहरूलाई ध्यान दिने र कसरी चुस्त पुलहरूको डिजाइन गर्ने विषयको पाठ्यक्रम तयार पारी स्नातक तहका इन्जिनियरिङ विद्यार्थीहरूलाई अध्यापन गराइने भन्ने निश्कर्ष निकालिने छ। साथै विद्यार्थीहरूले सोही विषयमा प्रोजेक्ट गर्न चाहेमा तथ्याङ्क तथा फिल्डमा जाने बस्ने खर्चसमेत उपलब्ध गराउने प्रावधानहरू छन्।  

डिजाइन तथा सुपरभिजनको कमजोरीले हरेक वर्ष मनसुनमा दर्जनौं पुलहरू भत्किरहेको नेपालमा उक्त समझदारी कार्यान्वयनपश्चात पुल निर्माण प्रविधिमा उल्लेख्य सुधार हुने विश्वास नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य प्रा. डा.हरिकृष्ण श्रेष्ठ गरे। साथै यसले सक्षम इन्जिनियरहरू उत्पादन हुने अपेक्षा उनले गरे।

नेपाल इन्जिनियरिङ कलेज नेपालमा दस हजारभन्दा बढी इन्जिनियरहरू उत्पादन गरिसकेको गैरनाफामुलक संस्था हो भने स्थानीय सडक पुल इकाई नेपालमै स्थानीय सडकहरूमा वर्षेनी सयभन्दा बढी पुल निर्माण गर्दा डिजाइन र सुपरभिजनमा प्राविधिक सहयोग गर्दै आएको संस्था हो।  

समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा स्थानीय सडक पुल इकाईका इन्जिनियर चुमनबाबु श्रेष्ठ र नेक स्नातकोत्तर कार्यक्रमका निर्देशक डा.तुसिताचाँदनी शाहीको पनि उपस्थिति थियो।

प्रकाशित: १४ श्रावण २०७८ १०:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App