coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

विद्यार्थीलाई खोप लगाउन सुझाव

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का परीक्षार्थीलाई परीक्षाअगावै कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। कोरोना संक्रमणको उच्च जोखिम बीचमै भौतिक उपस्थितिमा साउन ३१ देखि भदौ ९ गतेसम्म हुन लागेको १२ को परीक्षाका विद्यार्थीलाई खोप दिलाउन बुधबार बसेको समितिको बैठकले सुझाव दिएको हो।

राष्ट्रिय परीक्षा बोर्डले केही दिनअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालय र सिसिएमसीमा परीक्षाअगावै विद्यार्थीलाई खोपको अनिवार्य व्यवस्था गराउन अनुरोध गरेको थियो। समिति सभापति जयपुरी घर्तीले बैठकमा भौतिक रूपमा सञ्चालन हुने कक्षा १२ तथा विश्वविद्यालय तहका सबै परीक्षाको सञ्चालन व्यवस्थापन र मापदण्ड पालनाबारे भएको छलफलमा विशेष गरी कक्षा १२ का विद्यार्थीको हकमा खोपको अनिवार्यबारे जोड दिएको जनाइन्।

 ‘कक्षा १२ र विश्वविद्यालयका सबै तहका परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमै हुन्छ। कक्षा १२ का विद्यार्थी विद्यालय तहकै हुन्। उनीहरू सानै उमेरका हुन्छन्,’ सभापति घर्तीले नागरिकसँग भनिन्, ‘त्यही भएर समितिले सकेसम्म कक्षा १२ को परीक्षाअगावै सबै विद्यार्थीलाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनुपर्ने सरकारलाई सुझाव हो।’ उनले थपिन्, ‘यसका साथै कक्षा १२ मा करिब पौने पाँच लाख विद्यार्थीको सहभागिता हुने भएकाले बढीभन्दा बढी परीक्षा केन्द्र बनाउन र स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न गराउन समितिले सरकारलाई निर्देशन दिएको हो।’ दुर्गमका परीक्षा केन्द्रमा हार्ड कापी प्रश्नपत्र नै पठाइने व्यवस्था बोर्डले गरेको छ। कोभिडका कारण परीक्षा दिन नसक्ने विद्यार्थीलाई प्रमाणको आधारमा पुनः परीक्षाको व्यवस्था गरिएको छ । २५ नम्बरको प्राक्टिल विद्यालयले नै लिन्छ । कोभिड लागेका विद्यार्थीले परीक्षा दिन चाहेमा छुट्टै कोठाको समेत व्यवस्था गरिएको बोर्डले जनाएको छ।

प्रकाशित: १४ श्रावण २०७८ ०४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App