७ वैशाख २०८१ शुक्रबार
शिक्षा

विद्यालयकै सिफारिसमा गैरशिक्षकलाई खोप

इलाम सदरमुकामस्थित आदर्श माविका प्रधानाध्यापक कुमार पौडेलको लिखित सिफारिसमा विन्दिका श्रेष्ठ र कल्पना श्रेष्ठले मंगलबार इलाम नगरपालिका–७ को सिटी हल खोपकेन्द्रमा खोप लगाए। प्रधानाध्यापक पौडेलकै हस्ताक्षर, छाप र विद्यालयको छापसमेत रहेको दुवैजनाको फरकफरक सिफारिसपत्रमा ‘निजी स्रोत शिक्षक’ उल्लेख छ। तर उनीहरू दुवै विद्यालयका शिक्षिका होइनन्। विद्यालयले यसअघि स्वास्थ्य कार्यालयलाई पठाएको खोप लगाउने ५२ शिक्षक÷कर्मचारीको सूचीमा पनि उनीहरूको नाम छैन।

स्वास्थ्य कार्यालयको तालिकाअनुसार मंगलबार ५५ वर्षभन्दा माथिका नागरिकले मात्रै खोप लगाउनुपर्ने हो। दिउँसो ३ बजेसम्ममात्र नाम टिपाएर खोप लगाउने गरिएकामा आदर्श माविका केही शिक्षक समय बितेपछि खोप केन्द्र प्रवेश गरेका थिए। ‘स्कुलको सिफारिस पत्र देखाएपछि हामीले खोप लगाइदियौं,’ एक स्वास्थ्य कार्यकर्ताले भने, ‘यहीँका एक जनप्रतिनिधिसमेतले उनीहरूलाई खोप लगाउन भनेपछि नलगाउने पनि कुरा भएन।’

आदर्श माविका प्रधानाध्यापक पौडेलले हतारमा ‘गल्ती’ भएको स्वीकारे। तर उनले दुवैजना विद्यालयको ‘स्वयंसेवक शिक्षक’ भएको दाबी गर्न खोजे। ‘उहाँहरू दुवैजना  

कहिलेकाहीं स्कुल आएर पढाउनुहुन्छ, तलब भने दिँदैनौं,’ पौडेलले भने, ‘तर सिफारिसको कुरामा हतारमा गल्ती भएछ।’ प्रअ पौडेलले स्वयंसेवक शिक्षकको दाबी गरेपनि दुवै महिलालाई विद्यालयले नियुक्ति दिएको छैन। न त विद्यालय व्यवस्थापन समितिले उनीहरूलाई स्वयंसेवक शिक्षक राख्ने निर्णय नै गरेको छ।

इलाम नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले गलत सिफारिस गरेर कसैले खोप लगाए लक्षित समूहलाई नै अपुग हुने बताइन्। ‘कसैले पनि गलत सिफारिस गरेमा अनुमान गरिएको खोपले नपुग्ने हुन्छ,’ उनले भनिन्, ‘निश्चित संख्या तोकेर आएको खोप तोकिएकै समूहलाई लगाइसक्नुपर्छ, अनिमात्र अरूको पालो आउँछ।’ सिटीहल खोपकेन्द्रमा मंगलबारसम्म साढे ६ सयभन्दा बढीले भेरोसिल खोप लगाएको नगरले जनाएको छ। सरकारले भेरोसेल खोप दिन पाउने सेवाग्राहीको लक्षित समूह तोकेको छ। तोकिएको मापदण्डअनुसार ५५ वर्ष र त्यसभन्दा माथिका पहिलो मात्रा लगाउन बाँकी नागरिक, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अन्य कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक एवं सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिलाई मापदण्डमा राखेको छ।

प्रकाशित: १३ श्रावण २०७८ ०२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App