७ वैशाख २०८१ शुक्रबार
शिक्षा

कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै हुने

कोभिड १९ उच्च जोखिमका कारण रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भौतिक उपस्थितमै हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले परीक्षा साउन ३१ गतेदेखि भदौं ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए।
 

 परीक्षालाई स्वास्थ्य सुरक्षाको हिसाबले सुरक्षित बनाउन बोर्डले शिक्षा मन्त्रालयसँग परीक्षामा सहभागिता जनाउने विद्यार्थीलाई उच्च प्राथमिकतामा राखी कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न अनुरोध गरेको छ।  

बिहान ११ बजेदेखि २ बजेसम्म तीन घण्टा सञ्चालन हुने परीक्षामा विद्यार्थीले सय नम्बरकै लिखित परीक्षा दिनुपर्ने छ। ‘देशभरिका तीन लाख ७५ हजार परीक्षार्थीको परीक्षा होम सेन्टरबाटै हुन्छ,’ अर्यालले भने, ‘परीक्षा केन्द्रमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णपालना गराइने व्यवस्था गरिएको छ।’

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले यसपटक प्रश्नपत्र अनलाइन र अफलाइन दुवै माध्यमबाट पठाइने बताए। अनलाइन पहुँच भएका केन्द्रमा परीक्षाकै दिन प्रश्नपत्र इमेल वा अन्य विद्युतीय माध्यमबाट पठाइने व्यवस्था गरिएको उनले जनाए।

‘परीक्षार्थीलाई सरकारले परीक्षाअगावै कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न बोर्डले शिक्षा मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयसमक्ष अनुरोध पठाएको छ,’ अध्यक्ष पौडेलले भने, ‘दुर्गमका परीक्षा केन्द्रमा छापिएका प्रश्नपत्र नै पठाउनले व्यवस्था बोर्डले गरेको छ। परीक्षा हलमा पनि एउटा बेन्चमा एकजना विद्यार्थी मात्र बस्ने व्यवस्था गरिएको छ । कोभिडका कारण परीक्षा दिन नसक्ने विद्यार्थीलाई प्रमाणको आधारमा पुनः परीक्षाको व्यवस्था गरिएको छ।’ 

देशभरि चार हजार तीन सय ३५ माध्यामिक विद्यालयहरूमा कक्षा ११ र १२ चलेका छन्। त्यही भएर यसपटक चार हजार तीन सय ३५ परीक्षा केन्द्र तोकिएको छ। ‘सतप्रतिशत नम्बरका लागि लिखित परीक्षा हुन्छ,’ अध्यक्ष पौडेलले भने, ‘२५ नम्बरको प्रयोगात्मक परीक्ष विद्यालयले नै लिन्छ।’ 

कोरोना जोखिमका कारण होम सेन्टर तोकिएपछि परीक्षालाई थप मर्यादित र व्यवस्थित गर्न जिल्ला प्रमुखहरूको संयोजकत्वमा रहेको परीक्षा समन्वय समितिलाई थप जिम्मेवार बनाइएको छ।  

‘होम सेन्दर भन्दैमा विद्यार्थी र शिक्षकले मनपरी गर्न मिल्दैन। विद्यार्थीले आफनो सिप, क्षमता र योग्यता प्रर्दशन गर्नुपर्छ भने शिक्षकले पनि पेसाप्रति इमान्दार हुनुपर्छ,’अध्यक्ष पौडेलले भने, ‘यसका लागि बोर्डले केन्द्राध्यक्षलाई अभिमुखीकरण तालिमको व्यवस्था गरेको छ। 

कोरोना महामारीबीच परीक्षा सञ्चालन, व्यवस्थापन र स्वास्थ्य सुरक्षाको मापदण्ड मास्क अनिवार्य लगाउने, स्यानिटाइज्र तथा साबुनपानीको प्रयोग शौचालय सरसफाइलगायतका पालनाबारे केन्द्राध्याक्षलाई बोर्डले अभिमुखीकरण गर्नेछ।’ परीक्षाको मार्यादा उल्लघंन गर्नेहरूलाई कानुनअनुसार ६ महिना कैद वा एक लाख जरिबाना वा दुवै हुनसक्ने व्यवस्था छ।

प्रकाशित: ७ श्रावण २०७८ ००:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App