coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

एसइई: ८० नम्बरभन्दा बढी दिँदा कारण खुलाउनुपर्ने !

एसइई मूल्यांकनको जिम्मा विद्यालयलाई

राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनमा कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ।  

बोर्डको आइतबार बसेको बैठकले यसपटकको एसइई परीक्षाको मूल्यांकनको जिम्मेवारी विद्यालयलाई दिने निर्णय गरेसँगै विगतबाट पाठ सिक्दै ८० नम्बर माथि अंक दिने शिक्षकले आफूले नम्बर किन र कुन आधारमा दिएको भन्नै प्रमाणसमेत पेश गर्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए।  

‘गत वर्ष एसइई विद्यालयले मूल्यांकन गरी बोर्डलाई पठाएको नतिजामा धेरै दुरूपयोग भएको थियो,’ प्रवक्ता अर्यालले नागरिकसँग अनुभव सुनाए, ‘हामीले गुरुहरूमाथि विश्वास गरेर मूल्यांकन गर्न दियौं। तर वहाँहरूले मर्यादा कायम गर्नुभएन,’ उनले थपे, ‘कहिले जिपिए चार नल्याउने पनि चार ल्याएका पनि उदाहरण पाइयो।’ परीक्षाको मार्यादा कायम गर्न यसपटक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा पाँच सदस्यीय मूल्यांकन समितिने गठन गरी मूल्यांकन हुने व्यवस्था गरिएको छ। जस अनुसार प्रत्येक विद्यालयमा एसइई परीक्षा मूल्यांकन समितिमा पाँच सदस्य हुनेछन्। प्रधानाध्यापक समिति संयोजक हुने व्यवस्था छ भने स्कुलको गणित, अंग्रेजी, विज्ञान, र एक वरिष्ठ शिक्षक गरी चार सदस्यहरू रहनेछन्।  

समितिले मूल्यांकन प्रक्रियाका लागि बोर्डले तोकेको कार्यविधिअनुसार समिति सदस्यहरूको सुझाव र सहमतिसहित क्रियाकलाप गर्नुपर्छ। प्रयोगात्मक विषयका लागि विद्यालयले विद्यार्थीको हाजिरी र प्रस्तुतिलाई २० प्रतिशत, ५५ प्रतिशत त्रैमासिक परीक्षाको मूल्यांकनलाई आधार मानेर नम्बर दिने कार्यविधि बोर्डले तया गरेको छ भने २५ प्रतिशत अंक प्रयोगात्मक परीक्षाको नतिजालाई आधार मानेर मूल्यांकन गरिने कार्यविधि बोर्डले तय गरेको छ।  

यसैगरी प्रयोगात्मक नभएका विषयहरूका लागि विद्यार्थीको हाजिरी र प्रस्तुतिलाई २५ प्रतिशत र त्रैमासिक परीक्षाको मूल्यांकन ७५ प्रतिशतको हुने बोर्डले निर्णय गरेको प्रवक्त अर्यालले जनाए।।‘गत वर्ष परीक्षाको मूल्यांकनको सबै जिम्मेवारी प्रअलाई दिएकोेले नतिजामा गढबढ भएको थियो,’ प्रवक्ता अर्यालले अनुभव सुनाए, ‘त्यही भएर यसपटक गणित, अंग्रेजी, विज्ञानसहित एक वरिष्ठ शिक्षक सदस्यहरू तोकिएको छ। यसले परीक्षाको नतिजा मूल्याकनलाई बढी मर्यादित बनाउने छ।’ यति मात्र नभई समितिले पास गरी निर्णयको नतिजा शिक्षा विकास तथा समन्वय एकाइले प्रमाणित गरेर मात्र बोर्डमा इन्ट्री पाउने उनले बताए। स्कुलहरूले असार २० गतेभित्र सम्पूर्ण विद्यार्थीहरूको परीक्षाको मूल्यांकन गरी नतिजाको हार्डकपी र सफ्टकपी शिक्षा विकास तथा समन्वय एकाइलाई बुझाउनुपर्ने समयसीमा तोकिएको छ।  

बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यसपटक परीक्षा त्रुटिरहित र मर्यादित बनाउनतर्फ बोर्डले कार्यविधिमा कडाइ गरेको बताए। ‘मूल्यांकन समितिमा हरेक विषय शिक्षकले मूल्यांकन गर्नुपर्छ,’ सदस्यसचिव अर्यालले नागरिकसँग भने, ‘बिनाआधार कुनै पनि विषयमा कुनै पनि शिक्षकले योपटक अंक दिन पाउने छैन।’ बोर्डले प्राप्त नतिजाको आधारमा तथ्यांक इन्ट्री गरी विद्यार्थीको नतिजा प्रकाशन र प्रमाणपत्र बाँड्ने उनले बताए।  

बोर्ड परीक्षा नियन्त्रक कृष्ण शर्माले यस पटको एसइई परीक्षा मूल्यांकन कार्यविधिले विषय शिक्षकलाई बढी जवाफदेही बनाएको जनाए। ‘प्राक्टिकल विषयको नम्बर पप्राप्त भएको छ। सबैले २५ नम्बरनै दिएका रहेछन्,’ नियन्त्रक शर्माले नागरिकसँग भने, ‘अब सैद्धान्तिकमा विद्यालयको त्रैमासिकको सम्पूर्ण नतिजाको प्रमाणीकरण गरेर मात्र अंक दिन मिल्छ। बढी दियो भने आधार पुष्टि गर्नुपर्छ।’

प्रकाशित: १ असार २०७८ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App