coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

विद्यालय तहमा नेपालभाषा पढाउन माग

विद्यालयस्तरमा स्थानीय मातृभाषा (नेपालभाषा) विषय अनिवार्य अध्यापन गराउनुपर्ने मागसहित नगर क्षेत्रका भाषाप्रेमी तथा शिक्षासेवीले मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। नेपालभाषा संरक्षण अभियानका संयोजक कृष्णकाजी मानन्धरको नेतृत्वमा पुगेको टोलीले पत्र बुझाएको हो।  

टोलीमा सदस्यहरू नवीनप्रकाश श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, सुरेन्द्रकिलंनः श्रेष्ठ, ओमकृष्ण श्रेष्ठ, जीवनपति श्रेष्ठलगायत उपस्थित थिए। विगत दुई वर्षदेखि विभिन्न निकायमा पुगेर ध्यानाकर्षण गराए पनि माग सुनुवाइ नभएपछि शिक्षा समितिका पदेन अध्यक्ष तथा नगरप्रमुख श्रेष्ठलाई लिखित ध्यानाकर्षण पत्र बुझाइएको टोलीले बताएको छ। 

सो पत्र बुझ्दै नगरप्रमुख श्रेष्ठले यसबारे आगामी असार ७ गतेदेखि सुरु हुने मध्यपुर थिमिको नगर परिषद् बैठकमा प्रस्तावको रूपमा पेस गर्ने प्रतिबद्धता जनाए। अहिलेका लागि नीति तथा कार्यक्रममा उल्लेख गरेर बजेट विनियोजन गराउने वचन पनि उनले दिए। उनले अहिलेको अवस्थामा आधार नबनिसकेको भए पनि निकट भविष्यमा आवश्यक कार्यदल बनाएर स्थानीय मातृभाषा (नेपालभाषा)लाई कार्यान्वयन गराउने जनाए। उनले पाठ्यक्रम घोषणा मात्र गरेर नपुग्ने बरु त्यसका लागि आवश्यक तयारी गरेर अगाडि बढ्ने जनाए। 

नगरभित्रका संस्थागत र सामुदायिक विद्यालयका लागि दु्ई वर्षअघि नै आधारभूत तहको स्थानीय पाठ्यक्रम बनाइएको भए पनि पूर्ण रूपमा कार्यान्वयन गराउनमा कठिन भइरहेको भन्दै उनले विद्यार्थी कम भएका विद्यालयलाई गाभ्ने, शिक्षक नियुक्तिलगायत योजनासमेत कार्यान्वयनमा समस्या भएको बताए। तैपनि शैक्षिक योजना बनाएर अनिवार्य नेपालभाषा अध्यापन गराउनका लागि पहल गर्ने उनले सुनाए।

प्रकाशित: १ असार २०७८ ०१:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App