१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

अक्सिजन प्लान्टका लागि विद्यालयले दियो साढे १६ लाख

भक्तपुरमा अक्सिजन प्लान्ट स्थापनाका लागि वागीश्वरी माध्यमिक विद्यालय/कलेजले साढे १६ लाख रुपैंया सहयोग गरेको छ।

नयाँ भेरियन्टको कोरोना संक्रमणका कारण आवश्यकता बनेको अक्सिजन प्लान्ट बनाउनका लागि सहयोगका लागि भक्तपुर नगरपालिकाबाट खुला आह्वान भएपछि विद्यालय/कलेजले नगरपालिकाको आवश्यकता पूरा गर्न सहयोग गरेको वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले बताए।

‘जनस्तरबाट सहयोग संकलन गरी अक्सिजन प्लान्ट बनाउने भन्ने जानकारी नगरपालिकाबाट आयो, हामीले पनि सक्दो सहयोग गर्नुपर्छ भनी सहयोग गरेका हौं, आजसम्म १६ लाख ५० हजार संकलन भइसकेको छ, अझ रकम बढ्ने क्रम जारी छ।’ नागरिकसँगको कुराकानीमा प्रअ धन्छाले भने।

उनले विद्यालय व्यवस्थापन समितिको बैठकबाट ६ लाख रुपैंया, कलेज व्यवस्थापन समितिबाट ४  लाख रुपैंया, दरबन्दीमा रहेका शिक्षकहरुको २ दिनको तलब, निजी स्रोतका शिक्षकहरुको १ दिनको तलब र स्वतः स्फुर्त रुपमा सहयोग गर्ने शिक्षक कर्मचारीहरुबाट ६ लाख ५० हजार संकलन भएको बताए।  

‘अहिले अक्सिजन प्लान्टको जरुरी छ, त्यसका लागि नगरपालिकाले पहल गरिरहेको छ, तर नगरपालिकालाई संघीय र प्रदेश सरकारबाट बजेट दिएको छैन, नगरपालिका आपतमा छ, पर्यटन कर उठेको छैन, आम्दानी घटेको छ, यस्तो बेलामा सहयोग गरे नगरपालिकाको अभियान सफल हुन्छ, त्यही भएर हामीले दुःख गरी बचाएको रकमबाट सहयोग गरेका हौं।’ प्रअ धन्छाले भने।

भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले अक्सिजन प्लान्टको आवश्यकता भए पनि संघीय र प्रदेश सरकारले भक्तपुर नगरपालिकालाई कुनै आर्थिक सहयोग नगरेपछि जनताको सहयोगमा बनाउन लागिएको प्लान्टका लागि भक्तपुरमा आर्थिक सहयोग जुटिरहेको बताउँदै सो क्रममा वागीश्वरी माध्यमिक विद्यालय/कलेज पनि सहयोग गरेको बताए।

प्रकाशित: १२ जेष्ठ २०७८ ०८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App