१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

इन्जिनियरिङ अध्ययन संस्थानको बेथिति

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान पुलचोक नेपालकै एक प्रतिष्ठित शैक्षिक संस्था हो । यसमा विद्यार्थीहरु अध्ययन गर्न पाउने नै आफूलाई भाग्यमानी ठान्छन् । यति मात्र होइन विदेशमा समेत यसको उत्पादित जनशक्तिले राम्रो अवसर पाउने गरेका छन् । यसकासाथै इन्जिनियरिङ अध्ययन संस्थानको बिईको प्रवेस परीक्षा पास मात्र भएकै आधारमा विदेशी विश्वविद्यालयहरुले थरीथरिका छात्रवृत्ति समेत दिने गरेका छन् । तर हाल आएर यस संस्थानमा केही स्वार्थी पदाधिकारीहरुले गर्दा संस्थाको गरिमा खस्कँदै  गएको कार्यरत प्राध्यापकहरुले खुलाएका छन् ।  

केही वर्षयता यो संस्थामा निजी कलेज संचालकहरु राजनीति आडमा पदाधिकारीमा नियुक्ति हुने र परीक्षा जस्ता संवेदनसिल निकायमा समेत निजी कलेजका लगानी कर्ताहरुलाईनै राजनिति संरक्षणमा नियुक्ति दिने विकृतिले गर्दा संस्थाको गरिमामानै आँच पुगेको छ । हाल संस्थाको गरिमा जोगाउन विद्यार्थी र प्राध्यापकहरु पदाधिकारीहरुबाट हुँदै आएको गलत कामको विरोधमा उत्रिएका छन् ।

त्यही भएर संस्थाका प्राध्यापक डा. दुर्गा प्रसाद संग्रौला आफ्नो जागिरलाई नै धरापमा राखेर संस्थाको विकृतिविरुद्ध भण्डाफोर गर्ने गरी सार्वजनिक रुपमै सूचना प्रकासित गरेका छन् । जसमा हाल इन्जिनियरिङ अध्ययन संस्थानमा खेतालाकै भरमा विद्यावारिधि डिग्री बितरण गर्ने गरेको खुलासा गरेका छन् ।  

बैशाख ५ गते उनले जारी गरेको विज्ञप्तमिा संस्था प्राज्ञिक मर्यादालाई नै आँच पुग्ने गरी विद्यावारिधि डिग्री वितरण गरी पदाधिकारीले संस्थामा विकृति फैलाएको उल्लेख गरेका छन् । उनले संस्थाका डीन कार्यालय अन्र्तगत कायम गरिएका विभिन्न १० वटा केन्द्रहरु विभाग कायम नभएकैले संस्थामा विकृति मौलाउँदै गएको समेत सचेत गराएका छन् ।

उनले हाल संस्थामा रहेको डिपार्टमेन्ट रिसर्च कमिटि (डिआरसी) लाई अवमूल्यन गर्ने गरी विभागबाट पठाइएको निर्णय (विशेष गरी सुपरवाइजर नियुक्तिमा ) र सुझावलाई डिन कार्यालयले नजरअन्दाज गर्दा विद्यावारिधि जस्ता माथिलो डिग्रीमा खेतालाकै भरमा उपाधि पाउने विकृति बढेको बताएका छन् । ‘के डिन कार्यालयले तोकेको मापदन्ड पुरा गरेकै आधारमा एउटा ब्यक्तिले विद्यावारिधि जस्तो उपाधि प्रदान गर्न मिल्छ ? के मापदन्ड पुरा गर्नुनै विद्यावारिधि उपाधि हासिल गर्ने एक मात्र आधार हो ?,’ तीस वर्षदेखि संस्थानमा शिक्षण पेसामा संलग्न डा. संग्रौलाले प्रश्न गरेका छन् ‘के उम्मेदवारको प्राज्ञिक क्षमता, दक्षता, झुकाव , आचरण र अनुसन्धान प्रतिको रुचिको पूर्व जानकारी आवश्यक पर्दैन ? ’ उनले थप भने, ‘कक्षामा उपस्थित भएर  विद्यार्थीलाई पढाउन नसक्नेले बौद्धिक खेताला प्रयोग गरी कसैका लागि डिन कार्यालयको मापदन्ड पुरा गरिदिने काम गरी विद्यावारिधि उपाधि दिनु संस्थाकै गरिमा गिराउनु हो । विकृतिले हामी प्राध्यापक र विद्यार्थीलाई चिन्तित बनाएको छ ।'

उनले संस्थाका जिम्मेवार पदाधिकारीहरुको निजी कलेजमा लगानी हुने र निजी प्रतिको मोहका कारण अध्ययन संस्थानको प्राज्ञिक मर्यादा खस्कन्दै गएको उनको ठहर छ । ‘विश्वविद्यालयले शिक्षक बढुवाको लागि विद्यावारिधिको नम्बर जोड्ने भएकोले पनि उनीहरु बौद्धिक खेताला प्रयोग गरीरहेका छन्,’ उनले नागरिकसँग भने, ‘विद्यावारिधि तहको उपाधि प्राप्तीको लागि आवश्यक पर्ने मापदन्ड स्वयं उम्मेदवारले पूरा गरेको हो वा बौद्धिक खेतालाहरु प्रयोग गरी उम्मेदवारका लागि पुर्याइदिएको भन्ने गम्भीर प्रश्न हो । अत्यन्त न्युन शैक्षिक धरातल भएका ब्यक्तिहरु पनि सजिलै यो तहको उपाधि प्राप्त गर्न सफल हुनु गलत नाजिर मात्र होइन भोलिका दिनमा त्यस्ता डिग्री हासिल गरेका कथित प्राज्ञिक बौद्धिक खेतालाले जस्तो सुकै नयुन शैक्षिक धरातल भएका उम्मेदवारलाई पिएचडी उपाधि दिलाउन सक्छन् । यसले समग्र उच्च शिक्षाको शाख गिराउने कार्य हुन्छ ।’

अध्ययन संस्थानका पदाधिकारीहरुले परीक्षाको प्रश्नपत्र छपाई, नतिजा प्रकासन र नम्बर दिँदा समेत गैर जिम्मेवार प्रबृति रोक्न  र संस्थाको गरिमा कायम गर्न अध्ययन संस्थानका विद्यार्थीहरु कलेज प्रमुख डा.इन्द्र आचार्य र डिन प्रा.सशीधरराम जोशीको कार्यालयमा र्चत्र ३१ गतेदेखि अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।  

कलेजका नेविसंघ इकाईले विभिन्न ६ बुँदे माग राखि तालाबन्दी गरेको अध्यक्ष बबिन बस्नेतले  जनाए । उनले प्राडा संग्रौलाले उठाएको मुद्धामा हालसम्म डिन कार्यालय र कलेज प्रमुखले कुनै पनि जवाफ नदिएको भन्दै यसले पनि डिन कार्यालय गलत रहेको प्रष्ट पारेृको उल्लेख गरे । नेविसंधले निजी कलेजमा संग्लन पदाधिकारीको राजीनामा, संथनमा कायम रहेका विभिन्न १० वटा केन्द्रहरु विद्यार्थीको हितमा हुनु पर्ने, परीक्षा ब्यवस्थित हुनु पर्ने, शैक्षिक क्यालेन्डर लागु हुने पर्ने लगाएत माग राखि आन्दोलनमा उत्रेको बस्नेतले बताए ।

‘संस्थानमा भएको विभिन्न अनुसन्धान केन्द्रहरुको परियोजनाहरुमा कलेजका पदाधिकारीहरु नै संग्लन भएर काम गरिरहनु भएको छ,’अध्यक्ष बस्नेतले नागरिकसँग भने, ‘अध्ययन केन्द्रहरुमा विषयगत संकायका विद्यार्थीलाई इन्टर्नसिप गर्न दिनु पर्छ । यसले विद्यार्थीले ब्यवहारिक ज्ञान हासिल गर्छन् । ’उनले थपे, ‘यसका साथै निजी कलेजका संचालकहरु नै अध्ययन संस्थानका पदाधिकारी बन्दा नीति नियम पनि निजीलाई पोस्ने गरीनै बन्छ । किन भने अघिलो पटक विईमा विद्यार्थी भर्ना गर्दा पहिला निजी कलेजकोलागि खुल्यो पछि मात्र अध्ययन संस्थानमा भयो ।’

पुर्णाकबारे शिक्षकनै वेखबर  

अन्तरिक परीक्षाको पुर्णाकबारे शिक्षकहरुनै वेखबर भएको कारण मेकानिकल विषयका चार विद्यार्थी अनावश्यक रुपमा फेल हुनु परेको अनेरास्ववीयुका इकाई अध्यक्ष सौरव प्रसाईले बताए । उनले परीक्षा जस्तो संवेदनसिल विषयमा अवकास प्राप्त शिक्षकसँग प्रश्नपत्र बनाउँदा नयाँ कोर्ष अनुसार नहुनुे र गलत प्रश्नपत्र धेरै पटक आउँदा गुनासो गर्दा समेत पदाधिकारीले नसुन्ने भएकोले तालाबन्दी गर्नु परेको जनाए । ‘शिक्षकहरुले कति पुर्णाकको पेपर भएको समेत थाह नभएकै कारण मेकानिकल विषयका चार विद्यार्थी फेल हुनु पर्यो । शिक्षकले २५ नम्बरको परीक्षालाई २० नम्बर बुझेर नम्बर दिँदा विद्यार्थी फेल भए,’ अध्यक्ष प्रसाईले नागरिकसँग गुनासो  गरे ‘ शैक्षिक क्यालेन्डर अनुसार समयमै परीक्षा सकिनु पर्यो । संग्रौला सरले उठाउनु भएको विषयबस्तुहरुको त्रिविले छानविन गरी दोषिलाई कारावही गर्नु पर्ने हाम्रो माग हो ।’

उता संस्थानका डिन सशीधरराम जोशीले नियम कानून अपनाएरै मापदन्ड पुरा भएकालाई मात्र अध्यययन संस्थानका प्राध्यापकहरुले पिएचडि उपाधि दिने गरेको जनाए । उनले चार विद्यार्थी शिक्षकको गल्तीकै कारण फेल भएको स्वीकारर्दै यस विषयमा छानविन गरी दोषि शिक्षकलाई सचेत गराइसकेको समेत जनाए । परीक्षाको प्रश्नपत्र त्रुटिको सवालले उनले पुराना र वरिष्ठ शिक्षकहरुबाट प्रश्नपत्र बनाउने परम्परा विगतदेखिनै रहेकोले सोहि अनुसार गरेको जनाए । उनले प्राडा संस्रौलाले उठाएका विषयमाथि छानविन गर्न त्रिविालाई जानकारी गराइसकेको समेत दाबी गरे ।

‘प्राडा संग्रौलाले हालसम्म कसैलाई पिएचडि गराउनु भएकै छैन। त्यही भएर उनलाई यसबारे थाह नभएको होला । हामीले मापदन्ड पुरा गरेर विधि प्रकृया अपनाएर मात्र पिएचडि उपाधि दिएका छौं’,डिन जोशीले नागरिकसँग भने ‘प्राडा संग्रौलाले उठाउनु भएका विषयबस्तुमाथि छानविन गर्न मैले त्रिविका पदाधिकारीसँग छलफल गरेको छु ।’उनले थपे ‘ शिक्षकले आन्तरिक २५  पुर्णाकको  परीक्षाको नम्बरलाई २० पुर्णाकको बुझ्दा त्रुटि भयो । उक्त शिक्षकलाई सचेत गराउने काम भयो।’ उनले थपे ‘संस्थानको ५ आंगिक कलेज र १० सम्बन्धन प्राप्त कलेज गरी कुल १५ कलेजको गतिविधि केन्द्रीय विभागबाट गर्न नसकिने भएकोले ति अध्ययन केन्द्रहरु डिन कार्यालय अन्तर्गत राखिएको हो ।’ उनले ताला खोलाउन आन्दोलनरत विद्यार्थीसँग छलफल गरि अघि बढ्ने दाबी गरे ।

प्रकाशित: २४ वैशाख २०७८ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App