७ वैशाख २०८१ शुक्रबार
शिक्षा

पाठ्यपुस्तक छपाई र ढुवानीमा अन्योल

अनलाइन कक्षाको लागि पुस्तक अनिवार्य: विद्यालय संचालक

यस वर्षको नयाँ शैक्षिक सत्र असार १ गतेदेखि संचालन हुने सरकारले तय गरेको छ । तर हालसम्म पाठ्यपुस्तक छपाई र वितरणको कार्य भने अन्योल बनेको छ । सरकारले कक्षा १–१० सम्मका विद्यार्थीको हातमा निःशुल्क पुस्तक पुर्याउनु पर्ने शिक्षा ऐनमै ब्यवस्था छ । जनक शिक्षा सामग्री केन्द्रले पुस्तक छपाई कार्य भइरहेको र बैशाख १६ गतेदेखि विक्रिवितरणको कार्य सुरु गर्ने तय गरेको भए पनि सोहि दिनदेखि हुने भनिएको निषेधाज्ञाका कारण ढुवानी, विक्रीवितरण तथा छपाई कार्यनै अन्योल बनेको प्रवक्ता चित्र आचार्यले जनाए ।  

यस पटक सरकारले कक्षा १–४को २९ लाख ६९ हजार ३ सय ४० विद्यार्थीको लागि एक करोड २२ लाख ५९ हजार ९ सय २६ थान पाठ्यपुस्तक छपाईको जिम्मेवारी १८ निजी प्रकाशन गृहलाई दिएको छ भने कक्षा ५ देखि १० सम्मको छपाईको जिम्मेवारी जनक शिक्षा सामाग्री केन्द्रलाई दिएको छ । जनक शिक्षा सामग्री केन्द्रले कक्षा ५–१० सम्मको विद्यार्थीको लागि एक करोड ८४ लाख थान किताब छाप्ने जिम्मेवारी पाएको छ ।

किताब समयमै विद्यार्थीको हातमा पुर्याउने लक्ष्यसहित जनकले पुस्तक छपाई कार्य अघि बढाएको दाबी गर्दै प्रवक्ता चित्र आचार्यले हालसम्म जनकशिक्षाले एक करोड ७० लाख थान किताब छापिसकेको जनाए । उनले अब पुस्तक ब्यान्डिङलगाएतका काम मात्र बाँकी रहेको जनाउँदै निषेध आज्ञामा सरकारले सहज वातावरण बनाइदिए बैशाख १६ गतेदेखिनै विक्रीवितरण कार्य सुरु गर्ने जनाए ।

‘कक्षा ६ मा नयाँ पाठ्यक्रम भएकोले पुस्तक छपाई कार्य अलि ढिला भयो,’प्रवक्ता आचार्यले नागरिकसँग भने, ‘असार एक गतेदेखि अनलाइन कक्षा सुरु हुन पुर्व विद्यार्थी र शिक्षकको हातमा किताब अनिवार्य पुग्नु पर्छ । नत्र अनलाइन कक्षा संभाव हुदैन ।’ उनले थपे, ‘सुगमदेखि दुर्गम जिल्लासम्म किताब पुर्याउन समय लाग्छ । त्यही भएर निषेधाज्ञामा समेत सरकारले पुस्तक छपाई तथा विक्रीवितरणलाई अतिआवश्यक सेवामा राखेर सहज वातावरण बनाइदिनुपर्छ ।’

यति मात्र होइन निजी प्रकासन गृह तर्फका दीपक भण्डारीले हालसम्म निजी प्रकाशन गृहहरुले ८० लाख थन मात्र किताब छापिसकेको जनाए । उनले निषेध आज्ञाले छपाईमा समस्या आएको जनाउँदै स्थिति समान्य भए जेठको तेस्रो सातासम्म पुस्तक छपाई र ढुवानी कार्य सम्पन्न गर्ने दाबी गरे । ‘निजी प्रकाशन गृहहरुले समयमै पुस्तक छपाई कार्य सम्पन्न गर्ने तयारी छ,’ भण्डारीले भने,‘अब सरकारले विक्रीवितरण र ढुवानीको कार्य सहज बताउन पर्यो,’ उनले थपे, ‘जिल्ल्ला प्रशासन कार्यालयहरुले सहजीकरण भूमिका खेल्नु पर्छ ।’

कोरोना संक्रमणको दोस्रो लहरको उच्च जोखिमका कारण सरकारले बिहीबारदेखि काठमाडौंमा एक साताको लागि निषेध आदेश जारी गर्दै छ । कोरोना कहरकै कारण  देशभरिका विद्यालयहरु बन्द भइसकेका छन् । सरकारले नयाँ शैक्षिका सत्र अनलाइन कक्षाबाट सुरु गर्न निर्देशन दिएको अवस्थामा पुस्तक विना अनलाइन कक्षा संचालमै कठिनाई हुने डिल्लीबजारमा रहेको पद्यमकन्या माविकी प्रअ गिरता तिवारीले स्पष्ट पारिन् ।  

‘गत वर्ष विद्यालयहरुले चैत्रभित्रै किताब पाइसकेका थिए । बैशाखदेखिनै नयाँ शैक्षिक सत्र सुरु भयो,’ प्रअ तिवारीले नागरिकसँग अनुभव सुनाइन्, ‘विद्यार्थीको हातमा किताब थियो । शिक्षकले अनलाइन कक्षा संचालन गर्दा घरमा विद्यार्थीले किताब पल्टाएर अध्ययन गरे ।’ उनले थपिन्, ‘यस पटक शैक्षिक सत्रनै असार देखि सुरु हुदैछ। त्यसको लागि जेठसम्ममा विद्यार्थीको हातमा अनिवायर्य किताब पुग्नु पर्छ ।’

त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविका प्रअ हेरम्बराज कँडेलका अनुसार विगतको अनुभव अनुसार एक साता निषेध आज्ञा लम्बिने संभावना बढी छ । यसले गर्दा यसको प्रत्यक्ष असर विद्यार्थी र विद्यालयमा अवश्य पर्छ । ‘अब कक्षाहरु बैकल्पिक माध्यम बाट अर्थात अनलाइन सुरु हुन्छ,’ प्रअ कडेलले भने, ‘विद्यार्थीको हातमा किताब छैन भने शिक्षकले पढाएको उनीहरुले बुझ्दैनन्।’ उनले थपे, ‘सरकारले किताबलाई अत्यावश्क सेवामा राखेर किताब, छपाई, ढुवानी र विक्रीवितरण कार्य सुचारु गर्न दिनु पर्छ ।’

प्रकाशित: १८ वैशाख २०७८ १४:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App